क्रान्ति सुब्बा

सबै एमटिआर (MTR) कर्पोरेशनका कर्मचारीहरूले फेब्रुअरी २३भन्दा अगावै कम्तिमा एउटा कोभिड खोप लगाइसकेको हुनु पर्ने छ अन्यथा कर्मचारीलाई कार्यलयमा प्रवेश गर्न मनाही गरिने भएको छ।

जनवरी ९ तारीख आइतवारको एक घोषणामा रेलवे संचालकले  हङकङमा विकसित कोभिडको पछिल्लो अवस्थाको गम्भीरता र विशेषज्ञद्वारा प्राप्त  रायको आधारमा यो निर्णय गरिएको बताइएको छ ।

“नो ज्याब, नो एन्ट्री” अर्थात बिना खोप प्रवेश निशेध भन्ने नियम सबै कर्मचारीहरूमा लागू हुनेछ, जसले फेब्रुअरी २३ मा वा सो भन्दा अघि आफ्नो पहिलो मात्रा खोप  लिएको हुनुपर्दछ ।  सरकारले फेब्रुअरी २४ तारिखदेखि  रेस्टुरेन्ट र नियमन गरिएको परिसरहरूमा बिना खोपका व्यक्तिलाई प्रवेश निषेध गर्ने भएको छ।  त्यो भन्दा एक दिन अगाडि एमटिआरले आफ्नो कर्मचारी र यात्रुको सुरक्षाको लागि यो अनिवार्य खोप निति  लागू गरेको हो।

नियमित परीक्षण गर्ने अभ्यासलाई विकल्पको रूपमा स्वीकार गरिने छैन भनिएको छ। डाक्टरले खोप लाउन अनफिट छ भनी दिएको मेडिकल सर्टिफिकेट जसले देखाउन सक्छ उक्त कर्मचारीलाई मात्र कार्यलय प्रवेशमा छुट दिइनेछ ।

रेलवे संचालकले बूस्टरको रूपमा उपलब्ध तेस्रो खोप पनि यथाशीघ्र ग्रहण गर्न आफ्ना कर्मचारीलाई विशेष आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया