धरान । नेपाली चलचित्र क्षेत्रका एक समयका चर्चित तथा बरिष्ठ निर्देशक तथा नेपाली टेलिभिजन कार्यक्रमका प्रस्तोता दीपक श्रेष्ठलाई न्युयोर्कमा एक समारोहका बीच न्युयोर्क नेवा: गुठीले भव्य सम्मान गरिएको छ ।
छोटो समयका लागि अमेरिका आउनुभएका बरिष्ठ निर्देशक श्रेष्ठलाई न्युयोर्क नेवा गुठीका संस्थापक बीके नेवा, संस्थापक अध्यक्ष आदित्य महर्जन तथा वर्तमान अध्यक्ष विजयमान सिंहले नेपाली चलचित क्षेत्रमा गरेको योगदानको कदर गर्दै खादा लगाइदिएर सम्मान-पत्र हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रम प्रस्तोता , टेलिभिजन प्रस्तोता हुँदै गाउँले नामक सुपरहिट चलचित्रबाट निर्देशकको रुपमा यस क्षेत्रमा प्रवेश गर्नुभएकानिर्देशक श्रेष्ठले ३० भन्दा बढी नेपाली चलचित्रको निर्देशन गरिसक्नुभएको छ ।
लामो समयको अन्तरालपछि उहाँले घिन्ताङ नामक अन्तर जातीय फिल्म सकाएर अमेरिकाको भ्रमणमा आएको जानकारी दिनुभएको थियो ।
सोही कार्यक्रममा नेवा गुठीले नेवारी कला र संस्कृति जोडेर एउटा छोटो फिल्म बनाउने निर्णय गरेको छ । उक्त फिल्म बनाउने जिम्मेवारी बरिष्ठ निर्देशक श्रेष्ठलाई नै दिने निर्णय गरिएको थियो । निर्देशक श्रेष्ठले उक्तजिम्मेवारी सहर्ष स्वीकार गर्दै सक्दो सहयोग गर्ने बचन दिनुभयो ।
कार्यक्रममा श्रेष्ठले आफूलाई न्युयोर्क नेवा गुठीले सम्मान गरेकोमा धन्यवाद ज्ञापन गर्दै अमेरिका जस्तो देशमा बसेरपनि नेवार समुदाय आफ्नो भाषा, कला संस्कृतिको सरक्षणमा जुटेकोमा गर्व लागेको बताउनुभयो ।ज्याक्सन हाइट्सको उडसाइड क्याफेमा भएको उक्त कार्यक्रमको सञ्चालन गुठीका सचिव सन्तोष महर्जनले गर्नुभएको थियो भने कार्यत्रममा स्वागत तथा समापन अध्यक्ष विजयमान सिंहले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया