न्युयोर्क / अमेरिका

आदिवासी जनजाति महिला महासंघ अमेरिका (फिवना) ले बार्षिक रूपमा आयोजना गर्दै आएको देउसीभैलो कार्यक्रम यसपटक पनि भव्यताका साथ सम्पन्न गरेको छ। संस्थाको आर्थिक मजबुतिकरणका लागि यसपालि र्याफल चिठ्ठाको पनि व्यवस्था गरिएको थियो । कार्यक्रम औपचारिक, देउसी भैलो  र भाग्य चिट्ठा गरि  तिन चरणमा बिभाजित थियो ।

प्रथम चरणको औपचारिक कार्यक्रममा अथितिहरूले शुभकामना मन्तव्य दिएका थिए। शुभकामना दिने अतिथिहरु क्रमशः छाया कम्युनिटी डेभलप्मेन्टका कार्यकारी निर्देशक अनिता सिचरन, क्विनस बरो प्रेसिडेन्ट अफिस इमिग्रेसन वेलकम सेन्टरका सुबारू दत्त, सामाजिक अभियन्ता इन्द्र तामाङ, आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) की महासचिव  टोमा लामा, युनाइटेड किरात राइ अर्गनाइजेसन अफ अमेरिका न्यूयोर्क च्याप्टरकी अध्यक्ष ममता राई रहेका थिए ।
यसै अवसरमा संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार संगिनि मगर सम्मानित भएकी थिइन् । संस्थामा पुर्याएको योगदानलाई कदर गर्दै उनलाई  सम्मान गरिएको हो । फिवनाका वर्तमान अध्यक्ष इन्दिरा चोङबाङले मगरलाई खदा ओढाएर सम्मान गरेकी थिइन् ।

संस्थाकी उपाध्यक्ष मैनासेन बज्राचार्यको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको संचालन पुर्व सभासद तथा जिरेल समाज अमेरिकाकी अध्यक्ष र फिवनाकी सकृय सदस्य शान्ति जिरेलले गरेकी थिइन्।

पहिलो चरणको औपचारिक कार्यक्रमको समापन गर्ने क्रममा अध्यक्ष इन्दिरा चोङबाङले कार्यक्रम सफलताको श्रेय सम्पूर्ण फिवना टिमलाई दिएकी थिइन् ।

दोस्रो चरणमा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिका साथ सर्टिफेकट वितरण गर्ने कार्य भएको थियो ।

यसै क्रममा फिवनाले सामुहिक देउसी भैलोको आइटम प्रस्तुत गरेको थियो जसमा शान्ति जिरेलको अगुवाइमा महिलाहरूको भैलिनि गीत प्रस्तुत गरेका थिए ।

विभिन्न सामाजिक संघसंस्थामा सकृय, कलाकार संघकी वरिष्ठ उपाध्यक्ष तथा मीस इमिग्रेन्ट वसन्ती राईले आफ्नो कला प्रदर्शन गरेर दर्शकलाई मनोरञ्जन प्रदान गरेकी थिइन् । नाचगान तथा देउसी भैलो कार्यक्रमपछि कलाकार द्वय वसन्ती राइ र संगीता मुखियालाई प्रसंसापत्र र संस्थाकि सकृय सदस्य मैया तामाङलाई  लाइभ मेम्बरसीप सम्मान स्वरुप अध्यक्ष चोङबाङको हातबाट प्रदान गरिएको थियो ।

तेस्रो चरणको मुल आकर्षण र्याफल अर्थात भाग्य चिठ्ठा रहेकोे थियो जसको संयोजन उपाध्यक्ष मैनासेन बज्रचार्यबाट भएको थियो । सोही अवसरमा प्रथम पुरस्कारका बिजेता लक्ष्मण तामाङले आइफोन १५ हात पार्न सफल भएका थिए भने दोस्रो पुरस्कारका बिजेता हेल्लो कार्यक्रमका सम्राट कार्कीले सुनको सिक्री हात पार्न सफल भएका थिए । यसैगरी तेस्रो पुरस्कार अन्तर्गतको दुइसय डलरको गिफ्ट कार्ड हात पार्न सफल भइन् अनु गुरूङ ।

दोस्रो पुरस्कार बिजेता सम्राट कार्कीले पुरस्कार स्वरूप आफुले प्राप्त गरेको सुनको सिक्री फिवनालाई नै डोनेसन दिएर आफ्नो उदात्त भाव प्रकट गरेका थिए ।

तपाईको प्रतिक्रिया