छोटो समयमा नेपाली कविता लेखनको क्षेत्रमा  आफ्नो  अलग्गै  पहिचान  बनाउन सफल कवि सीता तुम्खेवाका कविताहरुले महिला अधिकार,  सामाजिक विभेद  र समाजमा रहेका असमानताहरुको बिरोधमा जबर्जस्त बिरोध गरिरहेका हुन्छन्। प्रस्तुत छ साताको तीन कविता ।


म काँसोरेकी आमा

सहिदहरूको लासको खुट्किला टेक्दै
सिंहदरबार पसेपछि
एक्कासि बदलिएर आयो
पल्लाघरे माइलो

सारङगी जस्तो पेट घ्याम्पो जत्रै भयो
मरिचजस्तो गाला, स्याउ जस्तै भयो
सर्लक्कै फेरियो उसको हुलिया

हिजो मात्रै हो
मेरा छोराहरू
युद्धमा हतियारसँग खेलिरहँदा
मूत्युसँग मुक्ति साटिरहँदा
भट्टीमा लठ्ठीरहेको
तरुनीको यौवनासँग टासिंरहेको
कि त फलाँस हानिरहेको भेटिन्थ्यो माइलो

जब आफू ढलेर फहर्‍याइदिए मेरा छोराहरूले मुक्तिको झण्डा
तिनै झन्डाले लाज बेरेर
जोडले स्वतन्त्रताका गीत अलाप्दै
पस्यो सिंहदरबार
जोड्यो थानका थान घरघडेरी
राजधानीतिरै

जसै ऊ छिर्‍यो सिंहदरबार
तब कुल्चियो सहिदहरूको सपना
बेचिदियो देशका पहाड र नदिनाला

अहिले ऊ
नयाँ व्यवस्थाको नयाँ राजा
म उही पुरानै रैती
चलाइरहेछ ममाथि शासन

केवल माटोको थुप्रामाथी उभिएको  माइलोले
कोशीमा बगाइदियो
मलाई खुब सुहाएका र चिनाएका
सबै गरगहनाहरू

भन्छ-
तेरो नेस्से झुन्डाउने कानै तास्नुपर्छ
कल्ही लगाउने खुट्टा गिँड्नुपर्छ

खबरदार !
म त यो धरतीको पुरानो मान्छे
काँसोरे, लखन थापा, अटल राईका आमा

फेरि गर्भधारण गरिसकेँ
अब लड्छु
एउटा अर्को युद्ध
चुकाउँछु सहिदको बलिदानको मूल्य
र उतारिदिन्छु
लाजेहाङको आलो रगत लत्पतिएको
माइलोको मखुन्डो !


चरिसो फूल

आमाको वेदना बुझ्न
आफैँ आमा बन्नुपर्ने रहेछ नाना !

बल्ल बुझ्दैछु—
घरिघरि किन धाउँथ्यौ तिमी दुम्सीपहरा ?

कहिलेकाहीँ बिहानीको झुल्के घाम
र साँझको पहेँली घाममा
दुम्सीपहरा र हाङ्नामे भिरमा गुञ्जिने
एकै नासे आवाज
गोठसम्म आइपुग्थे—इयाँ ! इयाँ !!

मलाई लाग्थ्यो—
भोकाए होला कि !

म पुग्थेँ भीरनजिकै
आइपुग्थ्यौ तिमी पनि
हेर्दै ओडारको कोक्रोतिर
रुन्थ्यौ बेस्सरी र हुन्थ्यौ बेहोस ।

भीरमाथिको चरिसो फूलबारी वरपर
कुनै भर्खरै निदाएजस्ता
कुनै भर्खरै गिद्धले लुछेजस्ता
कुनै कङ्कालमात्रै बाँकी हुन्थे
कोपिला मै झरेका फूलहरू
आ–आफ्नै कोक्रामा ।

मुन्दुुम भन्थ्योे–
‘नटिप्नू चरिसो,
उनीहरू खेल्ने फूलबारी हो’
तर म टिपेर सिउँरिन्थेँ चुल्ठोमा

आज—
जङ्गलभित्र ढुङ्गाको सिरक ओडेर
सुतिरहेको मेरो छोरा
ब्युँझिएर निसास्सियो कि– लागिरहन्छ
आमा ! आमा !!
मलाई नै पुकारिरहेको छ कि– लागिरहन्छ ।

सत्य,
आमा भन्नु त धरती रहेछ
जो सृष्टि गरिरहन्छिन्
जितेर पनि आफ्नै मृत्यु ।

आज आफैले बुझेँ नाना !
आमाको वेदना बुझ्न त
आफैँ आमा बन्नुपर्ने रहेछ ।


रातो रुमाल

भदौ पूर्णे मेलामा उसले बिन्ति बिसायो
‘धान नाचौँ कि सोल्टिनी ?

मैले सोधेँ–
पाःलाम आउछ र सोल्टी ?

आउँछ नि ! नौ मुरी दश पाथी
ए…हेन्छाम्मो फेन्जेन् पोतेल्लेआ
पिप्फ्युङ् रेन् मिराक् पोगेल्लेआ

ए…आनिइन् काप्खेःङ हक्सुङ्बारो
चोक्युम्भो तिम्मक फक्सुङ्बारो

यसरी पाःलामको बाटो हुँदै
उभित्रै पुगेपछि
भन्न मन लाग्यो– ‘तिम्रो पाःलामसँगै जुनी काट्छु सोमिप्पे !’

ओठ खोल्नै लागेकी थिएँ
चर्को आवाज आयो– ‘मिराक कमरेड, भागौं !

ऊ त
पाःलाम भन्दै राष्ट्रिय गीतै बदल्न निस्किएको थिएछ
र, नाम्बिनहाङबाट मिराक हुँदै
आइपुगेछ मसम्म

मैले त सोचेथेँ– उसको निधारमा बेरिएको रातो रुमाल
मलाई बैना ल्याएको हो
भन्नेछ, ‘सोमिप्पे ! सँगसँगै तमोर तरीजाउँ’
कुन सपना बोकेर मकहाँ आइपुगेको ऊ
अस्तायो मेरैअघि ।

त्यसपछि मेरो भयो
रातो आहालमा तैरिरहेको त्यो रुमाल
जसलाई टिपेर बाँधे, छरिएका केस
तर, रातो बाटो हुँदै
सेतो घर पुगेका अधिनस्थ पैतालाहरूले
उनको बलिदान कुल्चिदै गएपछि
बाँधिदिएँ शीरमाथी ।

रातो रुमाल मेरो शीरमा परेपछि
युमाले थुक्मा गरयो–
हरेक क्रान्तिको ज्योति त्यहाँनेर निभ्छ
जब, अँध्यारो रातको साम्राज्य सुरु हुन्छ
र मेटाइदिन्छ इन्द्रेणी रङ्गको अस्तित्व
जसरी निल्यो महेन्द्रमालाले मुन्धुमी अक्षरहरू
बिर्साउँदै लग्यो हाक्पारे ख्याली
र, हरायो मिराकको पाःलाम कै भाका
जसको माङ्गेना उठाउन पनि
‘मिराक’ सल्किनु त पर्छ नै !

सोमिप्पे !
त्यो रातो रुमाल मेरो शीरैमा छ
बरु थुप्रै रङ्गीन बुट्टा कुँदिएको छ
त्यहि रङ्गहरूमाझ उभिएर
बेस्सरी सम्झेको छु –नौ मुरी दश पाथी ।


शब्दार्थ


पाःलामः धान नाच्दा गाइने गीतको लय

पाःलामको भावार्थः  स्वाभिमानमा षड्यन्त्र मिसिएपछि
क्रान्तिको ज्वाला उठेपछि
हाम्रो अधिकार खोजेको है
स्वतन्त्रताको बन्दुक पड्काएको है

युमाः लिम्बू जातिको पवित्र इष्टदेवी

थुक्माः आङ्मा चढ्नु

मुन्धुमः लिम्बू जातिको वेद

हाक्पारे, ख्यालीः लिम्बू जातिले गाउने लय

माङ्गेन्नाः लिम्बू जातिको शीर उठाउनी अनुष्ठान

मिराकः आगोको ज्वाला

सुमिप्पेः सोल्टी

तपाईको प्रतिक्रिया