क्रान्ति सुब्बा । हङकङ ।

डिसेम्बर ८ तारीख बिहान करिब ८ बजे ( कुनै पत्रीकामा ८:३०) बजे तिर  एक ३९ वर्षकि फिलिपिनो घरेलु कामदारले आफ्नो रोजगारदाताको १९ महिनाकी छोरीसँग प्ले ग्रुप (गेम क्लास)मा भाग लिन धनाढय बस्ने इलाका बेल एयर रेसिडेन्सियल स्टेट,पोक फु लाम बाट  निस्किएर साइवर पोर्ट नजीक भिक्टोरिया रोडमा हिडदै थिए । उनीहरु दुवै जना हङकङ इलेक्ट्रिक पावर स्टेसनको ७०० भिक्टोरिया रोडमा पुग्दा अचानक एउटा कालो रंगको  निजी कार उनीहरुको अगाडि रोकियो र दुईजना मानिसहरु सात सिटे कारबाट हाम फाल्दै निस्किए ।  उनीहरूले बच्चा सहित फिलिपिनो घरेलु कामदारलाई जबरजस्ती कारमा राखे र तुरुन्तै घटनास्थलबाट भागे।

पात ह्यङको कन्टेनर

एकजना पैदल यात्रीले यो घटना देखेपछि प्रहरीलाई खबर गरिदियो  । तत्क्षण घटनास्थलमा अनुसन्धानको लागि प्रहरी आइ  पुग्यो र “शिघ्रगामी  अपरेसन” लागू गर्‍यो।  जस अनुसार हङकङका सबै जिल्ला प्रहरी कार्यलयलाई उक्त  निजी कारको खोजतलासमा लाग्न  आदेश दियो।
अपराधीले ती दुवैलाई त्यसपछि युन लङ जिल्लामा पर्ने पात ह्यङ भन्ने ठाउँको ताइ वो च्युन गाउँमा लगेर सिपिङ कन्टेनरमा थुनेर राखे।

सोही दिन अर्थात बुधबार  बिहान ११.१२ बजे, युन लङको पात ह्यङमा पर्ने  ताई वो गाउँका गाउँलेहरूले झाडी उम्रीएको एरियामा   राखिएको २० फिट लामो पहेँलो कन्टेनरको छतमा  एक महिला र एउटी बच्चा  जोडले सहयोगको लागि चिच्याइरहेको देखे ।  कारणवस कन्टेनरको धुरीमा  फसेको आशंकामा गाउलेहरूले दुवैलाई उद्वार गरि  प्रहरीलाई कल गरे। घटनास्थलमा पुगेको प्रहरीले प्रारम्भिक अनुसन्धान गरी भिक्टोरिया रोडबाट अपहरणमा परेका एक जना  घरेलु कामदार र  एक बच्चा भएको पुष्टि गरेको थियो ।

कन्टेनर भएको इलाका

स्रोतअनुसार  बच्चा र फिलिपिनो घरेलु कामदार पोक फु लामको  बेल-एयरमा बस्छन।  बच्चाका बुबा जापानी हुन र  हङकङका सुशी रेस्टुरेन्टका मालिक हुन।

अपहरणकारीहरू नजिकैको पहाडमा भागेर लुकेको  आशंकामा प्रहरीले  ताई वो गाउँको  उच्च एरियामा  सरकारी उडान सेवाको हेलिकप्टर बोलाएर खोजी कार्य जारी गरेको थियो । घटनास्थलमा प्रहरी कुकुरहरू पनि  खटिएका थिए । प्रहरीले ताई वो गाउँको एउटा घरमा रहेको सीसीटीभी फुटेज पनि जाँच गरयो साथै  अपहरणकारी पहिल्याउन  कन्टेनरमा रहेको  फिंगरप्रिन्ट नमुना पनि संकलन गरयो।

प्रहरीले सीसीटीभी फुटेजको आधारमा अपहरणकारीले  कालो रंगको निजी कार भाडामा लिएको तथ्य पत्ता लगायो।  कार  दर्तावाल  मालिकसँग थप जानकारी लिन प्रहरीले सोधपुछ शुरु गरयो।  अपहरणकारीले निजी कार भाडामा लिएर अपराध गरेको बुझिएको छ।   डिसेम्बर ९ तारीख बिहीबार सबेरै ३:१५ बजे तिर प्रहरीले अपहरण गर्न भाडामा लिएको कार बुझाउन गएको बेला  एक ४२ वर्षका शंकास्पद  स्थानीय व्यक्तिलाई क्वु तुङ, सेङ सोइबाट पक्राउ  गरेको थियो । प्रहरीले उनको सहकर्मीहरुलाइ खोजी गर्ने काम जारी राखेको छ।

पक्राउ परेका शंकास्पद चाइनिज व्यक्तिलाई वेस्टर्न डिस्ट्रीकको थानाको हिरासतमा लगियो। अपहरणमा प्रयोग भएको कार मा चो लुङ रोड, क्वु तुङमा रहेको एक स्टोर मालीकको छोराको हो। छोराले कसैलाई त्यो कार दिएका थिए र त्यो फलानाले फेरि अपहरणकारीलाई भाडामा सो कार दिएको पत्ता लागेको छ।

  घरेलु कामदार र शिशुलाई निरीक्षणका लागि अस्पताल पठाएपछि प्रहरीले उनीहरुलाई अनुसन्धानमा सहयोग गर्न पुनः घटनास्थलमा ल्याएको थियो ।

कन्टेनर कक्ष

स्रोतले जनाए अनुसार अपहरण पश्चात करिब ३ घन्टा जस्तो बन्दी अवस्थामा रहेपछि नानी र घरेलु कामदारको उद्वार भएको थियोे । अपहरणकारीहरु पीडितको परिवारलाई फिरौती रकमको लागि संपर्क गर्न नपाइ भाग्नु परेको थियो ।

ताइ वो च्युन भन्ने गाउँका एक गाउले- जसले नानीलाई उद्वार गर्न सहयोग गरेका थिए – ले आफू पीडितहरु फेला परेको कन्टेनरबाट दस घर पर मात्र बस्ने गरेको बताएका छ्न।

बुधबारको दिन हल्लाखल्ला भएको बेला उनी घरमै थिए । किन हल्ला भएछ भनेर बाहिर निस्केर हल्ला आएको दिशा तिर लागे । घटना स्थलमा पुग्दा उनले सानो नानीको हात प्लास्टिकको पट्टी ( स्ट्रयाप) ले बाँधिएको र उनको सुसारे नारी कन्टेनरको टुप्पोमा उभिएर सहयोगको लागि कराइ रहेको देखे।

११ बजे तिर ती दुई जनालाई कुर्न बसेका अपहरणकारी मध्ये एक खै के को लागि ती दुइटीलाई छोडेर कतै गएका रहेछ्न। यही मौकामा ती घरेलु कामदार नानीसंग छाना चढन सफल भएका थिए ।


त्यसपछि उनी हतारहतार काठको भरयाङ्ग लिन दौडिए। उनले अरु गाउलेहरू संग गएर पीडितलाई भुइँमा ओराल्न सफल भए। केहि समय पछि प्रहरी आएर अनुसन्धानको घटनास्थललाई सिलबन्दी गरेको थियो ।


अर्को गाउलेले  त्यो कन्टेनर यो ठाउँमा वर्षौं देखि रहेको  र यसको ढोका नराम्रोगरि खियाले खाएर नष्ट भएको बताए । उनको अनुमानमा उक्त डोमेस्टिक हेल्परको उमेर सरदर ३० वर्षको हो र तिनी एयर कन्डिसन जडान गर्न बनाइएको झ्यालबाट धुरीमा उक्लिएकी थिइन।

तपाईको प्रतिक्रिया