सन्तोष राई 

न्युयोर्क: अमेरिकामा बसोबास गर्ने किरात राईहरुको साझा संस्था यूनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (युक्रा) को युक्रा न्युयोर्क च्याप्टरले दिवंगत समाजसेवी बल प्रसाद रदखु राईको स्मृतिमा मार्च १८ शनिबार श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।
स्वर्गीय राई युक्राकी आजीवन सदस्य तथा पुर्व केन्द्रिय कोषाध्याक्ष नविन कला राई र युक्रा न्युयोर्क च्याप्टरकी संस्थापक सदस्य शान्त कला राईका पिता हुन्। 

कार्यक्रम युक्रा न्युयोर्क च्याप्टरकी वरिष्ठ उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष बसन्ती राईको सभापतित्वमा आयोजना भएको थियो । वरिष्ठ नृत्य निर्देशक गोविन्द राई प्रमूख अतिथि रहेकोे कार्यक्रम गत मार्च शनिबार बेलुकी ६:०० देखी ९:३० बजेसम्म ४०-०८-७६ स्ट्रिट ज्याक्सन हाइट स्थित ग्याल्सुम्दो सेवा समाजको भवनमा सम्पन्न भएको थियो।


समाजसेवी राई वि.स. १९९८ मा  खोटाङको पाथेकामा जन्मिएका थिए भने २०७९ कार्तिकमा सुनसरीको तरहरामा उनको निधन भएको थियो । उनी भूतपूर्व बेलायती सेना थिए। बेलायती सेनाबाट पेन्सन आएपछि लामो समय समाज सेवामा लागेका थिए। उनका एक श्रीमती र दुई छोरी नविन कला र शान्त कला राई छन्।


संस्थाकी आजीवन सदस्य तथा पुर्व केन्द्रिय कोषाध्याक्ष नविन कला र युक्रा न्युयोर्क च्याप्टरकी संस्थापक सदस्य शान्त कला लामो समय देखी संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा बस्दै आएकी छिन।


श्रद्धाञ्जली मन्तब्य दिने क्रममा कार्यक्रमका प्रमूख अतिथी कलाकार गोबिन्द राईले स्व. बल प्रसाद रदखु राई नाताले देबा (ठुलो बुवा)भएको हुँदा आफुले धेरै पहिले देखी चिनेको बताए।  समाजसेवी स्व. राई दयालु, मिलनसार मनका धनी आफन्त ,नरनातासँग सधैं समधुर सम्बन्ध राख्ने गरेको कुरा उनले सुनाए ।


संयुक्त राज्य अमेरिका न्युयोर्क राज्यका पर्यटन सद्भावना दूत केशवराम राईले समाजसेवी स्व. बल प्रसाद रदखु राई र आफु बेलायतको सेनामा संगै काम गर्दादेखि नै चिनजानमा रहेको र उनिसंगको सम्बन्ध समधुर रहेको बताउदै  स्व. राई दयालु, सहयोगी र आफन्त भनेपछि मरिहत्ते गर्ने अती मिलनसार स्वभावका भएको स्मरण गर्दै आफू स्वयं मन्चमै भावुक बनेका थिए।

यसैगरी युक्राका केन्द्रिय भूतपुर्ब अध्यक्ष प्रभाकर राईले स्व. बल प्रसाद रदखु राईसँग प्रत्यक्ष भेट्न नपाए पनि उनको छोरी द्वय नवीन कला र शान्तलाई धेरै पहिले देखी नजिकबाट चिनेको बताए ।


मन्तव्य दिने क्रममा युक्राकी निवर्तमान अध्यक्ष मुना राईले स्व. बल प्रसाद रदखु आफ्नो नजिकैको आफन्त रहेको बताइन् । उनी दयालु  र मिलनसार भएकै कारण उनको निधनले धेरैलाई स्तब्ध तुल्याएको भनाई व्यक्त गरिन्।


समाजसेवी स्व. राईलाई नजिकबाट चिन्ने सुकु रूम्दाली राईका अनुसार उनी आफ्नो काम कर्तव्यमा निष्ठा भएकै कारण वेलायती सेनामा रहँदा इमान्दारिता प्रतिक मेडल पाएको बताइन् ।


युक्रा केन्द्रिय अध्यक्ष जय कुमार राई उक्त श्रद्धाञ्जली सभामा प्राविधिक कारणले उपस्थित हुन नसके पनि समवेदना सन्देश मार्फत समवेदना  व्यक्त गरेका थिए।


“जीवनको अन्तिम सत्य नै मृत्‍यु हो, जून कसैले रोक्न छेक्न नसक्ने र आफ्ना प्रियजन छुटिएर जादाँको पिडा साच्चिकै कहाली लाग्दो  हुन्छ”, युक्रा केन्द्रिय अध्यक्ष राईको सन्देसमा भनिएको थियो । उक्त सन्देश युक्रा केन्द्रिय सदस्य गरचा किरातले वाचन गरेका थिए। युक्रा न्युयोर्क च्याप्टरका उपाध्यक्ष कृष्ण राईले सो श्रद्धाञ्जली कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै स्व. राईका परिवार प्रति सान्त्वना तथा समबेदना प्रकट गरेका थिए।


कार्यक्रमको अन्त्यमा सभाध्यक्ष तथा कार्यबाहक अध्यक्ष बसन्ती राईले समाजसेवी स्व. राईको निधनले आफुलाई अत्यन्तै दुखी तुल्याएको भनाइ व्यक्त गरिन्। उनले यस्ता दुखद कार्यक्रममा कहिल्यै भेला हुन नपरोस् भन्दै सोकाकुल परिवारजनमा सहनुभुति व्यक्त गरिन्। उनले कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद दिंदै कार्यक्रम समापन गरेकी थिइन्

तपाईको प्रतिक्रिया