काठमाडौं । प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । उनीविरुद्व नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षले आइतबार बिहान १०ः५० मा प्रस्ताव दर्ता गरेको हो ।

प्रचण्ड–नेपाल समूहका सांसदहरुले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरेका छन् । आचार्य प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटी सदस्य हुन् । उनी यसअघि संसदीय दलको नेताको निर्वाचनमा मुख्यमन्त्री शेरधन राईसँग २ मतले पराजित भएका थिए ।

प्रदेश १ मा तत्कालीन एमालेको ५१ र तत्कालीन माओवादीको १६ सिट छ । नेकपाको ६७ सदस्यमध्ये माधव पक्षका ३१, ओली पक्षका २० र प्रचण्ड पक्षका १६ जना सांसद छन् । तर तत्कालीन एमालेको संसदीय दल नेताको निर्वाचनमा राई २६ मत प्राप्त गर्दै विजयी हुँदा आचार्यले २४ मत प्राप्त गरेका थिए । एक मत बदर भएको थियो । संसदीय दलको नेताको निर्वाचनमा राईलाई साथ दिएका नेपाल पक्षका नेताहरु पुरानै गुटमा फर्किएका छन् । नेकपाका ६७ सदस्यमध्ये माधव–प्रचण्ड समूहले आफूसँग ४७ सदस्य रहेको दाबी गर्दै आएको छ । ९३ सदस्य रहेको प्रदेशमा ४७ सदस्य बहुमत संख्या हो ।

प्रचण्ड–माधव पक्षले भने अनुसार ४७ सदस्य रहे स्वत बहुमतको सरकार बनाउन सक्नेछ । तर अविश्वासको प्रस्तावमा ३७ जनाले मात्र हस्ताक्षर गरेका छन् । यसअघि प्रचण्ड–नेपाल पक्षका सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका छन् । प्रधानमन्त्री ओलीनिकट मुख्यमन्त्री राईले शनिबार साँझ दाहाल–नेपाल पक्षधर आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोलाई बर्खास्त गरेका थिए ।

तपाईको प्रतिक्रिया