आज जनवादी गायक जेबी टुहुरेको जीवनको आधा शताब्दी नेकपा एमालेसँग जोडिन्छ । उनी एमालेको जनसांस्कृतिक मञ्चका अगुवा कलाकार थिए । तर, बिहीबार माओवादी मुख्यालय, पेरिसडाँडामा टुहुरेलाई कम्युनिस्ट पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिइयो ।

‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर’ भन्ने चर्चित गीतका गायक ७८ बर्षीय जनवादी गायक जुठबहादुर खडगी (जेबी टुहुरे) टुहुरेको विहीबार बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो । कलंकी स्थित आफ्नै निवासमा लडेका उनमा मुटु, फोक्सो, महुमेह र उच्च रत्तचाप जस्ता दीर्घरोगहरु थिए ।

आमा दिदी बहिनी हो, बसाइँ हिँड्नेको ताँतीले, चौंरी चर्ने ठाउँ, दुःखको भोज, रातको अनिँदोलगायत टुहुरेका थुप्रै गीत जनताले रुचाएका छन । यिनै गीतहरू सुनेर धेरै मानिसहरु नेकपा एमाले बनेका छन्, कम्युनिष्ट बनेका छन । आफ्ना गीत संगीतमा जनताका समस्या, दुःख, पीडा, पिरमर्कालाई विषयवस्तु बनाउने टुहुरेका गीतमा वर्गीय प्रेम, राष्ट्रप्रेम र विद्रोह पनि उत्तिकै झल्कन्छन । सरल मिजासका टुहुरेको जीवन सरल किसिमले, दुःख र अभाव मै बित्यो । पछिल्लो समय नेकपा माओवादी भएका टुहुरे धरानको पुरानो बजारमा बिसं २००१ कात्तिक १५ गते जन्मिए हुन । कृष्णबहादुर खड्गी र दानदेवी खड्गीका जेठा छोरा हुन । मध्यम वर्गीय परिवारमा जन्मिएका उनले २०२१ सालमा बुबाको निधनपछि आफू टुहरो भएको भन्दै सांकेतिक रुपमा आफ्नो नामको पछाडि ‘टुहुरे’ लेख्न थालेका थिए ।

२०१० बाट औपचारिक सांगीतिक यात्रा सुरु गरेका उनले सुरुवाती समयमा सबैखालका गीत गाउँथे तर विसं २०२० को दशकदेखि कम्युनिस्ट विचारधारासँग नजिक रहेपछि उनले विद्रोह र जनताका गीत बनाउन थाले । जनताको पक्षमा करिब ५ दशक गीत गाएका टुहुरे आफूलाई राजनीतिज्ञ भन्दा पनि जनवादी गायक तथा कलाकारकै रुपमा चिनाउँथे । ‘चरी भरर’, ‘आमा दिदीबैनी हो’ उनका २०३३ सालतिरका गीत हुन । जुन गीत उनले पछिल्लो समय पनि कार्यक्रमहरुमा निरन्तर गाउँदै आएका थिए । एमालेलाई जनताको मनमा स्थापित गर्न टुहेरेको निकै ठूलो योगदान छ । उनले जनतामा जनवादी चेतनाको बिगुल फुक्न एक समय संकल्प गीति कार्यक्रममार्फत पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उनले यात्रा गरे र आज पनि नेपाली जनताबीच लोकप्रीय छन ।

एमालेबाट उचित सम्मान पाउन नसकेको गुनासो सहित उनी २०६६ मा नेकपा माओवादीमा आवद्ध भए । माओवादीले २०७० सालमा उनलाई संविधानसभा सदस्य बनायो । क्रान्तिकारी गीत गाउँदा पञ्चायतकालमा प्रहरीको हिरासत र यातना भोगेका उनले सत्ताको त्रास, दमन, धरपकडलाई समेत बेवास्ता गर्दै २०६२/६३ को परिवर्तनसम्म पनि जनतामा गीतमार्फत चेतना जगाउने काम निरन्तर गरिरहे ।

तपाईको प्रतिक्रिया