काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनका शीर्ष नेताहसँग आज आइतबार बिहान छलफल गरेका छन । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका हुन ।

नेताहरूबीच करिब दुई घण्टा छलफल भएको थियो । सरकार सञ्चालन र मन्त्रिपरिषद विस्तारका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

देउवाले शनिबार पनि माओवादी अध्यक्ष दाहालसँग छलफल गरेका थिए । तर, मन्त्रिपरिषद विस्तारका विषयमा सत्तारुढ दलहरूबीच कुन दलले कति मन्त्रालय लिने भन्ने सहमति जुटिसकेको छैन ।

देउवालाई विश्वासको मत दिएका माधवकुमार नेपाल र महन्थ ठाकुर नेतृत्वमा नेकपा (एस) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को दर्ता प्रक्रिया पूरा भएकाले अब केही दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने सम्भावना छ । गएको असार २९ गते प्रधानमन्त्री पदमा शपथ लिएका देउवाले एक सातामै संसदमा विश्वासको मत लिए पनि मन्त्रिपरिषदमा विश्वासको मत दिने दल र सांसदहलाई समेट्ने योजना अन्तर्गत अहिलेसम्म पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकिरहेका छैनन । जसका कारण प्रधानमन्त्री देउवाले सवत्र आलोचना खेपिरहेका छन ।

भोलि सोमबार जनता समाजवादी पार्टीका शीर्ष नेताहसहित सत्तारुढ गठबन्धनको बैठक बसेपछि मन्त्रिपरिषद विस्तारको विषय टुंगो लाग्ने एक नेताले बताए ।

तपाईको प्रतिक्रिया