क्रान्ति सुब्बा

कोभिड-१९ महामारीले हङकङलाई झण्डै तीन वर्षदेखि असर गरिरहेको छ। त्यसमाथि अझ सरकारले महामारी रोकथामका अन्तहिन प्रतिबन्धहरूलाई कडाइका साथ  अपनाएको छ, जसले गर्दा आर्थिक मन्दी ,प्रतिभा पलायन (ब्रेन ड्रेन), र हङकङमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम र प्रतियोगिताहरू क्यान्सल भैरहेको छ । २०२३ विश्व ड्र्यागन बोट रेसिङ च्याम्पियनसिप पनि हङकङमा नहुने भएको  छ।

बिजनेस सेक्टरका प्रतिनिधि ,कार्यकारी परिषद तथा  विधायीका परिषदका सदस्य जेफ्री लाम किन-फुङले सेप्टेम्बर १८ तारिख एक रेडियो कार्यक्रममा नोभेम्बरमा हुने हङकङ म्याराथन र २०२३ विश्व ड्र्यागन बोट रेसिङ च्याम्पियनसिप थाइल्यान्डमा सारिएकोमा आफू निराश भएको बताएका छ्न।  उनले क्वारेन्टाइन योजनालाई परिवर्तन गरेर  ०+७ वा ०+३ मा ल्याउन सरकारलाई आग्रह गरे। सरकारले आर्थिक वर्षको अन्त्यसम्म वा अर्को वर्षको शुरुवातसम्म पर्खने हो भने क्वारेन्टाइनलाई खुकुलो तुल्याउन  ढिलो हुनेछ । अन्य ठूला अन्तर्राष्ट्रिय कार्यक्रमहरु रद्द हुने हो कि भन्ने  भय पनि उनलाई रहेको बताए  ।
लामले अहिले अन्य ठाउँमा न्यूक्लिक एसिड परीक्षण गर्ने सिस्टम हटाइसकिएकोछ भन्दै हङकङ सरकारले पनि  विमानमा चढ्नुअघि  गरिने न्यूक्लिक एसिड परीक्षणलाई   खारेज गर्नुपर्ने बताए।

जेफ्री लाम

हङकङ प्रवेश हुँदाको झन्झट  र क्वारेन्टाइनको प्रावधानले यो महामारीको समयमा धेरै कठिनाइहरू सिर्जना गरेको उनले स्मरण गराए । २ वर्षको अवधिमा  १,००,००० भन्दा बढी विभिन्न क्षेत्रका प्रोफेसनल विशेष गरि फाइनान्स र एकाउन्टिङ क्षेत्रकाहरुले हङकङ त्यागी सकेका छन्। त्यसमध्ये एकाउन्ट क्षेत्रमा देखिएको  ब्रेन ड्रेन झनै  चिन्ताजनक छ । संसार भरबाट ट्यालेन्टहरुलाइ  कसरी आकर्षित गर्ने भन्ने बारेमा  सरकारले गम्भीरतापूर्वक सोच्नुपर्छ उनले भने। उनको विश्वासमा हङकङमा अझै पनि अवसर र फाइदाहरू छन ।

पछिल्लो स्रोतका अनुसार हङकङ सरकारले अब चाडै अहिले चालु रहेको तीन दिने होटल र चार दिने होम क्वारेन्टाइनलाई  हटाइ त्यसको सट्टामा शुन्य प्लस ७ अर्थात शुन्य होटेल  र ७ दिने होम क्वारेन्टाइन लागु गर्ने भएको छ तर टाइमटेबल सेट भएको छैन । यद्यपि  सकभर यो नयाँ मापदण्डबारे यथार्थ जानकारी  यही  हप्ता भित्र घोषणा गरिने स्रोतले जनाएको छ। यसका अलावा महामारी नियन्त्रणका लागि तय गरिएका विद्यमान  सामाजिक दूरी सम्बन्धि नियमहरू जसलाई पटकौं तन्काइसकिएको छ जसलाई यसपटक भने अरु खुकुलो तुल्याउने अपेक्षा गरिएको छ।

अर्को स्रोतले इंगित गरे अनुसार हङकङ  सरकारले सुरुमा नोभेम्बर भन्दा पहिले  होटल क्वारेन्टाइनलाई निर्मुल गर्ने भनेर छलफल गरेको थियो, तर एशिया-प्रशान्त क्षेत्रका अन्य शहरहरू पनि अन्तर्राष्ट्रिय कार्यक्रमहरू आयोजना गर्न तँछाडमछाड गर्न थाले । यस्तो स्थितिमा हङकङले पनि  झटपट गर्नु पर्ने भो।त्यसपछि सरकारी अधिकारीहरूले विभिन्न पक्षसंग घनिभुत मन्थन गरेपछि  सर्वप्रथम होटेल क्वारेन्टाइनको मामलालाई समाधान गर्न तिर सरकारको ध्यानाकर्षण भएको छ।

हुन त स्वास्थ्य मन्त्री  प्रोफेसर लो चुंग-माउले पनि सेप्टेम्बर १७ तारीख सरकारले अहिले लागु भएको ३ जोड ४ ( ३+४) को क्वारेन्टाइन व्यवस्थालाई हटाएर ० जोड ७ (०+७) को क्वारेन्टाइन व्यवस्था लागु गर्ने विषयमा विभिन्न तथ्यांकहरुको अध्ययन भैरहेको बताएका थिए । तथ्याङ्कको अल्प अध्ययनले पनि होटल क्वारेन्टाइन घटाउन मिल्ने देखाएकोले  होटल क्वारेन्टाइन योजनालाई सुधार गर्न सक्रिय रूपमा सरकार लागेको उनले बताएका थिए ।

सरकारको महामारी सल्लाहकार डेभिड हुइले सरकारले शुरुमा जिरो प्लस सातको क्वारेन्टाइन निति नै लागु गर्नेछ भनेका छ्न। प्रायः जसो आयातित केस हङकङ भित्रीएको चौथो दिनमा पत्ता लागेको आँकडा भएकोले यस्तो गरिने उनले बताए ।


सेप्टेम्बर १८ तारीख आइतबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ७,३२२
.स्थानीय केस संख्या : ७,१९०
.पिसिआरबाट पुष्टि केस संख्या : १,७५०
.एन्टिजेनबाट पुष्टि केस : ५,४४०
.आयातित केस संख्या : १३२ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ४९ जना
.क्वारेन्टाइन होटल र कम्युनिटी आइसोलेसन सेन्टरमा पत्ता लागेको केस : ३४ जना ।
यी केसहरु  हङकङ भित्रीएको पहिलो र तेस्रो दिनमा पत्ता लागेका हुन।
.४७ वटा केस हङकङ आएको चौथो र सातौ दिन बीचको अबधिमा पत्ता लागेको थियो ।
.२ केस हङकङ आएको सातौ दिन पश्चात समुदायमा पत्ता लागेको थियो ।

.कुल संक्रमित संख्या : १,७०७,४९५ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,८९१ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,४०२,१७५

. ३ वटा  नर्सिङ होमबाट ४ जना वासिन्दा  संक्रमित भएका थिए । २ वटा अपांग गृहबाट २ जना वासिन्दा संक्रमित भएका थिए । ६९ जना वासिन्दा क्लोज कन्ट्याक्ट् सुचीमा परेका थिए ।

.बिए.५ बाट संक्रमित हुनेको संख्या समुदायमा ७४.८ प्रतिशत पुगेको छ।

मृत्यु तथ्यांक
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : २३ जना । मृत्यु हुनेमा ५८ देखि ९४ वर्ष  बीचका १८ जना पुरुष र ५ जना महिला परेका थिए । १७ जना मृतकले  खोपको तीन मात्रा पुरा गरेका थिएनन।
.पाचौं लहरबाट मृत्यु हुनेको संख्या :९,६७८

.अस्पताल र ट्रीटमेन्ट फेसिलिटिमा भर्नारत बिरामीको संख्या : २,६५०
.क्रीटिकल अवस्थामा भएका नयाँ  बिरामीको संख्या: ९
.सिरियस अबस्थामा रहेका नयाँ बिरामीको संख्या : ८
.पुर्व अवस्थाबाट नै क्रीटिकल अवस्थामा रहेको बिरामीको संख्या ५६ र सिरियस अवस्थामा रहेकोे बिरामीको संख्या: ५१
.आइसियुमा रहेकोे बिरामीको संख्या : १६

.गत २४ घन्टामा निको भएका बिमारी : ३१४
.डिस्चार्ज भएका बिमारी : २७०
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : ५ संक्रमितको संपर्क आएका मानिसको संख्या : ५

.गत २४ घन्टामा संक्रमित भएका अस्पताल प्राधिकरणका कर्मचारी : ९६
.गत २४ घन्टामा निको भएका अस्पताल प्राधिकरणका कर्मचारी : ३८

तपाईको प्रतिक्रिया