इलामवासी साहित्यकार कवि दीपेन्द्र आचार्य कविता बिधामा निरन्तर साधना गरिरहेका एक राम्रा कवि हुन् । भारत तथा नेपालबाट प्रकाशित पत्रीका सुनचरी,आजभोली, हिमालय दर्पण, साहित्यपोष्ट लगायतका पत्रिकाहरुमा निरन्तर उनका कविताहरु प्रकाशन हुदै आएका छन । उनको `इक्षण´ नामक हाइकु संग्रह बजारमा आइसकेको छ । दार्जिलिङबाट एमएसी र बिइडी उत्तीर्ण गरेका आचार्य कविता विधामा पनि उत्तिकै परिचित नाम हो । प्रस्तुत छ साताको तीन कविता

टाट पल्टिएको वीर्य

जङ्गबहादुरले हस्तमैथुन गर्दा
भूँइभरी पोखिएको वीर्यबाट
जन्मेका होइनन् छोराहरु
उसको वंश चलाउन।

जङ्गबहादुर ब्रम्ह पनि होइन
पसिनाबाटै पनि सृष्टि गर्ने
जङ्गबहादुरले त छोरा जन्माउन
ठुलो युद्ध   लडेका थिए।

अ! युद्ध जित्नलाइ लडिन्छ
अनि इतिहास! जित्नेकै लेखिन्छ
तर हार्नेहरुको पनि इतिहास हुन्छ है
हार्नेहरुले इतिहासमा भूगोल हारे पनि
                              समाज हारेनन
                              संस्कार हारेनन
                              संस्कृति हारेनन
  यसैले त म जिवित छु।

युद्ध त आज पनि जारी छ
सन्तान जन्माउने
अनि नजन्माउने युद्ध
बन्ध्याकरण विरुद्ध
आमाको योनीसम्म पुग्न नै पाउदैन
बुवाको वीर्यहरु अचेल
सेरोगेट आमाले छोरा र
           छोराले आमा
चिन्न नै नपाउने विरुद्ध
जारी छ पहिचानको युद्ध।

निस्पट अँध्यारो पोखिएको युग हो यो
जहाँ आकाश त कालो छँदैछ
धरती पनि कालो छ
यही कालो धरतीमा
मेरो बाउ बाजेले जोगाएको बीउ
हाइब्रीडहरुको अतिक्रमणमा परेकोछ
लोकल वरहरु गोरु हुन नपाइ मासिन्छन्
अनि गाइहरुलाई डिब्बा डिब्बामा ल्याइएको
महङ्गा विदेशी वीर्यहरुले
कृत्रिम गर्वधारण गराइन्छ
के हाम्रो प्राकृतिक वीर्यहरु टाट पल्टेकै हो त?

जङ्गबहादुर आज पनि लड्दैछ युद्ध
टाट पलेटेको वीर्य वीरुद्ध।

फूल

एउटा बोटमा
एउटा फूल फुल्यो।।

बोट सबैको आकर्षण बन्यो।

फूल बोटको   सान  बन्यो
                  मान  बन्यो
                  इज्जत बन्यो।।

वरपर टाढा टाढासम्मबाट
मौरी भमरा भन्कन थाले
जिस्किन थाले
फूल र भमरा एक अर्कासङ्ग
इत्रिन थाले।।

बोटमा अब डर पनि फुल्यो।

एक बिहान
एक पुजारी
आयो बगैंचामा
प्रेमील हातले सुम्सुम्यायो
फूलको टाउकोमा।।

पुजारीले चुड्यो फूल
अनि चुडियो बोटको मुटु।।

देउताको नामको सिन्दुर लगाइ शिरमा
सुन्दर फूल चड्यो देउताको पाउमा।

फूल गदगद थियो
देउताको पाउ मै भएर पनि
मन्दिरको सान जो थियो ।

प्रत्येक पल मुर्झाउन थाल्यो फूल
उसको ओंठको मुस्कान
          आँखाको प्रेम
          चेहराको चमक
सब – स…ब मुर्झायो।।

अर्को दिन फालियो उसलाई
अनि देउताको पाउमा चड्यो
अर्को सुन्दर जवान फूल।।

भूँइमान्छे

ताराहरुमा खोज्नु
जूनहरुमा खोज्नु
निस्पट अन्धकारमा नभेटेपछि
उज्यालो घामहरुमा खोज्नु
तर त्यहाँ पनि नभेट्दा
आफ्नै पाइतालाको माटोमा खोज्नु
त्यहीँ हुनेछु म
भूँइमान्छे।

सागरहरुमा खोज्नु
महासागरहरुमा खोज्नु
जमेर बसेको पानीमा नभेटेपछि
पहाड टाकुराहरुमा उडीरहेको बादलहरुमा खोज्नु
तर त्यहाँ पनि नभेट्दा
आफ्नै गाउँको ढुङ्गे धारामा खोज्नु
शान्तसंग बगिरहेको हुनेछु म
भूँइमान्छे।

देशहरूमा खोज्नु
महादेशहरुमा खोज्नु
तिम्ले कोरेको काल्पनिक भूगोलहरुमा नभेटेपछि
शहरको हाट बजारहरुमा खोज्नु
तर त्यहाँ पनि नभेट्दा
आफ्नै गाउँको खेत खल्यानमा खोज्नु
पसिनामा निथ्रुक्क भिजिरहेको हुनेछु म
भूँइमान्छे।

किन भाग्दैछौ
डम्फू च्याब्रुङ मादलहरुदेखी टाढा
तिमी अबोध बालक बिराम पर्दा
झाँक्री बडाले रातभर ढ्याङ्ग्रो बजाएर
निको पारेकै हो तिम्लाइ
कार्तिक महिनाको निस्पट रातमा
जोगीको फेरि सुन्न मन पर्दैन ?
म त अझै पनि
स्याल रुने रातहरुमा बाँच्दछु
मेरा आकाशभरी
गौंथली भगेरा चीलहरु उड्छ्न
अनि धरतीभरी
फापर कोदो धानहरु नाँच्छन
म एक्लै कहाँ बाँचेकोछु र
अनि एकलै कहिले मरेकोछु र?
म बाँच्दा सारा प्रकृति बाँच्छ
म मर्दा सारा प्रकृति मर्छ
हो! विश्वमा होइन प्राकृतिमा बाँच्ने म
भूँइमान्छे।।

तपाईको प्रतिक्रिया