काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’लाई सर्वसम्मत रूपमा पारित गर्न सर्वदलीय बैठक बोलाएका छन । बालुवाटार स्रोतका अनुसार भोलि आइतबार दिउँसो ४ बजेका लागि बैठक बोलाइएको हो । बैठकको एजेण्डामा संसदको अवरोध हटाउने र एमसीसी सम्बन्धी सम्झौता अनुमोदनको विषय राखिएको सचिवालय स्रोतले जनाएको छ।

प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ । सरकारले संसद्को चालु अधिवेशनबाटै एमसीसी सम्झौता पारित गर्ने तयारी गरेको छ । तर नेकपा एमालेले आफूले सांसदहरुलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै संसद अवरोध गर्दै आएको छ ।

उता प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि आइतवार बोलाएको सर्वदलीय बैठकमा प्रमुख विपक्षी नेकपा एमाले सहभागी नहुने भएको छ ।

एमालेले कारवाही गरेका व्यक्ति समेटेर अवैध रुपमा दर्ता भएको दल नेकपा एस सहभागी हुने बैठकमा आफूहरु सहभागी नहुने उपाध्यक्ष तथा संसदीय दलका नेता सुवास नेम्वाङले बताए ।

प्रधानमन्त्रीज्यूसँग छलफल गर्न नेकपा एमाले तयार रहेको अवस्थामा कांग्रेसको महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेको स्मरण गराउँदै नेता नेम्वाङले भने, तर एमालेले मान्यता नदिएको र अदालतमा मुद्दा विचाराधीन रहेको समूहलाई बैधानिकता दिनेगरि हामी कुनै बैठकमा सहभागी हुँदैनौं ।

यसअघि पनि नेकपा एसको सहभागितालाई लिएर एमालेले सर्वदलीय बैठक बहिस्कार गरेको थियो । एमसीसीलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीले आइतवार बैठक बोलाएका छन ।

तपाईको प्रतिक्रिया