न्युयोर्क , अमेरिका।

जनवरी ३० तारीख आइतबार न्युयोर्कको ज्याक्सनहाइटमा रहेको सत्य नारायण मन्दिरमा न्युयोर्क सिटी काउन्सिलको प्राइमरीका डेमोक्रेटिक उम्मेदबार समेत रहेका नवराज केसीकी आमाको १३ दिनको पुण्यतीथिमा श्रद्धाञ्जली दिन र शोकाकुल परिवारलाई समवेदना दिन अमेरिकी मुलका नागरिक र अमेरिकी नेपाली जनसमुदायको उपस्थिति रहेकोे थियो ।

केसीको आमाको श्रद्धाञ्जली सभामा न्युयोर्कका मेयर एरिक आडम्सको विशेष उपस्थिति रहेको थियो ।अमेरिकी नेपालीलाई माया गर्ने  मेयर एरिक आडम्सले श्रद्धाञ्जली मन्तव्यको क्रममा आफ्नी आमालाई पनि  सम्झिएका थिए ।  आडम्सले आफू चुनावी अभियानका क्रममा रहेको बेला आमाले अन्तिम स्वास लिइरहेको खबर आएपछि आमालाई भेटन जाँदाको पीडायुक्त क्षण पनि बोल्ने क्रममा  स्मरण गरे ।

आफ्नी आमासँग बिताएका क्षणहरु स्मरण गर्दै उनले भने – ‘उहाँका ६ जना बच्चाहरु रहेका थिए । तर उनले सबैभन्दा बढी मलाई माया गर्नुहुन्थ्यो । म उहाँको सबैभन्दा मनपर्ने सन्तान थिएँ ।’

मेयर एरिक आडम्स

केसीको माताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मेयर आडम्सले भने – ‘जीवन स्थायी छैन । यो एउटा चक्र हो। तपाईले आफुलाइ धन्यको ठान्नु पर्छ किनकि जिवनको यो यात्रामा तपाईंले आफ्नो आमालाई दफन गर्न पाउनु भो। आमाले आफ्नो सन्तानलाई दफन गर्नु परेन। त्यसैले हामीले उनीहरुले जीवनमा भोगेका खुशी क्षणलाई  स्मरण गर्दै वहाँको महाप्रस्थानलाई  उत्सवको रूपमा  मनाउनुपर्छ ।’

‘मैले भेटेको पहिलो दिनमा नै नवराजले म प्रति प्रेम, सहयोगीपन र  समर्पणभाव दर्साएका थिए । मेरो साथमा  कोही नभएको बेला नवराजले मलाई साथ दिएको म  कहिले बिर्सन्न । उनको  सहयोग र मित्रताले मेरो जिवनमा बिशेष अर्थ राख्छ। यो शहरको जुनसुकै ठाउँमा म जति व्यस्त भए पनि म  नवराजका लागि यस श्रद्धाञ्जलीमा आउनै पर्थ्यो ।’  न्युयोर्कको हिमपातलाई चिर्दै कार्यव्यस्तताका बावजुद पनि आएका मेयर आडम्सले भने ।

एरिक आडम्सले अगाडि भने – ‘उहाँजस्तो आमा पाएकोमा र नवराज जस्तो अशल व्यक्तिलाई जन्मदिएकोमा हामी आमाप्रति खुशी हुनुपर्छ । तपाईजस्तो समाजलाई असल नेतृत्व दिनसक्ने छोरा जन्माएकोमा तपाईको आमा तपाईप्रति गर्व गर्नुहुन्छ । हामीपनि तपाई प्रति गर्व गर्दछौं ।”

एरिक आडम्स न्युयोर्कमा रहेका नेपालीमाझ समेत लोकप्रिय रहेका छन । उनलाई नेपाली समुदायका तर्फबाट इन्डोर्स समेत गरिएको थियो । साथै नेपाली समुदायले समेत उनलाई चुनावी अभियानका क्रममा फण्डरेजमा सहयोग गरेका थिए ।

आडम्सले कोरोना महामारीमा न्युयोर्कको नेपाली समुदायलाई उल्लेख्य सहयोग समेत गरेका थिए । साथै कोरोना महामारीमा अग्रपंक्तिमा रहेर योगदान दिने नेपाली समुदायका विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरेका थिए । नेपाली समुदायले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुदै आएका आडम्स न्युयोर्कको नेपाली समुदायको पहिलो छनौटमा रहेका थिए ।

तपाईको प्रतिक्रिया