काठमाडौं । प्रधानमन्त्रीबाट बहिर्गमन भएयता निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबार पहिलोपटक संसद बैठकमा भाषण गरेपछि संसदमा प्रतिपक्ष पनि रहेको महसुस भएको छ ।

वर्तमान सरकारले हालै सार्वजनिक गरेको साझा कार्यक्रम लक्षित थियो ओलीको भाषण । उनले साझा कार्यक्रमको केस्राकेस्रा केलाउँदै वर्तमान सरकार र प्रधानमन्त्री शेरबहादुर देउवालगायत सत्तारुढ गठवन्धनका सबै मुख्य पात्रहरूलाई पालैपालो हिर्काए ।

उनले जनयुद्धका घाइतेदेखि क्यान्टोनमेन्टको भ्रष्टाचारसम्म र एमसीसीदेखि कालापानी-लिपुलेकसम्मका कुरा उप्काए । नाम कसैको नलिए पनि उनको मुख्य निशाना देउवा, प्रचण्ड, माधव नेपाल,उपेन्द्र-बाबुराम र सर्वोच्च अदालत थिए ।

गौर हत्याकाण्डको विषय निकालेर उपेन्द्र यादव, मातातीर्थको विषय निकालेर डा. बाबुराम भट्टराई र ललिता निवासको कुरा उठाएर माधव नेपाल र बाबुराम दुवैमाथि उनले निशाना साँधे । यी विषय छानविन गर्न उनले चुनौती दिए ।

ओलीले सत्तारुढ गठबन्धनले हालै सार्वजनिक गरेको ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम’ लाई ‘सडकमा बाँडेको कागज’ भनेर उडाए । संसद अधिवेशन चलिरहेकै बेला सरकारको कार्यक्रम संसदभन्दा बाहिर सार्वजनिक गरिएकोमा उनको आपत्ति थियो ।

साझा न्यूनतम कार्यक्रममा विभिन्न अनुहार देखिए पनि नेपाली कांग्रेसको अनुहार आफूले कतै नदेखेको भन्दै ओलीले व्यंग्य गरे ।

आगोसँग नखेल्न प्रचण्डको चेतावनी

ओली सरकार ढालेपछि संसदमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूलाई ‘आगो’ को संज्ञा दिँदै आगोसँग नखेल्न चेतावनी दिएका थिए । त्यसको जवाफ ओलीले आज संसदबाटै दिए ।

‘उहाँ आगो हो थाहा छ । उहाँले विगतमा देशमा लगाएको डढेलो म सम्झिन्छु । उहाँ डढेलो लगाउनुहुन्छ,’ ओलीले भने, ‘तर, यस्तो आगो निभाउन हामीलाई आउँछ । विगतमा एक-दुई बाल्टी पानीले आगो निभाएको सम्झना होस ।’

ओलीले क्यान्टोनमेन्टको भ्रष्टाचारको कुरा निकालेर पनि प्रचण्डलाई झस्काउन खोजे । सरकारले आफ्नो साझा कार्यक्रममा भ्रष्टाचार नियन्त्रण गर्ने भनेको उल्लेख गर्दै उनले त्यसो हो भने क्यान्टोनमेन्टको भ्रष्टाचार छानविन गर्न चुनौती दिए ।

‘भ्रष्टाचारीलाई कारवाही गर्ने भन्नुभएको छ, खुशी लाग्यो,’ उनले भने, ‘छानविन गर्ने र कारवाही अगाडि बढाउने राम्रो कुरा हो । भ्रष्टाचारका थुप्रै कुरा उठिरहेका छन् । क्यान्टोनमेन्टको पनि यत्रो कुरा उठेकै छ । यसपल्ट पक्कै पनि यत्रो गठबन्धनको सरकारले यस कुराको छानविन गरेर नेपाली जनतालाई जवाफ दिनेछ ।’

माओवादी जनयुद्धमा घाइते भएकाहरुको शरीरभित्र रहेको गोली निकाल्न पनि ओलीले प्रचण्डलाई चुनौती दिएका थिए ।

‘उहाँहरूलाई खादा लगाइदिएर मात्रै सम्मान हुँदैन, उहाँहरुको शरीरभित्रको गोली निकाल्न सक्नुहुन्छ ?’ ओलीले भने, ‘सक्नुहुन्न भने थापाथलीमा रहेको एमाले कार्यालयमा पठाइदिनुस्, हामी निकाल्छौं ।’

ओलीले साझा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा एमसीसीका सन्दर्भमा साँधिएको मौनतालाई सबैभन्दा ठूलो आलोचनाको विषय बनाए । यसैगरि लिपुलेक-कालापानीलाई दस्तावेजले ‘समस्या’का रूपमा प्रस्तुत गरेको भन्दै उनले आपत्ति जनाए ।

उनले भने, ‘लिपुलेक कालापानीलाई नेपालको ‘समस्या’ भनिएको छ । समस्या समाधान गर्ने रे । समस्या हो यो ? आफ्नो देशको पवित्र भूभाग समस्या हुन्छ ? त्यसोभए छोडिदिँदा समस्या समाधान हुन्छ ? के साह्रो खुट्टा कमाएको ? डरले जिब्रो टोक्दा टोक्दा रगत आइसक्यो तपाईंहरूको ।’

ओलीले सुझाव दिए, ‘त्यो हाम्रो भू-भाग हो, फिर्ता लिनुस् । छोड्ने अधिकार कसैलाई छैन । तपाईंहरु सक्नुहुन्न भने पर्खिनुस् । हामी डेढ वर्षपछि आउछौं ।’

सबैलाई प्रहार गर्न भ्याएका ओलीले यसपाली माधव नेपाललाई सबैभन्दा पछाडि सम्झिए । माधव नपालको नाम नलिइकन उनको समूहका नेताहरू मन्त्री खान दौडधुप गरेको भन्दै कटु व्यंग्य गरे ।

‘मेरै पार्टीका केही मान्छेहरू पाउँला र खाउँला भनेर यहाँका पछाडि कुदेका छन् प्रधानमन्त्रीज्यू । तिनीहरुलाई मन्त्री दिनुस् न । किन बिलम्ब गर्नुभएको ?’ उनले भने ।

ओलीले हात जोड्दै आग्रह गरे, ‘मन्त्री बन्न नपाएर हिरिक(हिरिक गर्न थालिसके । पछाडि त लगाइसक्नुभयो । कुदेका छन् । मन्त्री खान पाउँ भनेका छन् । चाकडी गरेका छन् । मन्त्री दिनुस प्लिज । मेरो दलमा घाटा भएको म सहुँला ।’

ओलीले आफू डेढ वर्षपछि फेरि सत्तामा फर्किने उद्घोष गरे । असाधारण बहुमतका साथ मुलढोकैबाट फर्किने उनको दावी थियो ।

‘मैले पहिले नै भनेको थिएँ, म जस्केला, झ्याल वा भेन्टिलेसनबाट होइन, मूल ढोकाबाटै फर्किनेछु । नसुनेको भए फेरि सुनिराख्नुभए हुन्छ । असाधारण जनमतका साथ म मूलबाटोबाट फेरि प्रवेश गर्छु ।’

तपाईको प्रतिक्रिया