काठमाडौं । नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त भएका कुलमान घिसिङले पदबहाली गरेका छन् । बुधबार प्राधिकरणको केन्द्रिय कार्यालय रत्नपार्क पुगेर दोस्रो कार्यकालका लागि पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहणपछि बोल्दै घिसिङले १५ हजार कर्मचारीको सहयोगले नै पहिलो कार्यकालमा उल्लेख्य सफलता पाएको दोस्रो कार्यकालमा पनि सबैको साथ सहयोग लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त छन।

‘निवर्तमान प्रबन्ध निर्देशक हितेन्द्र शाक्यजीलाई पनि जल तथा ऊर्जा आयोगमा चार वर्षका लागि जिम्मेवारी दिइएको छ। यो ठाउँ शाक्यजीका लागि अनुपयुक्त थिएन। तर उहाँको प्राविधिक ज्ञान प्राधिकरणभन्दा आयोगमा बढी नै देखिने छ, घिसिङले भने।

शाक्यले छोडेर गएकै ठाउँबाट आफूले काम अघि बढाउने घिसिङले बताए। आफ्नो दोस्रो कार्यकाल निकै चुनौतीपूर्ण हुने भन्दै सरकार र सर्वसाधारणको विश्वास कै कारण जीवनकै सबैभन्दा ठूलो चुनौती लिएको प्रतिक्रिया दिएका छन्।

हिजोको टिममा रहेका साथीहरु रिटायर्ड भएका छन्। तर, तल्लो तहमा धेरै प्रतिभावान युवा साथीहरु हुनुहुन्छ। उहाँहरुसँग मिलेर राम्रो रिजल्ट दिने छौं। प्राधिकरणको शिर उचो बनाउन सबै कर्मचारीको ठूलो हात छ। यसको श्रेय तपाईंहरुलाई नै दिन्छु,घिसिङले भने। सबै मिलेर काम गर्ने उनले बताए।

स्वागत कार्यक्रममा बोल्दै प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले पहिलोपटक एमडी हुँदा स्वागत र बिदाइ आफैंले गरेको स्मरण गर्दै दोस्रो कार्यकालमा पनि स्वागत गर्न पाएको बताए।

तामाकोसी निर्माण भएपनि रसुवागढी, साञ्जेनलगायतका आयोजना छिटो सकेर प्रसारण लाइन बनाउनु पर्ने चुनौती रहेको कोइरालाले बताए।
चुहावट बढ्दै गएको अवस्थामा एक प्रतिशत चुहावट घटाउन सके पनि २० र ३० मेगावाट क्षमताको आयोजना तुरुन्तै बनाए सरह हुने उनको भनाइ छ।
पदबहाली कार्यक्रममा प्राधिकरणमा क्रियाशील ट्रेड युनियन, कर्मचारीका साथै अन्यको उपस्थितिमा घिसिङलाई स्वागत गरिएको छ।
प्राधिकरणको आधिकारिक कर्मचारी ट्रेड युनियनका अध्यक्ष रामेश्वर पौडेलले कुलमान बिदा भएको एक महिनामै स्वागत गर्ने अवसर पाउँछौं भनेकोमा अर्को एक थपेर ११ महिनापछि स्वागत गर्न पाएको प्रतिक्रिया दिए।

उहाँ अध्ययनशील मान्छे हो, अहिले प्राधिकरणले भोगिरहेका समस्या कसरी हल गर्ने भनेर पनि अध्ययन गर्नु भएको होला। प्राधिकरणको नाफा घट्नुको कारण चुहावट बढेर हो। चुहावट घटाउन विदाको दिन पनि कर्मचारी खटाउनुस् हामी जान तयार छौं शाक्यको कार्यकालमा राम्रो मान्छेलाई नभएर हाम्रो मान्छे भन्दै सरुवा गरिएको भन्दै पौडेलले अनि कसरी नतिजा आउँछ? भन्दै प्रश्न गरे।

तपाईको प्रतिक्रिया