क्रान्ति सुब्बा

भौचरबारे थप जानकारीको लागि तलको भिडियो हेर्नुहोस।

हङकङका अर्थ मन्त्री पल चान मो पोले यही आउदो अगस्ट महिनामा सरकारले दिन बाकी रहेको हङकङ डलर ५,००० बराबरको उपभोग्य भौचरको दोस्रो चरणको किस्ता  दिनेछ भनेका छन। यसबारेमा विस्तृत जानकारी जुन १३ तारीखको पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको थियो ।
यस पटकको नगद भौचर वितरणबारे केहि नयाँ प्रावधानहरु ल्याइएको छ। जस्तै हङकङमा कार्यरत घरेलु कामदार र बसाइँ सर्ने योजनामा ​​रहेका  मानिसले यो भौचर प्राप्त गर्न सक्दैनन। तर हङकङका गैर-स्थायी बासिन्दा (परमानेन्ट नभएका) र हङकङमा अध्ययनरत विदेशी विद्यार्थीहरूले यो भौचर पाउने भएका छ्न।

अगस्टदेखि चरणबद्ध रूपमा वितरण हुने दोस्रो किस्ताको लागि आफ्नो नाम दर्ता गर्ने प्रक्रिया जुन २३ मा सुरु हुनेछ र जुलाई २३ मा समाप्त हुनेछ। सबै योग्य नागरिकहरू चाहे यस पटक आफ्नो नाम दर्ता गरेका  नयाँ आवेदक हुन वा पहिले नै नाम दर्ता भैसकेका आवेदक हुन सबैले अगस्त ७ तारीखका दिन आफ्नो पहिलो भौचर प्राप्त गर्नेछन चानले उल्लेख गरे।

अर्थ मन्त्री पल चान

हङकङका स्थायी बासिन्दा वा १८ वर्ष वा सो भन्दा माथिका नव आगन्तुकहरूका अतिरिक्त हङकङको स्थाइ वासिन्दा बन्ने प्रक्रियामा रहेका दक्ष जनशक्तिको रूपमा हङकङ आएका व्यक्ति(क्वालिटी माइग्रेन्ट एडमिसन स्किम अन्तर्गत आएका), उद्यमी र हङकङमा उच्च शिक्षा अध्ययनमा आएका विद्यार्थीले पनि यो भौचरको   आधा भाग प्राप्त गर्न सक्छन। आधा रकम अन्तर्गत हङकङ डलर ५ हजार पर्दछ । पर्मानेन्ट रेसिडेन्ट हुने क्रममा रहेका यस्ता नागरिकको जनसंख्या ३ लाख भन्दा बढी रहेको छ।

जुन १८, २०१९ देखि जुन १२, २०२२ सम्मको अवधिमा यदि कसैले अध्ययन वा व्यापारिक कारणले  बाहेक अन्य कारणले हङकङ छोडेको दुई वर्ष कटिसकेको छ भने यो भौचर  लागि उनीहरु अयोग्य हुनेछ्न। यो भौचरको लागि अयोग्य व्यक्ति हुन – हङकङ त्याग्छु भनेर एमपिएफ निकाली सकेका व्यक्ति वा निकट भविष्यमा हङकङ फर्कने कुनै इरादा नभएको प्रमाणित भएका व्यक्ति ।

नयाँ योग्य आवेदक हुन वा इलेक्ट्रोनिक भुक्तानी प्लेटफर्म ( डिजिटल वालेट) फेर्न चाहनेहरू हुन उनीहरुले  प्रत्येक सोमबारदेखि शनिबार सम्म बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने आठ वटा सेवा केन्द्रहरूमा गएर या त अनलाइन मार्फत आफ्नो डाटा दर्ता  गर्न सक्छन।
तर नागरिकहरु जो पहिला प्रयोग गरेकै भुक्तानी प्लेटफर्म यस पटक पनि प्रयोग गर्न चाहन्छ्न भने उनीहरुले कुनै पनि दर्ता प्रक्रियामा जानु पर्दैन। ब्यूरोले आफै पहिले दर्ता गरिएको जानकारी जाँच गर्नेछ र योग्य नागरिकहरूले बिना झन्झट भौचर आफसेआफ प्राप्त गर्नेछ्न।

अक्टोपस मार्फत हङकङ डलर ५ हजारको कुपन  संकलन गर्न चाहनेले जम्मा तीन किस्तामा सम्पूर्ण रकम प्राप्त गर्न सक्नेछ्न । पहिलो किस्ता हङकङ डलर २,००० अगस्ट ७ तारीख , दोस्रो किस्ता हङकङ डलर २,००० अक्टोबर १ तारीख  र तेस्रो किस्ता हङकङ डलर १,००० प्राप्त गर्नको निम्ति चाहिँ पहिला प्राप्त गरेको ४ हजार सबै खर्च गरिसकेको हुनुपर्दछ। जस्तै पहिला संकलन गरिएको ४ हजार अक्टोबर भित्र खर्च गरि सकिएको अवस्था रहेमा बाकी रहेको अन्तिम १ हजार नोभेम्बर १६ तारीख संकलन गर्न सकिनेछ ।

उपभोक्ताहरूले अक्टोपसबाट प्राप्त हङकङ डलर ४ हजार २०२३ सालको मार्च  महिना भित्र खर्च गरिसक्नुपर्नेछ। र बाकी रहेको १ हजार संकलन गर्ने अन्तिम दिन १६ तारिख अप्रिल २०२३ साल रहेको छ।

अन्य डिजिटल वालेटबाट संकलन गर्न चाहनेले पहिलो किस्ता स्वरूप अगस्ट ७ तारिख हङकङ डलर २,००० प्राप्त गर्नेछन र बाकी रहेको हङकङ डलर ३,००० अक्टोबर १ तारीख प्राप्त गर्नेछन।

स्मरणीय छ हङकङ सरकारले बिद्यामान महामारीले जनजीवनमा ल्याएको आर्थिक मन्दीलाई संबोधन गर्दै २०२२/२३ सालको बजेटमा प्रत्येक नागरिकलाई जनही हङकङ डलर दस हजार बराबरको  नगद इलेक्ट्रोनिक कुपन गत मार्च महिनामा घोषणा गरि अप्रिल ७ तारीख वितरण शुरु गरेको थियो। र ६३ लाख भन्दा बढी योग्य आवेदकहरूले आफ्नो दर्ता गरिएको ई-भुक्तानी प्लेटफर्महरू मार्फत पहिलो किस्ता स्वरुप हङकङ डलर ५,००० बराबरको डिजिटल कुपन  बुझी लिएका थिए।

दोस्रो किस्ताको लागि सरकारले अरु दुइटा नयाँ वैकल्पिक अनलाइन भुक्तानी प्लेटफर्म पनि उपलब्ध गराएको छ। ती हुन बैंक अफ चाइनाको बिओसि पे (BoC Pay) र एचएसबिसी( hsbc) को पे मि (PayMe)। अब प्रयोगकर्ताहरूसंग कुल ६ थान भौचर संकलन गर्ने प्लेटफर्म विकल्प रूपमा रहेको  छ। यो भन्दा अगाडि प्रयोगमा आएका प्लेटफर्म थिए – अलि पे हङकङ (Alipay Hong Kong) , अक्टुपस (Octopus) , ट्याप एन्ड गो (Tap & Go ) र  विइच्याट पे एचके (WeChat Pay HK)।

गत वर्ष देखि जब यो उपभोग्य भौचर लागु भयो तब देखि  नागरिक तथा व्यापारीमा विद्युतीय भुक्तानीको प्रचलन बढेको उनले बताएका थिए  । हालमा यो भौचरसंग संबंधित ६६ लाख निजि एकाउन्ट छ्न भने करिब १ लाख ३० हजार व्यापारिक एकाउन्ट रहेका छन।

२० डलरको कुपन सित्तैमा


.हङकङको सर्कल के स्टोरले अक्टोपस एकाउन्ट होल्डरको लागि जुन १६ तारीख देखि जुन २२ तारीखसम्मको अवधिमा पहिलो चोटि यस स्टोर मार्फत कुपन संकलन गर्नेलाई थप २० डलरको नगद कुपन दिने घोषणा गरेको छ। स्मरण रहोस पहिलो चरणको ५ हजारबाट  बाकी रहेको अन्तिम किस्ता १ हजार यही जुन १६ तारिखबाट संकलन गर्न सकिन्छ ।


सर्कल के (ok) मेम्बरको एकाउन्टमा स्वतस्फूर्त हङकङ डलर ५ बराबरको ४ वटा कुपन केहि मिनेटमा जम्मा हुदछ भने नन मेम्बरलाई भने रसिदमा पृन्ट गरेर ४ वटा कुपन दिइनेछ ।
यो कुपन २० डलर वा सो भन्दा बढीको किनमेल गर्दा जुलाई १५ तारीख भन्दा अगाडि प्रयोग गरिसक्नु पर्नेछ।

तपाईको प्रतिक्रिया