न्युयोर्क, अमेरिका। न्यूयोर्कमा गत डिसेम्बर ४, २०२२ का दिन नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को १७ औं बार्षिकोत्सव सम्पन्न भएको छ ।
न्युयोर्कको क्विन्स स्थित नेपाल आदिवासी जनजाती महासंघ, अमेरिका (फिप्ना) को कार्यालयमा १७ औं वार्षिकोत्सव फिप्नाका सदस्य संस्थाको प्रतिनिधीहरु, फिप्नाको सल्लाहकारहरु, पूर्व अध्यक्षहरु,  फिप्नाको संघिय परिषदका सभामुख, उपसभामुख र  संचारकर्मीहरुको माझ सम्पन्न भएको छ ।
फिप्नाका अध्यक्ष राजकुमार बिष्टको अध्यक्षता भएको कार्यक्रममा फिप्नाको महासचिव टोमा लामाले उपस्थित सबैलाई फिप्नाको १७ औं बार्षिकोत्सवको शुभकामना दिँदै कार्यक्रमलाई संचालन गरेकी थिइन साथै कार्यक्रमको रुपरेखाबारे पनि जानकारी दिएकी थिइन।

कार्यक्रमको प्रारम्भमा करीब २ महिना अघि स्वर्गारोहण भएका नेपाल आदिवासी जनजाति महासंघ(नेफिन)का पूर्व महासचिव,आदिवासी योद्धा तथा बौद्धिक व्यक्तित्व मानव शास्त्री स्व.प्रा.डा.ओम गुरुङ र भाषा तथा संस्कृतिविद्,शताब्दी पुरुष स्व. सत्यमोहन जोशीको अतुलनिय योगदानलाइ स्मरण गर्दै एक मिनेट मौनधारण गरि गरिएको थियो ।
कार्यक्रममा उपस्थित फिप्नाका सल्लाहकार निर्मल प्रधान, निवर्तमान अध्यक्ष तथा सल्लाहकार  लोक चेम्जोङ, सभामुख शुर्वणकुमार शाक्य, लाइन्स क्लब अफ क्वीन्स बुद्ध, न्यूयोर्कका अध्यक्ष एवं मकै हाउस टेलिभिजनका प्रधान सम्पादक बिक्की पुलामी र फिप्नाका सम्पुर्ण सदस्य संस्थाहरुको प्रतिनिधीहरुले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।



कार्यक्रममा न्युयोर्कका दुई व्यक्तित्व अमेरिकाका  लोकप्रिय समाजसेवी एवं नेपाल सरकार, न्यूयोर्कका लागि नेपालको पर्यटन सद्भावना दूत केशव राम राई र लेखक पासांङ शेर्पालाई फिप्नाको १७ औं  वार्षिक उत्सवको अवसरमा बिशेष सम्मान गरिएको थियो ।


केशबराम राईले बिगत २ दशक देखि अमेरिकालाई कर्मथलो बनाई र फिप्नाको सुरुवाती दिन देखि हालसम्म निरन्तर निस्वार्थरुपले फिप्नाको हितलाई सर्वोपरी ठानी सहयोग पुर्याउदै आईरहेको र फिप्ना मात्र नभई न्युयोर्क तथा अमेरिका रहि निरन्तर समग्र सामाजिक काममा एवं आदिवासीहरुको हकहित तथा कला, संस्कृतिको विकास तथा संरक्षणमा पुरयाएको योगदानको उच्च कदर गर्दै फिप्नाले केशवराम राईलाई सम्मान गरेको हो ।

यसैगरि अर्का सम्मानित व्यक्ति  पासांङ शेर्पाले कोरोना कहरको बेला न्युयोर्कमा रहि अहोरात्र समाजको निमित्त खटेका योद्धाहरु र कोरोना कहरलाई पुस्तकमा उतार्दै “कोरोना कथा” किताब लेखन गरि समाजसम्म पुर्याउने साहस र लामो समय देखि गीत लेखन तथा  साहित्य क्षेत्रमा पुरयाएको योगदानलाइ मुल्यांकन गर्दै सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्व केशवराम राईले फिप्नाले आफ्नो कामको मूल्याकंन गरी यो समयमा आफुलाइ सम्मान गरेकोमा खुशी व्यक्त गर्नुका साथै सामाजिक काममा अझ मेरो जिम्मेवारी थपेको महसुस भएको बताउनु भयो ।

स्मरण रहोस , फिप्नाद्वारा गत अगष्ट १४, २०२२ मा आयोजित “२२ औं विश्व आदिवासी दिवस” कार्यक्रममा फिप्नाका विभिन्न सदस्य संस्थाहरुबाट प्रतिनिधित्व गर्दै नृत्य प्रस्तुत गरेका कलाकारहरुलाई  प्रमाण–पत्र समेत वितरण गरेको थियो ।


फिप्नाले यस वर्षदेखि २ फरक बिधाका व्यक्तित्वलाइ  सम्मान गर्ने योजना अनुरुप राइ र शेर्पालाइ सम्मान गरिएको हो। फिप्नाको इतिहासमा पहिलोपटक यसै वर्ष देखी अन्तर्राराष्ट्रिय नारी दिवस मनाउन पनि शुरु गरेको स्मरण गराउँदै यसरी फिप्नाले समय परिस्थिति अनुसार नयाँ नयाँ कार्यक्रम तथा गतिविधि गर्दै जाने प्रयास रहेको महासचिव टोमा लामाले बताइन।
कार्यक्रमको अन्त्यमा अध्यक्ष राजकुमार बिष्टले  बक्ताहरुबाट अभिव्यक्त भएका सुझाबहरुलाई मनन गर्दै   समाज हितको निमित्त सक्दो राम्रो कार्य गर्ने प्रयास गर्ने बताएका थिए।

तपाईको प्रतिक्रिया