काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी सम्झौतामा राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन् । नेपालको ४ दिने औपचारिक भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको टोलीसँग आज शुक्रबार बिहान खुमलटारमा भेट गर्दै दाहालले एमसीसीमा राष्ट्रिय सहमति वा कम्तीमा सत्तारूढ दलहरूबीच एकमत हुनुपर्ने बताएका हुन् ।

खुमलटारमा भएको भेटवार्ताका बारेमा जानकारी दिँदै दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार एमसीसी टोलीले दाहाललाई एमसीसी अगाडि बढाउने र यसमा उठेका प्रश्नबारे प्रस्ट पार्ने प्रयास गरेको थियो । त्यसपछि अध्यक्षले अहिले एमसीसीबारे राष्ट्रिय रुपमा प्रश्न उठेको र विवादका बेला यसलाई एकल रूपमा अगाडि बढाउन गाह्रो रहेको भन्दै यसमा राष्ट्रिय सहमति वा कम्तीमा सत्तारूढ गठबन्धनका दलहरूबीच एकमत हुनु पर्ने बताएका थिए ।

यसअघि बिहीबार सुमारसहितको एमसीसीको उच्च नेतृत्वले प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराईलाई भेटेको थियो । त्यस्तै आज शुक्रबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालाई भेट्ने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया