भारतीय सुरक्षा बल (एसएसबी)ले तुइन फुस्काउँदा महाकाली नदीमा बेपत्ता भएका दार्चुलाको जयसिंह धामीको परिवारलाई सरकारले १० लाख राहत दिने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले धामीको परिवारलाई आर्थिक सहयोगस्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

धामी तुइनबाट खसेर बेपत्ता भएको घटनाको सत्य तथ्य पत्ता लगाउन गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले हालसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन । पटक–पटक म्याद थप हुँदासमेत समितिले प्रतिवेदन बुझाउन सकेको छैन ।

उक्त घटनाको अध्ययनका लागि गृह मन्त्रालयले सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिमा सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी सदस्य रहेका छन ।
साउन १५ गते दार्चुलाको ब्यास गाउँपालिका– २ स्थित तुइन तरेर भारत जाने क्रममा खसेर धामी बेपत्ता भएका थिए । पीडित पक्ष तथा स्थानीयवासीले एसएसबीले तुइन फस्काइदिएको बताउँदै आएका छन तर पनि दोषीमाथी कार्वाही हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया