काठमाडौं । मानव अधिकारका लागि महिला एकल महिला समूह (डब्लूएचआर)को नवनिर्वाचित केन्द्रीय समितिका सबै पदाधिकारीलाई बधाई तथा शुभकामना दिइएको छ ।

डब्लूएचआरको नवनिर्वाचित पदाधिकारीलाई भक्तपुरको सूर्य विनायक नगरपालिकाले आज एक कार्यक्रमको आयोजना गरी बधाई तथा शुभकामना दिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि सूर्य विनायक नगरपालिका प्रमुख बासुदेव थापाले सामाजिक न्याय र स्वअस्तित्वका लागि एकल महिलाहरुले गरिरहेको संघर्षको प्रशंसा गरे ।

कार्यक्रममा विशेष अतिथि जिल्ला समन्वय समिति भक्तपुरका उपप्रमुख सरिता कुँवर, सूर्य विनायक नगरपालिका उपप्रमुख जुना बस्नेत, चागुनारायण नगरपालिका उपप्रमुख बिना बास्तोलालगायतले समाज रुपान्तरणका लागि एकल महिलाहरुले खेलेको भूमिकाको कदर हुनुपर्नेमा जोड दिए ।

सुर्यविनायक एकल महिला समूहका अध्यक्ष खङगकुमारी बजगाईले सरकारीस्तरबाट हुने यस्ता खालका सम्मानका कार्यक्रमले एकल महिलाहरुलाई हौसला मिल्ने बताइन् ।

कार्यक्रममा सहभागी एकल महिलाहरुले स्थानीय तहलगायत राज्यका हरेक निकायमा जिम्मेवारी निर्वाह गर्न एकल महिलाहरु सक्षम रहेको भन्दै सबै राजनीतिक दलहरुलाई सहभागिताका लागि आग्रह गरे ।

तपाईको प्रतिक्रिया