काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाका उपप्रमुख रमादेवी राईले महिलाहरूलाई सिप सिकेर उद्यमी बन्न सुझाव दिएकी छन् । हातमा सिप हुने मान्छे कहिल्यै भोको बस्न नपर्ने र हिंसामा पनि नपर्ने भन्दै उपप्रमुख राईले हरेक महिलाले सिप सिकेर आत्मनिर्भर हुनुपर्नेमा जोड दिइन् ।

मानव अधिकारका लागि महिला, एकल महिला समूह (डब्लूएचआर) र बुढानिलकण्ठ नगरपालिकाको संयुक्त आयोजनामा नगरपालिका भित्रका महिलाका लागि संचालन गरिएको २० दिने स्क्रिन प्रिन्ट तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख राईले भनिन्, ‘सिप सिके, उद्यमी बने दुईचार पैसा आम्दानी हुन्छ । आफ्नो आम्दानी हुनु भनेकै हिंसामुक्त जीवन बाँच्नु हो । त्यसकारण सिप सिक्न र काम गर्न अल्छी मान्नु हुन्न ।’

उपप्रमुख राइले स्क्रिन प्रिन्ट सम्बन्धी तालिम लिएका महिलाहरूलाई केही गर्छु भन्ने उर्जाका साथ कामप्रति लगनशील भई आफ्नो योग्यता क्षमता बढाउँदै क्रियाशील हुन सुझाव दिइन् । ‘तपाईंहरूले आफूले मात्रै सिप सिकेर बस्ने होइन, अरु महिलालाई पनि सिप सिकाएर आफ्नो खुट्टामा उभिन प्रेरणा दिनुहोला’ उनले भनिन्, ‘आफू पनि बनौँ, अरुलाई पनि बनाऔँ ।’

No description available.

मानव अधिकारका लागि महिला, एकल महिला समूहका अध्यक्ष कुन्दा शर्माले देशैभरका एकल महिलाहरूलाई कुनै न कुनै सिप सिकेर दत्तचित्त भई आर्य आर्जनका कामहरू गर्न आग्रह गरिन् । उनले भनिन्, ‘परनिर्भरताले नै जोखिम निम्त्याउछ । हातमा सिप र मनमा जाँगर हुने महिलालाई अरुको आस गरेर बस्नु पर्दैछ ।’

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नविन केसीले एकल महिलाहरूको हक अधिकारका लागि मात्रै आर्य आर्जन वृद्धि गरी उनीहरूलाई स्वरोजगार बनाउनका लागि डब्लूएचआरले गरिरहेको प्रयास सकारात्मक रहेको भन्दै प्रशंसा गरे ।

डब्लूएचआरका वरिष्ठ कार्यक्रम प्रवन्धक उपासना राणाले यो तालिम पाएका महिलाहरूले उत्कृष्ठ काम गर्न सके खाली बस्न नपर्ने बताइन् ।
संस्थाले विगतदेखि नै विभिन्न किसिमका कपडाहरूमा बुट्टा भर्न दिँदा चाहेको जस्तो नभएको कुरालाई मध्यनजर गर्दै बुढानिलकण्ठ नगरपालिकाको सहयोगमा आफै तालिम संचालन गरेको भन्दै राणाले तालिम दिइएका महिलाहरूले अर्डर बमोजिमका काम गर्न सक्ने आसा व्यक्त गरिन् ।

No description available.

डब्लूएचआरका केन्द्रीय सदस्य बिमला पराजुलीले एकल महिलालाई आत्मनिर्भर बनाउने अभियानमा सहयोग गरिदिन देशैभरका स्थानीय तहहरूलाई आग्रह गरिन् ।

२० दिने तालिममा नगरपालिका भित्र बसोबास गर्ने आर्थिक रुपमा विपन्न, बेरोजगार ८ जना महिलाको सहभागिता रहेको छहारी संयोजक सिवाङी राणाले जानकारी दिइन् ।

कार्यक्रममा डब्लूएचआरका बाँके अध्यक्ष जयन्ती केसीलगायत अगुवा महिलाहरूको उपस्थिती रहेको थियो ।

No description available.

No description available.

No description available.

तपाईको प्रतिक्रिया