क्रान्ति सुब्बा

शाम शुइ पोमा लकडाउन

नाम च्यङ स्ट्रीट  बस्ने ४० वर्षीय निर्माण मजदुरको प्रारम्भिक परिक्षण पोजिटिभ भएपछि जनवरी २१ तारिख शुक्रबार राति शाम शुई पोको ३५-३७ नाम च्यङ स्ट्रिटमा रहेको आवासीय भवनमा लकडाउन भएको थियो।
शनिबार बिहान ७ बजे लकडाउन खुकुलो हुने बताइएको थियो  ।
त्यहाँ बस्ने ४० वर्षीय निर्माण मजदुरका कारण यो लकडाउन  भएको हो।  उनले क्वाई चुङको च्यङ शान एस्टेटको साइटमा काम गरेका थिए र ६ देखि ७ जना सहकर्मीसँग सम्पर्क गरेका थिए।  उनले तिन शुई वाइ स्विमिङ पुलको अर्को साइटमा पनि काम गरेका थिए।

उनलाई ज्वरो आएपछि स्वास्थ्य जाँच गर्दा  हिजो (जनवरी २०) उनमा पोजेटिभ पुष्ठि भएको थियो । स्वास्थ्य अधिकारीहरूले उनको संक्रमणको स्रोत पत्ता लगाउन सकेका थिएनन। काममा जादा धेरैजसो समय उसले आफ्नो मोटरसाइकल प्रयोग गर्दथे। र उनी  आइतवार (जनवरी 16) मा फा युन स्ट्रीट गएका थिए ।

लकडाउनमा परेकालाई सरकारले ३ छाक खाना दिने

२२ जनवरी शनिबार १३:०० बजे

जनवरी २२ तारीख शनिबारको केस तथ्यांकको सन्दर्भमा आजको दिन क्वाइ चुङ एस्टेट परिसरमा रहेको  यात क्वाई हाउस र  यिंग क्वाई हाउसमा ७० भन्दा बढी प्रारम्भिक पोजिटिभ  कोभिड-१९ केस भेटिएका थिए ।

यात क्वाई हाउसमा शुक्रबारसम्म कम्तिमा २० केसहरू फेला परेका थिए। शुक्रबार रात  खाद्य तथा स्वास्थ्य मन्त्री  सोफिया चान सिउ-चीले त्यहाँ पाँच दिनको लागि  लकडाउनको घोषणा गरिन। र करिब २,७०० बासिन्दाहरूलाइ आउदो बुधवार (जनवरी २६) सम्म घरबाट बाहिर निस्कन मनाही गरिएको छ। सरकारले नै दिनको तीन छाक खाना प्रदान गर्ने भएको छ ।

लुकिछिपी बसेका केसहरु पत्ता लगाउनको लागि बासिन्दाहरूले दैनिक कोविड परीक्षण गर्नुपर्छ।
आज बिहानसम्ममा  यात क्वाई हाउसबाट  चार पुरुष र दुई महिलालाई संक्रमितको घनिष्ठ सम्पर्क सूचीमा राखी   पेन्नी बे क्वारेन्टाइन केन्द्रमा पठाइएको थियो।  पछि अरु  दुई पुरुष र एक महिलालाई तोकिएको क्वारेन्टाइन केन्द्रमा पनि पठाइएको थियो।

अर्कोतर्फ, यिङ क्वाई हाउसलाई पनि आज (शनिबार) बिहान ४ बजेबाट त्यहाँका दुई जना बासिन्दामा प्रारम्भिक पोजेटिभ देखिएपछि लकडाउन  गरिएको थियो ।

सरकारले यति राति अबेर घडीमा  लकडाउन घोषणा गरेको यो पहिलो घटना थियो  जसले धेरै बासिन्दाहरूलाई आश्चर्यचकित बनाएको थियो।

यिङ क्वाई हाउसमा भएको यो लकडाउन  आज बेलुका ७ बजे हटने अपेक्षा गरिएको थियो । आज बिहान बासिन्दाहरू  अनिवार्य परीक्षण गर्न तल पंक्तिबद्व देखिन्थे।  तीमध्ये एक जनालाई अस्पताल पठाइएको थियो  ।

१०० वटा प्रारम्भिक पोजेटिभ केस देखिए


२२ जनवरी , शनिबार १८:०० बजे

स्वास्थ्य अधिकारीहरूले शनिबार १०० प्रारम्भिक पोजेटिभ केसहरु रिपोर्ट गरे र ती मध्ये ९६ जना क्वाई चुंग एस्टेटको यात क्वाई हाउसमा पत्ता लागेका केस थिए ।

छ वटा प्रारम्भिक पोजिटिभ केसहरू नजिकैको यिङ क्वाई हाउसमा पनि फेला परेका थिए।

दिउँसोको पत्रकार सम्मेलनमा  स्वास्थ्य संरक्षण केन्द्रका पदाधिकारी चुआंग शुक-क्वानले २६ वटा पुष्टि केस रहेको जानकारी दिइन । जसमा क्वाई चुङ एस्टेटमा फेला परेका १० केस र ताई पोको बुद्विष्ट  फात हो मेमोरियल कलेजमा फेला परेका पाँच केस समावेश थिए ।  एउटा मात्र केस आयातित केस रहेको  थियो।

पाँचजना विद्यार्थीहरू मध्ये कक्षा ३ बीका दुई जना  र ३ जना क्रमशः  कक्षा २ बी, कक्षा ३ सी र कक्षा ४ बीका परेका  थिए।

पुष्टि भएका मध्ये आठ जना यात क्वाई हाउसमा फेला परेका थिए भने अन्य दुई जना यिङ क्वाई हाउसमा भेटिएका थिए।  यिङ क्वाई हाउसका दुई केसहरूमा यात क्वाई हाउसमा काम गर्ने एक महिला क्लिनर र दुई वर्षीया बालिका संलग्न थिए।

यात क्वाई हाउसमा सङ्कलन गरिएका केही वातावरणीय नमूनाहरूमा पनि कोभिड पोजिटिभ देखिएको थियो ।  जसमा आठौं तलामा रहेको  लिफ्ट बटन र सातौं तलामा रहेको  फोहोर कोठाको ह्यान्डल समावेश थिए । केन्द्रले  अन्य नमूनाहरूमा  परीक्षण जारी राखेको थियो । यस इलाकामा व्यापक रूपमा   वातावरणीय प्रदूषण पनि भएको  थियो।

प्रिन्सेस मार्गरेट अस्पतालको प्रसूति तथा स्त्री रोग विभागमा कार्यरत दुई जना  सेवा सहायकलाई पनि प्रारम्भिक पोजिटिभ  भएको थियो।  ती मध्ये एक जना यिङ क्वाई हाउसको १८ औं तलामा  बस्छन।

पहिले संक्रमित भएको सहायकलाई शंकास्पद तरिकाले संक्रमण भएको देखिन्छ । पहिला संक्रमित हुनेले चाहिँ  मास्क फुकालेर पेन्ट्रीमा रहेको अर्को मास्क लगाएका सहायकसँग कुरा गरेकि थिइन। यी दुई सहायकसंग हिमचिम गर्ने अन्य सात जना  सहायकहरूलाई घनिष्ठ संसर्ग सुचीमा राखिएको थियो र उनीहरू क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था थियो ।

उक्त विभागका अन्य कामदार र त्यहाँ सङ्कलन गरिएका वातावरणीय नमूनामा कोभिड–१९ नेगेटिभ देखिएको थियो  ।

यिङ क्वाई हाउसबासी   एभरग्रीन (क्वाइ चुङ एस्टेट) नर्सिङ होममा काम गर्ने एक ४९ वर्षीय पुरुषको पनि प्रारम्भिक परीक्षण पोजेटिभ देखिएको थियो।  यदि उनी पोजिटिभ   पुष्टि भए भने त्यस  केयर होममा बस्ने ५० भन्दा बढी वृद्धहरू पनि  क्वारेन्टाइनमा जानू पर्थ्यो।

उनले ताक च्यङ  नर्सिंग सेन्टर (Kwai Hing Branch) मा पनि काम गरेका थिए । उनले  वृद्धहरूलाई औषधि वितरण गरेका थिए । अब त्यहाँका वृद्धवृद्धा र कर्मचारीहरूले अनिवार्य परीक्षण गर्नुपर्नेछ।

स्वास्थ्य अधिकारीहरू शाम शुई पोको ३५-३७  नाम च्यङ स्ट्रीटमा बस्ने ४० वर्षीय निर्माण मजदुर सहित तीनवटा पुष्टि भएका केसहरूको  संक्रमण स्रोत पत्ता लगाउन लागि परेका थिए ।

दोस्रो अज्ञात स्रोतवाला केस ताई वो हाउ एस्टेटको फु क्यङ हाउस निवासी एक ८१  वर्षीया महिला हुन। यात क्वाई हाउसमा बस्ने सेक्युरिटी गार्डले त्यहाँ पहिले काम गरेका थिए ।

तेस्रो अज्ञात स्रोतवाला केसमा एक सुरक्षा गार्ड संलग्न थिए जसमा डेल्टा भेरिएन्ट भएको  शंका गरिएको  थियो। तर उनी पेट  पसलमा भने गएका थिएनन।  उनी लाम तिन एस्टेटको लाम विक हाउसमा बस्छन र च्यङ शा वान सरकारी कार्यालयको १० औं तलामा रहेको श्रम विभाग(लेवर डिपार्टमेन्ट ) मा काम गर्छन।

यात क्वाइ हाउसमा थप बाह्र जनामा पोजिटिभ

२३ जनवरी आइतबार १३:०० बजे

क्वाई चुङ एस्टेटको यात क्वाई हाउसमा लकडाउन भए यता आइतबार बिहान ७ बजे सम्ममा करिब २,३०० जना वासिन्दाले कोभिड परिक्षण गरेका थिए जसमध्ये थप १२ बासिन्दाहरूको  प्रारम्भिक परीक्षण पोजेटिभ आएको थियो ।

शुक्रबार यात क्वाई हाउसमा पाँच दिनको लागि लकडाउन गरिएको थियो । यात क्वाइ हाउसमा बस्ने करिब २,७०० बासिन्दाहरूले जनवरी २६ तारीख  बुधबारसम्म आफ्नो  घर छोडेर कतै जान पाउदैनन।  शनिबारसम्मको तथ्यांक अनुसार यो  क्लस्टरको संक्रमितको संख्या एक सय नाघेको थियो  ।

शनिबार राती नजिकैको यिङ क्वाइ हाउसमा  कम्तिमा आठ केसहरू फेला परेपछि त्यस भवनमा पनि  पाँच दिनको लागि लकडाउन घोषणा गरिएको थियो। लकडाउन जनवरी २७ तारीख  बिहीबारसम्म रहने भएकोले त्यस दिनसम्म कोही पनि  घरबाट बाहिर जान पाउदैनन।

एउटै एस्टेटको परिसर भित्र रहेका चार वटा ब्लकहरु क्रमशः चिन क्वाई हाउस, हिउ क्वाई हाउस, युक क्वाई हाउस र ङा क्वाई हाउसमा एक रातको लागि लकडाउन जारी गरिएको थियो जुन लकडाउन  आइतवार बिहान समाप्त भएको थियो ।

आइतवार बिहान १ बजेसम्ममा चारवटा ब्लकका करिब ६,३७० बासिन्दाहरूले परीक्षण गराएका थिए जसमध्येबाट  चारवटा केस प्रारम्भिक पोजिटिभ पाइएको थियो – दुई जना ङा क्वाई हाउसबाट , एक जना युक क्वाई हाउसबाट र एक जना चिन क्वाई हाउसबाट ।

सामाजिक दुरि सम्बन्धि नियम फेरि थपिन सक्ने

२३ जनवरी १४:०० बजे

यदि कन्ट्याक्ट ट्रेसिङ ठीकसँग गर्न सकिएन भने कोभिड-१९ प्रकोपको पाँचौं लहर नियन्त्रण गर्न हङकङलाई तीन महिना लाग्न सक्छ, सरकारी सल्लाहकार युन क्वोक-युङले आइतबार भने।

क्वाई चुङ एस्टेटमा जारी प्रकोपको रफ्तार मन्द नभएको देखेपछि  युनले संक्रमणको संख्या अझ  तीव्र रूपमा बढने आकलन गरेका छ्न। यही पारा हो भने उनले चीनिया नयाँ वर्षको चौथो दिन अर्थात फेब्रुअरी ४ मा समाप्त हुने भनिएको  सामाजिक दूरी सम्बन्धिका नियमहरु खुकुलो तुल्याउन असम्भव हुने बताए।

स्वास्थ्य अधिकारीहरूले यदि संक्रमित सबैलाई खोजेर  क्वारेन्टाइनमा राख्न र उनीहरूको सम्पर्कमा रहेकाहरूलाई खोजेर निकाल्न  असफल भए भने अहिलेको यो नयाँ प्रकोप   नियन्त्रणमा आउन अझै  दुई देखि  वा तीन महिना लाग्न सक्छ, उनले भने। र यसले व्यापार  व्यवसायमा ठूलो प्रभाव पार्नेछ।

पूरै क्वाई चुङ एस्टेटलाई लकडाउन गर्नुपर्छ भन्ने बिषयमा अहिले नै केही भन्न धेरै चाँडो हुन्छ तर संक्रमित ब्लकमा बस्नेले कम्तीमा पनि पाँच दिन सम्म दैनिक परीक्षण गर्न आवश्यक छ युनले भने।

एस्टेटका सबै १६ वटा ब्लकहरूमा काम गर्ने एक जना  क्लिनरमा प्रारम्भिक पोजेटिभ देखिएको अहिलेको अवस्थालाई हेर्दा यो प्रकोप अझै धेरै भवनहरूमा पनि फैलिन सक्छ, उनले चेतावनी दिए।

हङकङ सरकारले शहरलाई शुन्य संक्रमण तुल्याउने प्रयास गर्नु  बेकार छ । शून्य संक्रमण कदाचित  लक्ष्य हुन सक्दैन यो त धेरै भन्दा धेरै मानिसहरूलाई खोप लगाउन समय किन्ने तरकिब मात्र हो उनले भने।

हङकङको खोप दर ७० प्रतिशतको वरिपरि मडारिरहदा न त सीमाना खोल्न न त  अहिले बन्द भएका परिसरहरु नै  पुनः खोल्न सम्भव छ उनले भने।

भ्याक्सिन बबललाई यथाशीघ्र लागू गर्नु पर्दछ जसले गर्दा प्रत्येक नागरिकले अनिवार्य खोप लाउनु पर्ने स्थिति आउदछ । खोप लाइसकेपछी  संक्रमित भइहाले पनि  गम्भीर जटिलताबाट गुज्रनु पर्दैन । फलस्वरूप  जनस्वास्थ्य प्रणाली कोभिड-१९ द्वारा  पक्षाघात नहुने  सुनिश्चित हुदछ उनले भने।

तपाईको प्रतिक्रिया