न्युयोर्क,अमेरिका

संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा ह्योल्मो सोनाम ल्होसार भव्य,सभ्य र व्यवस्थित तवरले सम्पन्न भएको छ। ‘ह्योल्मो सोनम ल्होसार २१५०’  गत फेब्रुअरी ४, २०२३ शनिबार सम्पन्न गरिएको हो।

स्मरण रहोस् नेपालको करिब ९२ गाउँमा  “ह्योल्मो आदिवासी समुदाय” छरिएर बसेका छ्न। यस आदिवासी समुदायको उत्थानको निम्ति अमेरिकामा स्थापित ह्योल्मो सोसाइटी अफ अमेरिकाले न्युयोर्कमा आयोजना गरेको यस सोनाम ल्होसार कार्यक्रममा विभिन्न संघ संस्थाको प्रतिनिधिहरुको बाक्लो उपस्थितिमा रहेको थियो । कार्यक्रमा परम्परागत संस्कृतिक नाचगान पनि प्रस्तुत गरिएको थियो।

संस्थाका अध्यक्ष धिन्दुप लामा ह्योल्मोको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रुपमा संयुक्त राज्य अमेरिकाका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम थिए।  विशेष अतिथीमा फिप्नाका अध्यक्ष राजकुमार विष्ट थिए भने अतिथिहरुमा क्रमशः संयुक्त राज्य अमेरिका न्युयोर्कका लागि नेपालका पर्यटन सद्भावनादूत केशवराम राई, गुरुङ तमु समाजका अध्यक्ष तोरण गुरुङ, थारु तथा साथीभाइ संघका उपाध्यक्ष दीपक चौधरी, उत्तर अमेरिकाको वालुङ समुदायका अध्यक्ष चुङदल उक्याप, जिरेल एसोसिएसन अमेरिकाकी अध्यक्ष शान्ति जिरेल, अमेरिकास्थित शेर्पा संघका अध्यक्ष पासाङ दोर्जे शेर्पा, ग्यालसुम्दो सेवा संस्थाकी अध्यक्ष निमा गाले, संयुक्त किरात राई संगठनका उपाध्यक्ष बसन्ती राई थिए । अतिथि तथा दर्शक गरि लगभग ३०० जना मानिसहरूको उपस्थिति रहेकोे थियो ।
ह्योल्मो सोसाइटी अफ अमेरिकाकि उपाध्यक्ष माया लामा र फिप्नाका क्षेत्रीय उपाध्यक्ष द्वयले अतिथिहरुलाइ स्वागत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि गौतमले नेपाल सरकार तथा व्यक्तिगत तर्फबाट शुभकामना व्यक्त गर्ने क्रममा यो पर्व   ह्योल्मो समाजको मात्र नभएर सम्पूर्ण नेपालीको पर्व भएको जनाउँदै ह्योल्मो समाज अति नै मिलनसार र एक अर्कामा दु:ख पर्दा खुल्ला दिलले सहयोग गर्ने भावना भएको समुदाय भएको बताए । उनले नेपाल जाने कुनै पनि पर्यटकले जानै पर्ने एउटा महत्त्वपूर्ण स्थान हो हेलम्बु जहाँ नपुगी फर्किएमा पर्यटकको यात्रा नै अपुरो रहन्छ भन्दै नेपाल सरकारले पनि यस ठाँउको पर्यटकीय महत्त्वलाई उजागर गर्न विशेष चासो दिइरहेको बताए ।

अर्का विशेष अतिथी फिप्नाका अध्यक्ष राजकुमार विष्टले बोल्ने क्रममा जनजाति महासंघ कुनै पनि जाति विशेषको विरुद्धमा खडा भएको संस्था नभएको स्मरण गराउदै सबै जातिको हक अधिकार र पहिचानको स्थापना र जगेर्ना  समान ढंगले हुनुपर्छ भन्ने मान्यताका साथ खडा भएको संस्था हो भन्ने स्पष्ट पारे।

महासचिव चेवाङ टाशी लामाको स्वागत मन्तव्य रहेको  यस कार्यक्रममा संस्थाको बिशेष पदमा रहेर योगदान र सहयोग व्यक्तित्वहरुलाई प्रमाण पत्र प्रदान गरि सम्मान गर्ने कार्य पनि सम्पन्न भएको थियो। घ्यामी ज्याबा ह्योल्मोद्वारा संचालित उक्त कार्यक्रममा उपस्थित हुने सम्पूर्णलाई स्वादिष्ट परिकारका खानाको पनि व्यवस्था  गरिएको थियो।

तपाईको प्रतिक्रिया