पत्रकार एवम् लेखक बसन्त बस्नेतको उपन्यास ‘महाभारा’ सार्वजनिक गरिएको छ । काठमाडौंको बौद्धस्थित तारागाउँ म्युजियममा शनिबार आयोजित विशेष कार्यक्रममा बस्नेतकी छोरी अनुदिता बस्नेतले उपन्यास विमोचन गरेकी हुन् ।

कार्यक्रममा लेखक एवम् पत्रकार शिवानीसिंह थारुले पुस्तक लेखनदेखि यसका पात्रहरूको मनोविज्ञानका विविध पक्षमा आधारित रहेर बस्नेतसँग संवाद गरेकी थिइन् । भने लेखक उपेन्द्र सुब्बाले महाभारा पहरामा फुलेको अम्लारी फुङ सुनाखरी फूल हो,’ भएको बिचार राखे ।

‘कोभिडका कारण सुरु भएको लकडाउनमा आफूले समय पाएको र त्यही बेला उपन्यास लेखनलाई गति दिएको लेखक बस्नेतले बताए । ‘लकडाउनले धेरैलाई कवि बनायो । मलाई उपन्यासकार,’ उनले भने, ‘एउटा कथानक धेरै अघिदेखि हृदयमा गुम्फिइरहेको थियो, जुनसुकै बेला ल्यापटपमा तप्किन तयार । पहिलो मस्यौदा लेखिइँदा म नेपाल म्यागजिन सम्पादन गर्दै थिएँ । अग्रज आख्यानकार नारायण वाग्लेलाई एकसरो देखाएर सुझाव लिने बेलासम्म पत्रिकाको नेतृत्वबाट बाहिरिइसकेको थिएँ । मसँग उपन्यासका लागि सोच्ने पर्याप्त समय भइदियो । फुर्सदमा व्यस्त बन्न पाएँ । त्यसैले यो किताब तयार हुन सक्यो ।’

रिदम कँडेल र लोचन रिजालले साङ्गीतिक प्रस्तुति समेत दिएका थिए कवि नवराज पराजुलीले कविता प्रस्तुत गरेका थिए । कार्यक्रममा गायिका झुमा लिम्बू र उनको रैथाने समूहको प्रस्तुतिसमेत रह्यो । उनको समूहले विशेषगरी ‘महाभारा’ पुस्तकको थिममा आधारित रहेको साङ्गीतिक प्रस्तुति दिएको थियो । कार्यक्रममा टोमस कारोस्को र मनीष गन्धर्वको समेत प्रस्तुति थियो ।

प्रेम, राजनीति र धर्मको त्रिकोणात्मक द्वन्द्वमा बुनिएको महाभारा मूलतः मुख्य पात्र ‘डुक्पा’को कथा हो । ‘महाभारा’ मधुर पूर्वेली लवज र नेपाली साहित्यमा बिरलै देखिने सशक्त संवादको मीठो सम्मिश्रण भएको प्रकाशक अजित बरालले बताए । पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो ।

तपाईको प्रतिक्रिया