काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको ३६ औँ प्राज्ञ सभा बस्ने भएको छ । कार्तिक २८ गते आइतबार बस्ने प्राज्ञ सभा समुद्घाटन समारोहको प्रधानमन्त्री एवम् प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक शेरबहादुर देउवाले समुद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।
उक्त सभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् प्रज्ञा–प्रतिष्ठानका संरक्षक प्रेमबहादुर आले विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुनेछ । प्राज्ञ सभाले वार्षिक नीति तथा कार्यक्रम पारित गर्नुका साथै विभिन्न महत्वपूर्ण निर्णय गर्ने जनाइएको छ । प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायका अनुसार सभाको समुद्घाटन समारोहमा प्रधानमन्त्री देउवाले प्रज्ञा–प्रतिष्ठानको पुनः डिजाइन गरिएको वेबसाइटको औपचारिक आरम्भ गर्नुहुने छ । सो वेबसाइटमा अनलाइनबाटै हल बुकिङ तथा पुस्तक–पत्रिका विक्री वितरणको समेत व्यवस्था गरिएको छ ।
सदस्य सचिव प्रा. उपाध्यायले सोही अवसरमा बहुप्रतिक्षित लेखक/साहित्यकार परिचय–पत्र वितरण आरम्भ गरिने बताउनुभयो । उहाँका अनुसार प्रधानमन्त्रीद्वारा प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, कुलपति गङ्गाप्रसाद उप्रेती, पूर्व कुलपति बैरागी काइँला र पूर्व सदस्य सचिव गीता केशरीलाई परिचय–पत्र प्रदान गरी लेखक साहित्यकार परिचय–पत्र वितरणको आरम्भ गरिने छ । उहाँले भन्नुभयो– “त्यसपछि प्राप्त आवेदनका आधारमा क्रमशः परिचय–पत्र वितरण कार्यलाई अगाडि बढाइने छ ।”

तपाईको प्रतिक्रिया