काठमाडौँ । नेकपा एमाले अध्यक्ष, पूर्व प्रधानमन्त्री एवम मदन भण्डारी कला साहित्य प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले प्रतिष्ठानद्वारा प्रकाशित वैचारिक सिर्जनाको संवाहक अर्धवार्षिक पत्रिका ‘शार्दूल’को अङ्क–४ र राष्ट्रिय गीति एल्बम ‘सुखी नेपाली, समृद्ध नेपाल’को विमोचन गर्नुभएको छ । ललितपुर, च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित समारोहमा ओलीले उक्त पत्रिका र एल्बमको विमोचन गर्नुभएको हो ।

उक्त अवसरमा बोल्दै पूर्व प्रधानमन्त्री ओलीले साहित्य, कला र गीतसङ्गीतले मान्छेलाई तत्कालै प्रभाव हुँदा सार्थक साहित्य, कला तथा गीतसङ्गीत सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल अनेकौँ दर्शन, ज्ञानविज्ञान तथा विचारहरूको उद्गमस्थल भएको उल्लेख गर्दै देशको समृद्धिका लागि साहित्यकार तथा कलाकारहरूले आफ्ना सिजनाका माध्यमबाट योगदान दिनुपर्ने बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष डा. विजय सुब्बाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेता तथा लेखक केशव बडालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव श्याम तमोटले विमोचित एल्बमका बारेमा बोल्नुभएको थियो । कवि वासुदेव अधिकारीले प्रतिष्ठानले आगामी दिनमा गर्नुपर्ने कार्यका बारेमा मन्तव्य व्यक्त गर्नुभएको थियो भने डा. विनोद मञ्जनले विमोचित पत्रिका ‘शार्दूल’को अङ्क–४ का बारेमा समीक्षा गर्नुभएको थियो ।

विमोचित ‘शार्दूल’ को सम्पादनकमा शशी लुमुम्बू, फूलमान वल र जयन्ता पोखरेल रहनुभएको छ । ‘शार्दूल’को यस अङक समृद्धि–विशेषका रूपमा आएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाल’ प्रतिष्ठानद्वारा दुई वर्ष अगाडि आयोजित राष्ट्रिय गीत प्रतियोगितामा छनोट गरिएका १० ओटा गीतहरूको एल्बम हो । सबै गीतको सङ्गीत तथा संयोजन सङ्गीतकार प्राज्ञ अशोक राईले गर्नुभएको हो । गणेश रसिक, अंशुमाला कार्की, सौरभ सुनार लगायतका गीतकारको गीतमा कुन्ति मोक्तान, सञ्जय तुम्रोक, दुर्गा परियार लगायतका गायक गायिकाको समुधुर आवाज रहेको छ ।

कार्यक्रममा प्रमुख अतिथि ओलीले गीतकारहरूलाई पाँच–पाँच हजार नगदसहित कदरपत्र प्रदान गर्नुभएको थियो । यसै गरी गायक गायिकाहरूलाई स–धन्यवाद सम्झनोपहार प्रदान गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानका सचिव यशोधा अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो सञ्चालन प्रतिष्ठानका महासचिव हरिप्रसाद भण्डारीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया