२६ वर्षीय जुझारु पत्रकार एलबीको मृत्युको कारण अस्पतालको नाफामुखी व्यवहार दोषी रहेको भनेर सामाजिक सन्जालहरुमा बिभिन्न व्यक्तिहरुले आआफ्नो वाल तथा सञ्चारमाध्यमहरूमा राखेका छन। आफू जीवितै रहेको स्टाटस पोष्ट गरेको भोलिपल्ट एलबीले नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले आफ्नो कोभिड अनुभव र सरकारी अस्पतालको प्रवृतिबारे लेखिएको स्टोरी ‘त्यो रात मलाई वीर अस्पतालबाट ननिकालेको भए बाँच्दिनथेँ’ लाई सेयर गर्दै लेखेका थिए, ‘मीन विश्वकर्मा दाइको वेदना मात्रै होइन।सरकारी अस्पतालको लापरवाहीको प्रमाण पनि हो। उनीहरु मान्छेलाई मर्ने स्थितीमा कसरी पुर्‍याउँछन भन्ने उदाङ्गो चरित्र पनि हो, यो।’ नभन्दै एलबीले समयमै उपचार नपाएर ज्यान गुमाए। बिरामी परेपछि बुधबार राति नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल पुर्‍याइएका एलबीले पैसाको अभाव र बेडको अभावमा त्यहाँ उपचार नपाएको उनका आफन्तको गुनासो छ।

त्यो अस्पतालले बेडको अभाव देखाउँदै अन्यत्र लैजान भनेपछि पाटन अस्पताल लगिएका एलबीको गएराति निधन भएको हो। निजामती अस्पतालले एक हजार रुपैयाँको अभावमा कोभिड परीक्षण नगरेको र अन्यत्र पठाउँदा अक्सिजनसमेत नलगाइदिएको गुनासो आफन्तको छ। यसबारेमा अस्पतालले भने कुनै प्रतिक्रिया दिएको छैन।

बिरामी भएर केही दिनदेखि कोठामै बसिरहेका टिभी टूडेमा कार्यरत एलबीले चार दिन पहिले मात्रै जनहितमा जारी सूचना भन्दै कोभिडबाट श्वास फेर्न गाह्रो भयो भने तुरुन्त अपनाउनुस यी १६ उपाय भनेर जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डेका सुझावहरू पनि सेयर गरेका थिए। सामाजिक सञ्जालबाट अरुलाई जनचेतना फैलाउने उनै एलबी आफैले स्वासप्रस्वासको समस्याकै कारणले ज्यान गुमाउनु परेको प्रारम्भिक रुपमा बुझिएको छ।

निजामती अस्पतालले कोभिडलगायत परीक्षणका लागि चार हजार दुई सय रुपैयाँ माग गरेकोमा आफूसँग तीन हजार दुई सय मात्रै भएकाले एक हजार भोलि दिन्छु भन्दा पनि अस्पताल नमानेको जानकारीमा आएको छ । साथै नेपाल पत्रकार महासघले शोक बिज्ञाप्ति जारी गरेको छ ।

तपाईको प्रतिक्रिया