कल्पना दाहाल चालिसे

जोर दियो बालेर आमा ढोकामा बस्नुभएको थियो, सँगै थियो टिका र जमराको थाली । टाढा जानुपर्ने, सबेरै निस्क, भरे रात पर्न सक्छ भन्दै पालैपालो टिका जमरा लगाइदिनुभयो । हुन पनि घरका दुवै छोरा बुहारी र नातीनातीना निस्कन लागेका थियौँ ।

दशैको टिकाको भोलिपल्ट एकादशीका दिन आफ्नो जन्मघर (माइती) जान मनैदेखि हर्षित थियौँ । अघिल्लो साल पनि कोरोनाको त्रासले जान सकिएन, यसपालि त सबै चाँजोपाँजो मिलाएर जाने हाम्रो पूर्वतयारी नै थियो ।


काठमाडौबाट पूर्व दोलखाको यात्रामा घरका ७ जना एउटै गाडीमा निस्कियौँ । एकादशीका दिन भएकाले हाम्रो सबैको व्रत थियो । बाटोमा जादै गर्दा हामी (देउरानी जेठानी) दुवैलाई बान्ता हुन लाग्यो । गाडी रोकेर आरामसाथ बस्यौँ, आमाले बोडी भिजाएर विरौला बनाएर पठाउनु भएको थियो । दशैँको एकादशी व्रत गिद्दे एकादशी भएकाले यो खानेकुरा खान हुन्छ भनेर पठाउनुभएको थियो । हामीले खायौँ । तर उहाँहरु (दाजु–भाई) ले केही खानुभएन ।

हामीलाई अलि सन्चो भएजस्तो भयो । बच्चाबच्ची पनि सँगै भएकाले विच विचमा रोक्दै, बस्दै हिड्यौँ । कतै ठुला ढुंगा देख्दा पनि गाडी रोकेर बच्चाहरुलाई चढाई फोटो खिच्ने, आराम गर्ने फेरि हिड्ने गर्दै थियौं । दोलखाको सिमाना गेट आएपछि विछट्टै आनन्दको अनुभुती भइरहेको थियो । तर बाटो भने खासै राम्रो रहेनछ । धेरै पहिला बन्नुपर्ने बाटो अझै नबनेको देखेर मन अमिलो बनाउँदै हिड्यौँ । यो बाटो निर्माण छिटो गर्न दबाब नभएको होइन तर ठेकेदार वा अरु कोही दोषी होला त्यस पाटोतिर म जान चाहान्न ।


चरिकोट पुग्दा १२ बजेको रहेछ । दिदिको जन्मघर(माइत) चरिकोट, उहाँहरुलाई त्यहीँ छाडेर हामी जिरी प्रस्थान गर्नुपर्ने थियो । दिदिको जन्मघरमा हामी सबैले दही, रोटी खायौँ र त्यहाँबाट थप तीन जना (बहिनी ज्वाई र छोरी) लाई लिएर हामी जिरी हुइकियौं। बहिनी ज्वाई भक्तपुरबाट मोटरसाइकलमा चरिकोट सम्म आएका थिए । हामी एउटै घरका दुई छोरा एकजना चरिकोट ससुरालीमा झरेपछि, फेरि एउटै घरका दुई ज्वाई, छोरीहरु र नाती नातीना जिरीका लागि अगाडि बढ्यौं ।

बाटो धेरै राम्रो लाग्यो । हामीले चरिकोटदेखि तामाकोशीसम्म बाटो बनाउनेलाई धन्यवाद भन्दै हिड्यौं । राम्रो पिच भएकाले गाडी अलि गतिमा नै गुडिरहेको थियो । फेरि बच्चाहरुलाई भमिट हुन थालेपछि रमणीय खेतैखेत सकिनसाथ सुरु हुने जंगलमा रोकेर दश मिनेटजती आराम पनि गर्यौ । त्यतीबेला लगभग साढे एक हुन लागेको थियो । जन्मघरमा बुबालाई फोन गरेर आज दुधरोटी पकाउनु, एकादशी व्रत छ, ज्वाईले खाना खानुहुन्न भनेँ । बुबा, आमा, ९० वर्ष पुग्नै लागेकी हजुरआमा हामी आउने खबरले निकै खुसी हुनुहुन्थ्यो । कहाँ आइपुग्यौ भनेर पटक पटक फोन गर्दै हुनुहुन्थ्यो । हामी पनि दुई वर्षदेखि भेट्न नपाएका बाआमा, भाइबहिनी, हजुरआमा, मावली सबैलाई भेटन, जन्मेको माटोमा टेक्न आतुर थियौँ । अब त लगभग २ घन्टामा त हामी घरमा नै पुग्छौं भन्दै गफिदै थियौं ।

श्रीमानले गाडी अगाडि बढाउँदै हुनुहुन्थ्यो । रोकेको माथिल्लो गोलाईबाट तल्लो गोलाईमा पुग्दा उहाँले ला…ब्रेक लागेन भन्नुभयो, अगाडि हेरें माटोको ढिस्को रहेछ , त्यसभन्दा अगाडि गोलाई र विपरित साइडबाट गाडि र बाइक पनि आइरहेका थिए । गाडी ५० को स्पीडमा थियो जस्तो लाग्छ, म आफु पनि गाडी चलाउन जान्ने भएकाले ह्याण्ड ब्रेक तान्छु भन्ने सोच आयो, यत्ति सोच्दा सोच्दै गाडी ढिस्कोमा ठोक्कियो र ठुलो आवाज आयो, मेरो मुखबाट जय बज्रंगबली, रक्षा गर भन्ने आवाज निस्क्यो ।

मलाई पिङ खेलेको जस्तो कता कता महसुस भयो, गाडी पल्टियो, मेरो श्रीमानले केही हुदैन, नआत्तिउ भनेको सुनें । गाडी कोल्टे परेर १५-२० मिटरजती अगाडि स्लिप खाएर रोकियो । मेरो दिमागले केही सोचेन, विल्कुल खाली भयो, विस्तारै आवाज आयो, मामु के भइरहेको छ, हामीलाई के भयो भन्दै रोएको सुने । छोरोलाई हेरेको उसको टाउको अगाडिको सिसामा टासिएको थियो र रगत बगिरहेको थियो । उसलाई तान्छु भन्छु मेरो खुट्टा अड्किएको रहेछ । धेरै कोसिस गरें, केही लागेन। तर तत्काल झ्यालबाट कसैको आवाज आयो। बहिनी बाहिर आउनुस भन्दै मलाई तानिरहेका थिए । मेरो खुट्टा निस्कीएपछि छोरोलाई तानेर बाहिर समाउन दिए । र म निस्किएँ तर मेरो श्रीमान, बहिनी ज्वाई, बहिनीकी छोरीको स्थितिको बारेमा कसैलाई देखिन । मात्रा आफ्नो बच्चालाई मात्र देखें ।

म बाहिरा निस्किएँ र भुँईमा थचक्क बसें । दशैँको समयमा यात्रुको चाप निकै थियो । मलाई पानी खुवाए, बाबुलाई पानी खुवाएछन तर पनि आधा बेहोस नै थिएँ । मैले हिम्मत जुटाएँ, जतिवेला खुट्टा गल्न थाल्छ, टाउकोमा पानी हालेँ । विस्तारै मेरो आँखा भिडको बिचमा पर्यो । श्रीमानको टाउकोबाट रगत कुमसम्म बगेको देखेँ, दुवै हातबाट रगत बगिरहेको थियो । देब्रेतिर हेरे बहिनी बेहोस रहिछे, नानीलाई हेरेँ उ ठिक छ, ज्वाईलाई हेरेँ उहाँलाई पनि ठिक छ । हात र टाउकोबाट रगत बगेपनि उहाँले गाडीको भिडियो र फोटो खिचिरहनुभएको थियो ।

चरिकोटमा झर्नु भएको दाईलाई फोन गरेर घटनाबारे बताइसक्नु भएछ । त्यहाँ धेरै व्यक्तिहरुले हामीलाई छिटो उद्दार गर्नुभयो । एकजना दाईले गाडीबाट आफ्ना छोराछोरीलाई निकालेर मेरो श्रीमान, बहिनी र मेरो छोरोलाई तत्काल अस्पताल लगिदिनुभयो । विस्तारै म पनि नर्मल भएँ। घाउचोट कतै थिएन । मनमनै भगवान बज्रंगवलीलाई धन्यवाद दिएँ । यति ठुलो दुर्घटनाबाट हामीलाई जोगाइदिनुभयो ।


प्रहरी पनि आइपुग्यो, सबैले गाडी चालकले तत्काल निर्णय लिएका कारण मानवीय क्षती भएन, भन्दै थिए । यदि गाडी चालकले तत्काल निर्णय नलिएको भए गाडी कि त विपरित दिशाबाट आइरहेको साधनसँग ठोकिन्थ्यो, कित हामी भिरमुनी पुग्थ्यौँ ।


पछि धेरैले गियर डाउन गरेको भए हुन्थ्यो , ह्याण्ड ब्रेक तानेको भए हुन्थ्यो भन्ने तर्क पनि गरेको देखियो तर गियर डाउन गर्ने सोच्दा सोच्दै गाडी डिलबाट खस्ने, या अरुसँग ठोकिने अवस्था धेरै थियो । ५० को स्पिडको गाडीमा ह्याण्ड ब्रेक तान्दा पनि बल्ड्याङ खाने डर हुन्थ्यो भन्ने कुरा अन्य चालकले पनि गरिरहनु भएको थियो ।


सिधा बाटो थियो भने गियर डाउन गर्ने अप्सन हुन सक्थ्यो तर कुनै पनि अप्सन नभएपछि उहाँले ढिस्कोमा गाडी तत्काल ठोक्काएपछि पल्टियो र स्लिप भयो । गाडी सर्भिसिङ गरेको पनि महिना दिन पनि कटेको थिएन ।


आफ्ना मान्छेहरु आँखै अगाडि रगतले लत्पतिएको, बेहोस भएको देख्दा मन धेरै आत्तियो । विस्तारै उठेँ, खुट्टामा चप्पल छैन, छोरोको छेउमा पुगेँ, बाबु केही भएको छैन भन्दै सम्झाएँ, पाँच वर्षको छोरोले के बुझ्यो तर उ स्थिर थियो । चुपचाप हेरिहरेको थियो । बेला बेला उसले मेरो मुख हेर्थ्यो । म आफुलाई समाल्थेँ । अब विरामीलाई केही चाहियो भने कसले दिन्छ मन भत्तभत्त पोलिरहयो । मलाई कहीँ पनि दुखेको थिएन, चोट पटक पनि थिएन त्यही भएर गाडी भएकै ठाउँमा बसेँ । उतिबेला नै दादा–दिदि आइपुग्नुभयो । उहाँहरुलाई देखेपछि मन अलि शान्त भयो ।


घटनाबारे केही भन्न खोजेपनि गला रोकिन्थ्यो । आशुमात्रा आउथ्यो । माइतीबाट आमा रुदै फोन गर्नुहुन्छ । आफन्तहरुमा रुवाबासी चलिसकेछ । तर घरमा आमाबुवालाई भने तत्काल हामीले भनेनौं । उहाँहरुले शनिवारको दिन बालबच्चा लिएर पूर्व जानु हुदैन भनेर एक हप्तादेखि भन्नुभएको थियो । फेरि दाजुभाई सँगै एउटै गाडीमा हिड्दै छौं, शनिवार नजाओ, जाने नै भए शुक्रवार राती अन्तै बास बसेर जाउ भनेर धेरै पटक भन्नु भएको थियो ।


बुबाआमाको कुरा काट्दै नचाहिने कुरा भन्दै अटेरी गरेर हिडेका थियौँ हामी । तर पनि मनमा भने कता कता त्यो कुरा घरी घरी रिकलिङ भइरहेको थियो र बेला बेला हामीले कुरा पनि गरिरहेका थियौँ । जुन कुराले मनमा डेरा जमाएको हुन्छ त्यो कुराले कता कता खिचिरहेको पनि हुँदोरहेछ । घरमा आमाको मन दुवै छोराबुहारी शनिवार हिडेर बेचैन भएको रहेछ । पटक पटक फोन गर्नुहुन्छ । हामीले सत्य कुरा भन्ने तत्काल आँट गरेनौं ।


हामी भाग्यले भनौं या भगवानले, गम्भिर घाइते हुनबाट जोगियौँ । क्विक डिसिजन नभएको भए, आत्तिएको भए, नसम्हालिनु भएको भए, सायद यो लेखिरहेको हुन्नथिएँ होला । फिल्ममा देखिने दृश्य आफ्नै जिन्दगीमा भोगियो ।


तत्काल अर्को व्यवस्था गरेर, मनमा डर त्रास बोकेर काठमाडौ फर्कियौं । जब चालकले सुईयययय सुईयययय गाडी कुदाउथे, मन चिसिन्थ्यो, जिउभरी काँडा उम्रिथ्यो । फोन उठाउँदा बोल्ने शब्दहरु नै सकिएका हुन्थे । पाँच घण्टाको यात्रा, तीन दिनजस्तो लाग्यो ।
जिरी गएर, आफु हुर्केको बढेको, पढेको माटोमा टेक्ने इच्छा तत्काल पुरा भएन । हामीलाई दुर्घटना स्थलमा सहयोग गर्ने सबै व्यक्तिहरुलाई धेरै धेरै धन्यवाद, यहाँहरुलाई भगवानले सधै कल्याण गरुन, मानवता भन्ने कुरा अझै रहेछ । हरेक काम सचेत भएर गर्नाले ठुलो क्षति हुनबाट जोगिन सकिन्छ भन्ने कुरा महसुस भइरहेको छ ।

तपाईको प्रतिक्रिया