काठमाडौँ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन २०२१ का लागि सम्मान तथा पुरस्कार घोषणा गरेको छ । हालै प्रतिष्ठानका अध्यक्ष गणेश राईको अध्यक्षतामा बसेको प्रतिभा प्रतिष्ठानको भर्चुअल बैठकले वरिष्ठ गीतकार प्रा.डा. कृष्णहरि बराललाई ‘प्रतिभा सम्मान’ र युवा संगीतकार गणेश गुरुङलाई ‘प्रतिभा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । सम्मानमा पचास हजार नगद, ताम्रपत्र र दोसल्ला रहेको छ भने पुरस्कारमा एक लाख नगद राशि र ताम्रपत्र रहेको प्रतिष्ठानका महासचिव देवेन्द्र खेरेसले जानकारी गराउनुभयो ।


वि.सं. २०१० साल कार्तिकमा सिन्धुलीको हतपतेमा जन्मिनुभएका डा. बरालले स्कुले जीवनबाट गीत तथा गजल लेख्न थाल्नुभएको थियो । उहाँका दर्जनौँ गीत तथा गजल चर्चित र लोकप्रिय रहेका छन। उहाँलाई नेपाली गीत तथा गजलका क्षेत्रमा विशिष्ट योगदान दिएवापत ‘प्रतिभा सम्मान’ प्रदान गरिने भएको हो ।
यसै गरी वि.सं. २०३० वैशाख १५ गते पाचँथरको रानीटारमा जन्मिनुभएका गणेश गुरुङले २०४७ सालमा रेडियो नेपालबाट गायन सुरु गर्नुभएको हो । सय भन्दा बढी गीतहरूमा संगीत संयोजन गर्नुभएका गुरुङको सय कै हाराहारी एल्बममा संगीतसमेत रहेको छ । गुरुङलाई संगीत सृजना तथा एरेन्जका साथै संगीत प्रशिक्षणसमेत गरेर नेपाली गीत संगीत क्षेत्रमा महत्वपूर्ण योगदान दिएवापत ‘प्रतिभा पुरस्कार’ प्रदान गरिने भएको हो ।   


सन २००८ मा बेलायतमा स्थापित यस संस्थाबाट हालसम्म स्व. ईश्वर मानन्धर, स्व. अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, प्रा.डा. गोविन्दराज भट्टराई, बूँद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ (सिक्किम) र भागीरथी श्रेष्ठ, वेणु आचार्य, दावा ग्याल्मो (दार्जिलिङ) का साथै गोपाल पराजुली र डा. राजेन्द्र विमल सम्मानित भइसक्नुभएको छ ।
यसै गरी ‘प्रतिभा पुरस्कार’बाट हालसम्म नवीन विभास, कुवेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, बीबी अनुरागी, टीका चाम्लिङ, फूलमान वल, बलराम अधिकारी, शुभ मुकारुङ र विमला तुम्खेवा पुरस्कृत भइसक्नुभएको छ ।

तपाईको प्रतिक्रिया