काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले क्रियाशील सदस्यको सूची तत्काल सार्वजनिक गर्न नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

वडा अधिवेशन नजिक आइसक्दा पनि क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक नहुनु आपत्तिजनक रहेको भन्दै उनीहरुले सोमबारसम्म क्रियाशील सदस्यताको सूची सार्वजनिक नभए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

यस्तो माग गर्ने अधिकांश सभापतिहरु संस्थापन इतर समूह निकट रहेका छन् ।

जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता सम्बन्धमा भएका कामबारे जिल्ला सभापतिहरुलाई गुमराहमा राख्ने प्रयास भएको आरोप लगाएका छन् ।

त्यस्तै उनीहरुले ७७ वटै जिल्लाका सभापतिहरुको निर्वाचित हुने व्यवस्था समान हुनुपर्ने माग समेत राखेका छन् । कांग्रेसले निर्वाचन निर्देशिकामार्फत एकमात्रै निर्वाचन क्षेत्र भएका जिल्लामा क्षेत्रीय प्रतिनिधिले नै जिल्ला सभापतिमा उम्मेदवारी दिनसक्ने प्रबन्ध गर्दैछ ।

कांग्रेसले केन्द्रीय समितिको बैठकबाट क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन पारित गरिसकेको छ । त्यसमा समाधान हुन बाँकी विषयमा कृष्णप्रसाद सिटौला, डा.मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित कार्यदलले काम गरिरहेको छ ।

सो कार्यदललाई भदौ ३ सम्मको समय दिइएको भए पनि अहिलेसम्म क्रियाशील विवाद टुंगो लगाउन सकेको छैन । कांग्रेसले भदौ १८ मा देशभर वडा अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । जसअनुसार कांग्रेस महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म हुनेछ ।

तपाईको प्रतिक्रिया