काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरूले महाधिवेशन सुनिश्चित नगरिएर ७७ वटै जिल्ला कार्यालयमा अनसन शुरू गर्ने चेतावनी दिएका छन् ।

सबल कांग्रेस निर्माणका लागि युवा अभियानका ४२ जना प्रतिनिधिहरूले आज कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत सभापति शेरबहादुर देउवालाई ३ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै तत्काल महाधिवेशन कार्यतालिका सार्वजनिक गर्न, समायोजनका नाममा बाँडिएका विधानविपरीतका सदस्यताको पुनः छानविन गर्न र विधिवत महाधिवेशन निश्चित गर्न माग गरेका हुन् ।

पार्टी र लोकतन्त्रलाई जीवन्तता दिने र वैधता कायम राख्ने यी मागहरु पूरा नभएको अवस्थामा पार्टीको केन्द्रीय कार्यालय र ७७ वटै जिल्ला कार्यालयहरुमा धर्ना,अनसन र आमरण अनसन लगायतका थप कार्यक्रमहरु गर्न बाध्य हुने चेतावनी पत्रमा छ ।

अभियानका सदस्य एवं नेविसंघका पूर्वउपाध्यक्ष डिल्लीराम सुवेदीले महाधिवेशनको कार्यतालिका प्रभावित भइसक्दा समेत पार्टीले सामान्य सूचना समेत जारी नगरेको, कार्यकर्तालाई गुमराहमा राखिएको र महाधिवेशन हुन नदिने प्रयत्न भएकोले दबाब दिन अभियान थालिएको बताए ।

तपाईको प्रतिक्रिया