काठमाडौं । सोमबार रातिको पहिरोमा परेर बझाङको थलारा गाउँपालिका–४ डिक्लामा २४ जना वेपत्ता भएका छन् । गाउँबाट एक किलोमिटर माथि रहेको ढोगदिना डाँडाबाट पहिरो खस्दा सात घर पहिरोमा पुरिएको र २४ जना वेपत्ता भएको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएर गगने सार्कीको एकै परिवारका १८ जना र नरे पार्कीको परिवारका ६ जना छन् । गगने सार्की रोजगारीका लागि भारतमा छन् भने उनका माइला छोरा काले सार्की सम्पर्कमा छन् । पूरा गाउँ पहिरोको जोखिममा परेपछि सय भन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेका छन् ।

पहिरोका कारण तल्लो डिक्ला र माथिल्लो डिक्ला गाउँका स्थानीय त्रिभुवन मावि महेन्द्रधारमा अस्थायी रुपमा आश्रय लिएर वसेको जनाईएको छ।

पहिरो खसिरहेका कारण उद्धार हुन सकेको छैन। आइतबार रातिबाट सुरु भएको अविरल वर्षाका कारण जिल्लाभर जनजीवन अस्तव्यस्त भएको छ । पहिरोले जयपृथ्वी नगरपालिका – १ पिमी गाउँमा मात्रै ६० परिवार विस्थापित भएको स्थानीयले बताएका छन् ।

वर्षासँगै सदरमुकाम नजिक भएर बग्ने डुङग्री खोलामा आएको बाढीले डुङग्री बजार र लेकी जोड्ने झोलुङगे पुल बगाएको छ । पुल नजिक रहेका ५ वटा पक्की घर पनि बगाएको र बजारका अरु घरहरु पनि जोखिममा परेको प्रहरीले जनाएको छ ।

वर्षा र पहिरोले सुदूरपश्चिमका धेरै पहाडी जिल्लामा सञ्चार सेवा अवरुद्ध भएको छ । बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकोले उद्वारमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बताए ।

पहिरोले जिल्ला जोड्ने जयपृथ्वी राजमार्ग लगायत जिल्लाभित्रका सबै ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । ठाउँठाउँमा पोल ढलेका कारण जिल्लाभरको विद्युत सेवा अवरुद्ध छ । सदरमुकाम चैनपुर लगायत दर्जन बढी ठाउँको खानेपानी सेवा पनि अवरुद्ध भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया