काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदमा निष्पक्षता देखाउन नसकेको र पार्टीले निष्कासन गरेका १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै नेकपा एमालेले प्रतिनिधिसभाको आज शुक्रबारको बैठक पनि अवरोध गरेको छ ।

एमालेको नारावाजीकै बीच सभामुख सापकोटाले संसदको कारवाही अघि बढाएका छन् । सभामुख सापकोटाले आफू बसेको ठाउँबाट प्रस्ताव पेस गर्न भनेका थिए ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आर्थिक २०७८ लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्न लगाइए पनि उनले प्रस्ताव पेस गर्न वातावरण बनाइदिन आग्रह गरेका छन् ।

यसअघि बुधबारको बैठक एमालेले अवरोधका कारण दुई पटक स्थगित गरिएको थियो । तेस्रो बैठकामा गृहमन्त्री बालकृष्ण खाँणले अवरोधका बीच राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ पेस गरेका थिए । त्यसपछि सभामुखले शुक्रबारका लागि अर्को बैठक बोलाइएको जानकारी सभालाई गराएका थिए ।

एमालेले भदौ १ गते संसद् सचिवालयमा एमालेका १४ जना सांसदमाथि कारबाही गरेको जानकारी दिएपनि त्यसलाई अघि नबढाएर सभामुखले भेदभावपूर्ण निर्णय गरेको आरोप लगाउँदै आएको छ । सभामुख सापकोटाले प्रतिनिधिसभा नियमवलीको नियम २१ को ख, ग र घ को पालना गर्न पनि आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया