दिनेश सुब्बा

फूल पसल नेपालीले भरिभराउ थियो। चार दिन यता यो पसलले राम्रो व्यवसाय गर्दै आएको छ। तीन दिन  नेपालीको चाड तिहार र आज नोभेम्बर ७ तारीख आईतवार स्वर्गीय  किसन राईको श्रद्धाञ्जली  सभा यसै पसलको परिसरमा हुन गईरहेको थियो। मातृदिप राई र डि बि पालुङ्गालाई त्यहिँ भेटेँ। फूल लिएर सभा भवन तर्फ लाग्योैँ।

“यो फूलसीत मेरो वितृष्णा जागेको छ आजकल ।” मैले भने।

“किन र दाई?” मातृ भाइको जिज्ञासा ।

“किनकि फूल र श्रद्धाञ्जली हाम्रो लागि हङकङमा  परिपूरक भएको छ। न त घरमा राख्ने ठाउँ  छ न त कतै रोप्ने बारी छ। मन्दिर जाने चलन यहाँको संस्कार भित्र पर्दैन जसले गर्दा   फूलको वास्ता पनि हुदैन। खै त ! फूलको सुन्दरतामा रम्न पाएको ?”

“हाम्रो लागि प्रत्येक  आइतबार फूलको एउटा गुच्छा  किन अनिवार्य छ जस्तै भएको छ हँ ?” मैले भने।
“हो नि दाई, म त अब चाडै हङकङ छाडदै छु।” उनले आफ्नो मनोभाव पोखे।

यति कुराकानी पछि  श्रद्धाञ्जली सभा राखिएको भवन आईपुग्योैं। किसन राईको ठूलो चित्र भवनअघि  राखिएको थियो, जुन चित्र देख्दा  अन्तिम श्रद्धाञ्जली भन्दा पनि उनि यतै कतै भवनभित्र पो छ्न कि  भन्ने भान हुन्थ्यो। एउटा यस्तो व्यक्ति जो हरेक नेपालीको श्रद्धाञ्जलीमा अनिवार्य उपस्थित हुने गर्थ्यो  आज उसैको महाप्रस्थानमा  जुटनु  परेको यो दुख:द घडीमा सबै निस्तब्ध र शोकाकुल देखिन्थे।

हामीले स्थान ग्रहण गरि सक्दा कति जना महानुभावहरुले श्रद्धाञ्जली मन्तव्य  राखिसकेका थिए सायद । तर हामी बसेपछि  श्रद्धाञ्जली स्वरुप  किसन राईको योगदान बारे बोल्ने क्रम निकै लामो समयसम्म चलिरह्यो। छोटो पनि होइन लामो पनि होइन ठिक्क कै बोल्दा तर सबै संघ संस्थाका प्रतिनिधि बोल्दा समय त लाग्ने नेेै भयो। मेरो समय सकिसकेकोले मनमनै श्रद्धाञ्जली  व्यक्त गरेर त्यहाँबाट उठन बाध्य भएँ ।

किसन राई एक्लो सिपाही थिए भन्ने बिम्बात्मक भनाईलाई सबैले अनुमोदन गरिरहदा  मेरो मनले  स्विकार्न मानेन। किनकि मैले देखेको किसनमा एउटा कर्मठ कमान्डरको गुण निहित थियो । जसले अनगिन्ती सिपाहीहरुलाई अनुशासनको दायराभित्र राख्न सक्दथ्यो।उनी एउटा सिपाहीको भुमिका भन्दा माथिल्लो स्तरमा प्रस्तुत भईआएका थिए।

कति वक्ताले उनको स्मृतिको खातिर केही ठोस कार्यको थालनी गरिहाल्नु पर्दछ भन्दै अहिले नै केही उदघोषण गर्ला जस्तो गरेता पनि त्यो त केवल आव्हान मात्रै  पो रहेछ । हामी जति छिटो तातिन्छोैं त्यति नै छिटो सेलाउछोैं पनि ।

गत वर्ष जोर्डनको एउटा बिल्डिङ्गमा आगलागी हुँदा  झन्डै  एक दर्जन नेपालीले मृत्युवरण गरेका थिए। तिहारको बेला नै त्यो दु:खद घटना भएको थियो । तर त्यो घटनालाई यो तिहारमा  हामी कसैबाट   सम्झने काम भएन। यति चाँडै बिस्मृतिको गर्भमा जाला भन्ने लागेको थिएन मलाई । बुबाको मुख हेर्ने दिन (Fathers day), आमाको मुख हेर्ने ( mothers day ) मा हजारोैं कामना (wish) ले भरिने फेसवुक यो संवेदनशील  घटनाप्रति कसरी रित्तो हुन पुग्यो ?  सोचमग्न हुन्छु।

किसन राईको सन्दर्भमा मात्र नभएर  अन्य कसैको सवालमा गरिने   प्रतिबद्धतापुर्ण घोषणाको सवालमा हामी सधै गम्भीर हुन पर्दछ भन्ने मेरो बुझाई हो।

किसन राईका  केही अनोैठो बानीहरु थिए। सबैसित समान मित्रताको ब्यवहार गर्ने उनको घनिष्ट मित्र यहि हो भन्ने कुरामा म अनभिज्ञ छु। पत्रकारिताको आचारसंहिता राम्ररी बुझेका किसनले सामाजिक बिचलनप्रति जति खरो कलम चलाउथे तर ब्यवहारमा भने उनले कति पनि शत्रुता देखाउदैन थिए। लेखाईको शैली उच्चस्तरीय हुन्थ्यो । उनी  शारीरिक रूपमा पनि यति बलिया थिए  कि म बसेको पुरानो  डेरामा ५० किलो बराबरको  दुई वटा स्पिकर बोकेर  छ तल्लाको भर्याङ्ग नबिसाई उक्लेका थिए । त्यो संझना अझै  मेरो मानसपटलमा ताजै छ।

उनले नाचेको ,गाएको मैले कहिले देखिन। उनको आग्रह अनुसार मैले केही समय एभरेस्ट पत्रिकामा निरन्तर साङगीतिक लेख लेखेँ। यसले मेरो ज्ञानलाई फराकिलो पार्ने मोैका मिल्यो। अन्य सहकार्य पनि धेरै गरियो। मसीत सधैं एउटा दाजुको रुपमा सालिन ब्यवहार गर्दथे ऊनी ।

आज भोलि कपाल फुलेको आँखा चिम्से कोहि मानिस बाटोमा भेटदा म झस्किने गर्दछु कि किसन भाइ यता कतै छ कि भनेर । सायद यो हाम्रो सानिध्यताको उपज होला। मृत्यु  शाश्वत छ तर किसनले एउटा मृत्युलाई रोजेर अर्को जन्म लिएका छन। यसको उदाहरण हो उनले अन्तिममा पाएको बिशाल श्रद्धाञ्जली । धन थापा भन्नुहुन्छ “यतिको जनसागर उर्लेको  अन्त्येष्टि धरानको इतिहासमा दोस्रो पटक हो।”

हारेर पनि तिम्रो जित भयो।
हार्दिक श्रद्धाञ्जली !

तपाईको प्रतिक्रिया