काभ्रे – शान्तिरत्न शाक्य नेपाली काङ्ग्रेस बनेपाको क्रियाशिल व्यक्ति हुन् । उनी बनेपा शहरका स्थायी बासिन्दा हुन् । उनी एक सफल ब्यवसायी पनि हुन । काभ्रे जेसिसको नेतृत्व समालिसकेका शाक्य तत्कालिन बनेपा नगर वडा नम्बर ९ का वडा अध्यक्ष भएर जनप्रतिनिधिको अनुभव पनि छ । नगर सभापति भएपछि नगर पिता बन्ने सहज बाटो खुल्ने हुँदा उनि बनेपा कांग्रेसको सारथी बन्न हौसिएका हुन । उनलाई काङ्ग्रेस नेता कन्चनचन्द्र बादेको साथ छ सभापति मधु आचार्यको आशिर्वाद छ। नगर अधिवेशनको सेरोफेरोमा इपाना नेपालले शाक्यसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ । सम्पादक ।

•नगर सभापतिका उम्मेदवारहरु अरु पनि हुनुहुन्छ, र तपाई अनुभवी पनि हुनुहुन्छ । यो अवस्थामा अरु उम्मेदवारहरु भन्दा तपाईंलाई कुन कुन कुराहरुले योग्य हुनुहुन्छ जस्तो लाग्छ ?
​मेरा प्रत्यासी साथीहरु पनि सक्षम हुनुहुन्छ । उहाँहरुले पनि संगठन विस्तारको लागि आफ्नो योगदान दिनु भएको छ । तर प्रतिस्पर्धामा जित्ने एक जनाले हो । मैले आफ्नो व्यक्तिगत जीवनमा साथीहरुसंग भेटघाट गर्दा, कुरा हुदा जुन साथ र सहयोग पाएको छु त्यसले गर्दा नि म अगाडी बढ्न सक्छु भन्ने मलाई लागेको छ । मैले आफ्नो जीवनकालमा नेपाली कांग्रेसको विभिन्न पदहरुमा बसी जे जति अनुभव पाएको छु, र नजिकमा बसी कमि कमजोरीहरु नियाली समाधान गरेको छु, मलाई लाग्छ त्यस्ता कुराहरुले गर्दा अरु भन्दा म परिस्कृत भएको छु । म एउटा लक्ष्य बोकेर आएको छु । त्यो भनेको नेपाली कांग्रेसको नगरमा संगठन पुनर्निर्माण र विस्तार गर्नु हो । त्यसैले मैले आफुलाई एउटा योग्य उम्मेदवारको रुपमा अघि सरेको हुँ ।
•नगरभित्र पार्टीको प्रभुत्व बढाउनको लागि यहाँले के कस्ता योजनाहरु अघि बढाउनु भएको छ ?

हिजो जुन गर्वको साथ हामी हिंड्ने गथ्र्यौ, आजको दिनमा हामीमा हुने नैतिक धरातलमा अलि कमी आएको देखिन्छ, यसलाई हामीले परिपूर्ति गरेर सबैलाई साथ लिएर अगाडी बढ्न पर्ने देखिन्छ । यस्ता कुराहरुलाई अघि बढाउन पार्टीको सैद्धान्तिक विचारहरु देखि लिएर नगरको समग्र विकासका योजनाहरुसम्म सभ्य तथा सु-सृजित ढंगले प्रभाव बढाउने योजना राखेको छु । यसमा अग्रज तथा साथी भाइहरुको नि साथ सहयोगको अपेक्षा राखेको छु ।
•संगठन बलियो बनाउन यहाँको के कस्ता योजनाहरु छन् र कसरि कार्यन्वयन गर्ने सोच्नु भएको छ ?
​संगठन बलियो बनाउने नै मेरो प्रमुख योजना हो । पार्टीको प्रशिक्षण देखि लिएर विभिन्न कार्यक्रमहरु गर्ने मेरो लक्ष्य छ । जुन कुराहरु मैले अघि नि भनिसकें । अर्को प्रमुख कुरा भनेको, पार्टीको आधार भनेको यसको भात्री संगठनहरु हुन्, त्यसैले नगर भित्रका भातृ संगठनहरुलाई चुस्त राखी संचालन गर्ने मेरो मनशाय छ ।
• ०४६ साल देखि नेपाली कांग्रेसमा विभिन्न पधहरुमा बसी आउनु भएको छ, यतिका वर्षमा के कस्ता कमजोरीहरु पार्टीभित्र देख्नु भएको छ ?

मैले बिगतमा हामी सबै सँगै मिलेर जानुपर्छ पार्टी एकताको नामले भनेर मैले आफ्नो उम्मेदवारी फिर्ता लिएको थिए । त्यो कारणले गर्दा बनेपा नगरमा भएको नेपाली कांग्रेसको तेह्रौं अधिवेशन निर्विरोध रुपले सम्पन्न भएको थियो । आजको दिनमा म बनेपा नगरमा नेपली कांग्रेसको क्रियाकलापलाई अझै सशक्त रुपले वृद्धि गराउनका लागि मैले आफुलाई अगाडी सरेको छु । कमजोरीहरु धेरै छन्, हाम्रो पहिलाको नेपाली कांग्रेस नगर कमिटीले जनताको विश्वास जित्न सकेन र हामीले स्थानीय चुनाबमा हार व्यहोर्न पर्‍यो । पार्टी विच धेरै असमझदारीहरु छन्, एकले अर्कालाई आरोप प्रत्यारोप लगाउने चलन फस्टाएको छ जुन नेपाली कांगेसको सभ्यता होइन । जनता माझको विश्वास अभिवृद्धि गराउनका लागि मैले आफ्नो तहबाट नि प्रयास गरेको छु भने संगठनलाई अझ बलियो बनाउनको लागि मेरो उम्मेदवारी हो ।
•नगरमा संगठनलाई बलियो बनाउन तपाइको खासै केहि भूमिका छैन भन्ने आक्षेपहरु पनि सुनिन्छ, यसलाई कसरी प्रष्ट्याउनु हुन्छ ?
​मैले भर्खरै पनि भने, आक्षेपहरु धेरै आउँछन् तर यस्ता कुराहरुको प्रतिरोध गर्न मेरा पछिल्ला क्रियाकलापहरु काफी छन् जस्तो लाग्छ । पार्टीका साथीहरुले मुल्यांकन गर्नु भएकै छ ।
•कांग्रेस आफैंमा बाँझेर सकियो भन्छन, अघिल्लो स्थानीय चुनावमा तपाई नि यो कुरामा मुछिनु भएको थियो, यो कुराबारे तपाइको धारणा के छ ?
​बनेपा कांग्रेसले संगठन बलियो बनाउन नसक्नु नै चुनावमा हार व्यहोर्नुको कारण हो । अझ साथ सहयोग गर्दागर्दै पनि आरोपहरु लगाउने बानी छ । यस्ता परम्परालाई चिर्न जरुरी छ ।
•वि.पी.को विचार लगभग आम जनताबाट वा कांग्रेसकै कार्यकर्ताहरुबाटै पनि लोप हुने अवस्थामा छ, आफ्नो नगरमा विपीवादलाई जोगाइ राख्नको निम्ति तपाईबाट के कस्ता पहलहरु हुन्छन् ?

प्रश्न एकदम जायज छ । नेपाली कांग्रेस भित्रै एतिका विसंगति हुनुको कारण पनि वि.पी का विचारहरु, पार्टीका मौलिकताहरु लाई ध्यान नदिएर व्यतिगत स्वार्थ सिद्धिको राजनीति हावी हुनु हो । अहिलेका प्रमुख नेताहरूमै यी कुराको कमी देखिन्छ । त्यसो हुँदा कार्यकर्तामा विचार, सिद्धान्तको कमी आउनु स्वभाभिक नै हो । यस्ता कुराहरुको सामाधानको निम्ती पार्टीको प्रशिक्षण कार्यक्रम, नगर भित्र व्यापक रुपमा बढाउने योजना राखेको छु । हाम्रो पार्टीको आफ्नै विभागहरु छन्, विज्ञहरु हुनुहुन्छ । वहाँहरुलाई निम्त्याएर जनस्तर सम्म विभिन्न कार्यक्रमहरु मार्फत विपी वादलाई बढाउने मेरो लक्ष्य हो । मलाई लाग्छ, यो कुरा हुन साथ पार्टीमा रहेका अनेकन विसंगतिहरु पनि सँगै लोप भएर जाने छन् । अर्को महत्वपुणर् कुरा भनेको र अहिले सम्म हुन नसकेको कुरा भनेको नगरको भावनालाई केन्द्र सम्म पुर्याउन नसक्नु हो, येसलाई पनि मुर्त रुप दिन म निरन्तर लागेको छु र अझ प्रभावकारी ढंगमा अघि बढाउने छु ।
•युवावर्गहरुमा राजनीतिक बितृष्णा बढ्दै गएको छ । यसमा तपाइको धारणा के छ ?
​यो कुरामा सत्यता छ । युवावर्गहरुमा राजनीतिक बितृष्णा बढ्नु को मुख्य कारण भनेकै अभद्र राजनीति जुन यहाँ मात्र हैन नेपालभरी छाएको छ, हो । युवाहरुमा राजनीतिक चेत नआएसम्म समाज र देश विकासको कार्य सहज छैन । त्यसैले म युवावर्गमा पनि कसैको कुरामा नलागी अध्ययन र अनुसन्धान गरी राजनीतिक योजना, निणर्य र बाटोमा सहभागी हुन आव्हान गर्दछु ।
•पार्टीको अधिवेशनमा मत विभाजित हुने गरेको छ, जसले स्थानीय चुनावमा सोझै असर राख्छ, अधिवेशन पश्चात पार्टीको मतलाई कसरी एकीकृत गर्ने विचार राख्नु भएको छ ?

कसैलाई दोष लगाउने, लाञ्छना लगाउने मेरो बानी छैन । मैले नेपाली कांग्रेसको कार्यकर्ता भएर सिकेको पनि त्यहि हो । समग्र नगरको विकास गर्न, पार्टीलाई अघि बढाउन कोहि साथीहरुलाई हिच्किचाहट हुन्छ जस्तो लाग्दैन, फेरी पार्टी पछि पर्नु भनेको हामी आफै पछि पर्नु पनि हो । त्यसैले अधिवेशन पश्चात् हामी सबै एक ढिक्का भएर स्थानीय तथा अन्य तहको चुनावहरुमा जित हात पार्न लागि पर्ने छौं भन्ने कुरामा म विश्वस्त छु ।
•यदि तपाई निर्वाचित भएको खण्डमा, पुराना कमी कमजोरी हटाई पार्टीलाई चुनावमा जित दिलाउन कस्तो भूमिका निर्वाह गर्नु हुन्छ ?
​सबभन्दा पहिला त संगठन नै हो, म पहिला संगठनको पुनर्निर्माणमा लाग्छु भन्ने मेरो दृढ संकल्प छ र यसको लागि कुनै पनि काम गर्न म पछि हट्ने छैन, यस संकल्पमा मलाई साथ दिने साथीहरु नि हुनुन्छ र राम्रो कामको लागि सबै साथीहरुले साथ र सहयोग गर्नुहुन्छ भनेर म विश्वस्त छु । संगठन विस्तारको कुरा गर्दा हामीले सबैतिर सदस्यहरुलाई सक्रिय बनाउन काम र कार्यक्रम लैजाने छौ । यसरी हाम्रो कामले जनतामा सकरात्मक छवि हुन जान्छ र आउँदो चुनावमा अवश्य नै हामीलाई जनता को साथ हुनेछ ।
•जनताको भावना स्थानीय सरकारसँग पुगिरहेको छैन भन्ने गुनासो सुनिन्छ, यदि तपाई निर्वाचित हुनुभयो भने एउटा पार्टीको नगर सभापतिको हैसियतमा कस्तो योगदानको अपेक्षा गर्न सकिन्छ ?

​मैले विभिन्न ठाउँमा घुम्दा देखेको महसुस गरेको छु, मलाई यती चाहिँ विश्वास छ जुन दुर्गति हामी सबैले महसुस गरेका छौ ः घाम लाग्दा धुलोले बाटो नदेख्ने पानी पर्दा हिलोले गर्दा हिँड्ने नसक्ने र पटक पटक नगरपालिकालाई सजग गराउँदा पनि लापरबाहीले गर्दा एस्तो दुर्गति भएको हो । विकासका योजनाहरुमा हाम्रा एमालेका साथीहरुले बेवास्ता गरेको देखिन्छ यस्ता कुरालाई चिरेर हामीले राम्रो बनेपा बनाउनको लागि विकासका योजनाहरु अगाडी सार्नुपर्छ । हामीले हिजो पनि एउटा प्रतिपक्षको हैसियतले वारम्बार जनतामा परेको बाधा, अर्चन तथा समस्याहरु लिएर स्थानीय सरकार समक्ष ढोका ढक्ढकाएको थियौं, खवरदारी गरेको थियौं जुन अझै कायमै छ । त्यसैले, यस्ता कुराहरु जुन जनताको आधारभूत अधिकारहरु भित्र पर्छन, हामी अथक रुपमा निरन्तरता दिने नै छौ ।
•एतिहासिक सहर बनेपा, विकासको बाटोमा हिँड्दा हिँड्दै पनि चपेटामा परेको देखिन्छ । सहरको ऐतिहासिकता, कला, संस्कृति जोगाउँदै दिगो विकासका लागि पार्टीले के कस्ता पहलहरु अगाडी बढाउने छन् ?
​अहिलेको अवस्थामा हेर्ने हो भने सहरको ऐतिहासिकता, कला, संस्कृतिलाई बिल्कुलै नजरअन्दाज गरिएको देखिन्छ । यस्ता कुराहरुलाई जीवन्त राख्न जरुरी छ । किनकी धर्म, संस्कृति, कला नै हाम्रा पहिचान हुन् । हाम्रो पार्टीको आफ्नै भाषा, कला विभाग पनि छ । आधुनिक विकासलाई निरन्तरता दिदै, आफ्नो इतिहास र पहिचानलाई कसरी सँगै लग्न सकिन्छ भन्ने कुरामा पार्टीले जोड दिनेछ, जुन सम्भव छ । हाम्रै छिमेकी राष्ट्र, चीन यसको ज्वलन्त उदाहरण हो ।
•विभिन्न देश विदेशहरु भ्रमण गर्दै गर्दा, त्यहाँका नगरहरु हेर्दा, बनेपा सहरको आर्थिक, व्यापारिक तथा पर्यटकीय सम्भावना कत्तिको देख्नु भएको छ ?
​मैले जानेको, देखेको अनुभवहरु मेरा अप्रत्यक्ष गुरु हुन् । यसरी हेर्दा मैले हाम्रो सहरको सम्भावना अधिक देख्छु । यो एउटा व्यापारिक केन्द्र हुन सक्छ । अहिले पनि यो अरनिको राजमार्ग र वि.पी.राजमार्ग जोड्ने विन्दु भएको छ तर व्यवस्थित र दिगो विकास योजनाको कमीमा असारे विकासले गर्दा हाम्रो सहर पछि परेको छ । हामीसँग भएका ऐतिहासिकता, कला तथा संस्कृति हाम्रो पर्यटकीय श्रोतहरु हुन सक्छन, जुन कुरा अर्थ र व्यापारसँग पनि जोडिएको छ ।
•अन्त्यमा केही ?
​अन्त्यमा, जति जना उम्मेदवारहरु फिल्डमा आउनुहुन्छ, कमसेकम जोख्नुस्, भोलिको लागि कुन चाहिँ उपयुक्त छ, सोच्नुस् । मत राख्नुभन्दा अगाडि एकचोटी सोच्न व्यक्तिगत रुपमा अनुरोध गर्न चाहन्छु । यदि शान्तिरत्न शाक्य उपयुक्त छैन भने तपाईंको मत सम्मान गर्दै स्वीकार्न चाहन्छु । पुनः एकपटक अनुरोध गर्न चाहन्छु, मैले वर्षौंदेखि पार्टीको कार्यकर्ताको रुपमा कार्य गरेको, विभिन्न पदमा जिम्मेवारी निर्वाह पनि गरेको छु । त्यही पदहरुभन्दा माथि नगर सभापति भएर काम गरेर देखाउँछु भन्ने मेरो चाहना हो । त्यसैले मलाई नगर सभापतिमा जित हासिल गर्नमा तपाईंहरुले सहयोग गरिदिनुहुन अनुरोध गर्दछु । जय नेपाल ।

तपाईको प्रतिक्रिया