धरान
  वीपी प्रतिष्ठान भित्र हुने गरेका  आर्थिक, वौद्धिक भ्रष्टचारलाई  हटाई शुद्धिकरण गर्ने नाममा विगत अढाई महिना देखि चलेको हडताल र तालावन्दीको कार्यक्रमले अन्तत: प्रतिष्ठान धरासाहि हुने अवस्थामा पुगेको छ ।
प्रतिष्ठान भित्र भ्रष्टचार बढेको, पठन पाठन ठप्प भएको निति नियममा राजनीतिकरण भएकोले त्यसको शुद्धिकरण गर्न हालका उपकुलपति डा ज्ञानेन्द्र गिरी लगायत चार जना पदाधिकारीको राजीनामाको माग गर्दै चिकित्सकहरुको अगुवाईमा विधार्थी कर्मचारीहरुले हडताल गरेको ७७ दिन पुगेको छ । उनीहरुले शुरुका दिन हरेक दिन नारा जुलुस धर्ना आकस्मिक  सेवा   बन्द सम्मका कार्यक्रम गरेका थिए । अहिले भने हरेक साँझ उपकुलपतीको कार्यालय अगाडि एक घण्टा धर्ना र चारै जना पदाधिकारीहरुको कार्यलयमा ताल्चा लगाएर राजिनामाको माग राखि राखेको छन । उनीहरुले पदाधिकारीहरुको कार्यालयमा ताल्चा लगाएपछि पदाधिकारी विहिन हुन पुगेको प्रतिष्ठानमा कर्मचारीले साउनको तलव खान पाएका छैनन भने तलव दिने पैसाको पनि अभाव रहेको लेखा फाँटका कर्मचारीहरु बताउछन ।
यता विधार्थीको पठन पाठन ठप्प भएकोले वार्षिक शैक्षिक तालिकामा व्यापक फेरबदल गर्न पर्ने अवस्था सिर्जना  भएको छ । प्रति महिना १५ करोड रुपैया तलव भत्तामा मात्र खर्च हुने प्रतिष्ठानमा सधैको वन्दले आन्तरीक आम्दानी ह्वात्तै  घटेको छ । प्रतिष्ठानलाई राम्रो आम्दानी गराउने सिटि स्क्यान र एम आरपी एक वर्ष अधि देखि बिग्रिएकोकोले जनताले महंगो दाम तिरेर विराटनगर, झापा  जानू परेको छ। अब   यस्तै अवस्था अरु ५ महिना रहने हो भने तलव खान नपाएर सबै  डाक्टरहरुले जागिर छाडने र प्रतिष्ठान बन्द हुने निश्चित भएको विज्ञहरु बताउछन ।  

आन्दोलनकारीहरुको नियत नै खराब देखियो ।
प्रतिष्ठानको शुद्धिकरण गर्ने भनि केहि चिकित्सक र राजनीतिक दलहरुले शुरु गरेको आन्दोलनका मागहरु वर्तमान  सरकारले पुर गर्दै गए पनि आन्दोलन नरोकिनाले आन्दोलनकारीहरुको नियत माथि नै शंका उठन थालेको छ ।  आन्दोलनकारीहरुको माग बमोजिम सरकारले डा वैकुण्ठ अर्यालको संयोजकत्वमा एक कार्यदल बनाएर पठाएको थियो । सो कार्यदलले ४७ पृष्ठको प्रतिवेदन पनि बुझाई सकेको छ । यसै बीच  अख्तियारले छापामारी ७ दिन सम्म व्यापकरुपमा छानवीन गर्दै कागजपत्रहरु लिएर गएको छ । तर पनि आन्दोलनकारीहरुले आन्दोलन नरोक्दा डा वैकुण्ठ अर्यालले दिएको प्रतिवेदन कै अवज्ञा गरेको आरोप लाग्न थालेको छ । जबकी सो प्रतिवेदनलाई आन्दोलन कारीहरुले स्वागत गरी कार्यान्वयनको लागी दवाव दिईरहेका छन । तर सोहि प्रतिवेदनको बुँदा न २ः५ः२ मा उल्लेखित पदाधिकारीहरुको व्यक्तिगत आचरण भन्ने शिर्षकमा अस्पताल जस्तो संबेदनसिल  क्षेत्रभित्र आन्दोलन , हडताल गरी सेवा अवरुद्ध गर्ने एवम पदाधिकारीहरुको कार्यकक्षमा सिलवन्दी गरी दैनिक कार्य सन्चालनमा अवरोध पुर्याउने कार्यले प्रतिष्ठानलाई क्षति पुरयाएको छ । यस प्रति संबंधित  पक्ष सचेत नदेखिएको उल्लेख  गरिएको छ ।
यसैगरी सोहि प्रतिवेदनको बुँदा नं २ः५ः३ मा प्रतिष्ठानका शिक्षक कर्मचारीहरुले पनि आफनो आचरण र प्रतिष्ठानको ऐन नियम विपरीत गई राजनीतिक दलहरुको सदस्यता लिएको अन्य राष्ट्रिय अन्तर्राष्ट्रिय  संघ संस्थाको सदस्यता लिएर काम गरेकोले प्रतिष्ठान भित्र देखिएको नियमको उलंघनको पराकाष्ठ भएको ठहर गरेको छ ।
यसैगरी उनीहरुले कुनै एक स्थानमा २५ जना भन्दा बढि भेला हुन नपाईने संक्रमण ऐन २०२०  र अस्पताल जस्तो अत्यावश्यक सेवामा कुनै अवरोध गर्न नपाई सामान्य प्रशासन ऐन पनि उलंघन  गरेको अभियोग छ ।  

चार जना पदाधिकारीको राजिनामा माग्ने आन्दोलनकारीहरु कै कृयाकलाप प्रतिष्ठानको ऐन विपरीत देखिएकोले अविलम्व तालाखोली आन्दोलनकारीहरु माथी पनि कार्वाहीको लागि छानबिन  हुनु पर्ने माग सहित गत हप्ता राष्ट्रिय  प्रजातन्त्र पार्टी  धरान नगर समितिले एक प्रेस विज्ञप्ती समेत निकालेको छ । आन्दोलनको नाममा अस्पतालको काममा अवरोध पुरर्याइ प्रतिष्ठानलाई धरासाहि बनाउन पाईन्दैन भन्दै राप्रपाले प्रेस विज्ञप्ती मार्फत कडा प्रतिवाद गरेको छ ।
यसै गरी सोमवार औषधी व्यवसायी संघले पनि एक विज्ञप्ती निकालेर वीपीमा लागेके तालालाई अविलम्व खोल्न आग्रह गरेका छन । अख्तियारले आर्थिक अनियमितता मात्र हेर्ने होईन यसरी सरकारी कर्मचारीहरुले आफ्नै  संस्थाको एैन नियम विपरीत काम गरेका छ भने कार्वाही गर्ने पनि अधिकार राख्दछ तर हाल सम्म अख्तियारका अगुवाहरुले यस विषयमा ध्यान दिन नसकेको नागरीक समाजका अगुवा  बताउछन ।  

आन्दोलनकारी कस्ता कस्ता ?

उपकुलपतिको विरुद्धमा फेसबुकमा लेखेपछि उपकुलपतिले स्पष्टीकरण माग्दा उल्टै प्रतिष्ठानको शुद्धिकरणको आन्दोलनको शुरुआव गर्ने डाक्टर विष्णु पोख्रेल लगायतका आन्दोलनकारीहरु माथि पनि  व्यक्तिगत  फाईदाका लागि प्रतिष्ठानको ऐन नियम विपरीत आचरण गर्ने गरेको आरोपहरु वाहिर आउन थालेको छन ।  अर्थोपेडिक डाक्टर विष्णु  पोैडेलले घुँडा दुखेको समस्या हेर्ने मेशीन चलाए वापत स्मीथ एण्ड नेफ्यु भन्ने कम्पनीबाट  एक रोगी बराबर  नै रु २० हजार कमिशन लिने गरेकोले आफुलाई प्रतिष्ठानको तलवको खासै जरुरत नपर्ने भनि बताउदै हिडने गरेको उनका समकक्षीहरु बताउछन ।
यसै गरी अर्का आन्दोलनकारी  हड्डीका डाक्टर रोशन शाह कलुवार प्रतिष्ठानको नियम विपरीत प्रतिष्ठान कै गेट बाहिर टाटा डाईग्नोसिस सेन्टर खोलेर वर्षौ देखि आफनो धन्धा चलाई रहेका छन । डा अजय अग्रवाल जो धरान ९ स्थित मन्जुश्री र नवनीत मेडिकल हलहरुमा दैनिक जाँच गर्ने काम गर्दछन । जबकी वीपी प्रतिष्ठानका डाक्टरहरुलाई बाहिर जाँच गर्ने अनुमती छैन ।

यसै गरी डा सन्दीप शाह र डा लक्ष्मण खनाललाई अर्काको शोधपत्र चोरी गरेको अभियोगमा प्रतिष्ठानले कार्वाही  चलाई रहेको छ । हुँदै नभएको शोधपत्र तयार गरेर उनीहरुले प्रतिष्ठानमा पेश गरी प्रमोशन पाएका थिए । डा विक्रम श्रेष्ठ शिक्षाध्यक्ष भएको बेला उनीहरुलाई  वौद्धिक सम्पती चोरीको अभियोगमा कार्वाहि चलाईएको थियो । तर हाल सम्म कुनै निर्णय गर्न नसकेको कुरा शिक्षाध्यक्षको कार्यालयले बताएको छ ।  

यसै गरी हाल नेपाली काँग्रेस सम्वद्ध कर्मचारी कल्याण मन्चले हालको तालावन्दीको वैकल्पिक उपाय निकाल्न’ पर्ने भन्दै विज्ञप्ती पनि निकालेको छ भने समस्याको समाधान गर्न मार्ग प्रसस्त गर्न पदाधिकारीहरुले राजीनामा पनि दिनुपर्ने कुरा घुमाएर राखेको छ । प्रतिष्ठानको शुद्धीकरण  गर्ने हो भने यहाँका शिक्षक कर्मचारीहरु भित्र देखिएको विकृतिहरुको पनि कडाईका साथ सफाई हुनु पर्ने डा वैकुण्ठ आचार्यको प्रतिवेदनले वँदागत रुपमा सुझाव दिएको छ ।  

रजिष्टारको राजिनामाले ल्याएको तरङ्ग

हुन त प्रतिष्ठान भित्र भ्रष्टाचार हुन थालेको डा वलभद्र दासको पाला देखि हो जसको  छानवीन अख्तियारले गरेर विशेष अदालतमा मुद्धा समेत चलिरहेको छ ।  तर यस पटकको आन्दोलनले भने वर्तमान चार जना पदाधिकारीहरुको राजिनालाई मुख्य मागको रुपमा अघि  सारेको छ । डेढ वर्ष अघि  तत्कालिन  स्वाथ्य मन्त्री भानुभक्त  ढकालको अनुकम्पाबाट  उपकुलपति  भएर आएका डा ज्ञानेन्द्र गिरीले आए देखि नै आर्थिक, नैतिक अनियमितताको सबै  रेकर्डहरु तोडर्दै आएका छन । आन्दोलनकारीहरु सँगको वार्तामा  बोल्नै नसक्ने गरी मादक पदार्थ खाएर आएर वार्ता भाँडिए पछि त झन उनको नैतिक धरातल उदांगो नै भएको थियो । यीनै कारणले पनि आन्दोलनकारीहरुलाई राजिनामा माग्ने बल पुगेको थियो । एउटा जाबो प्रतिष्ठानका पदाधिकारीहरुसंग राजिनामा माग्ने काम स्वास्थ्यमन्त्री देखि लिएर प्रधानमन्त्री सम्मले गरेर नयाँ रेकर्ड नै बनाएका थिए । तर कसैले राजिनामा नदिई रहेको अवस्थामा भाद्र ७ गते राजिष्टार प्राडा मोहनचन्द्र रेग्मीले एकाएक प्रधानमन्त्रीलाई नै भेटेर यस्तो परीस्थितिमा काम गर्न असहज भएको भन्दै राजिना दिएपछि अन्य तीन  जना पदाधिकारीहरुलाई थप नैतिक संकट उत्पन्न गरी दिएका छन ।  राजिनामाको बारेमा बुझन खोज्दा रजिष्टार रेग्मी संग  फोन सम्पर्क हुन सकेन । प्रतिष्ठानका स्त्री रोग विभागमा राम्रो काम गरेर नाम कमाएका डा रेग्मीलाई रजिष्टार बनाउने काम भने उपकुलपति  डा गिरीले नै गरेका थिए । ९ महिना अघि  आएका रजिष्टार रेग्मीले आन्तरीक प्रशासनमा निकै सुधार पनि गर्न खोजेका थिए ।

 तर कमाउ धन्धामा आएका उपकुलपतिको सबै  अनियमित काममा रजिष्टारले बाधा हाल्न थालेपछि उनीहरु बीच  विवाद चुलिन्दै गएको थियो । सोही विवाद सतहमा आउन थालेपछि उनीहरुलाई हटाएर आफु पदाधिकारी बन्ने केहि चिकित्सक कर्मचारीहरुले आन्दोलन गर्न थालेको कर्मचारीहरु बताउछन । देशको राजनीतिक माहोल पनि तत्कालिन प्रधानमन्त्री केपी ओेली विरुद्धमा गएको बेला  उनले भर्ति गरेका पदाधिकारीहरुलाई निकालेर आफनो मान्छे राख्न  धरानका सबै राजनितिक दलहरु पनि  एक जुट भएर लागेका थिए ।

पदाधिकारी विरुद्ध महाअभियोगको तयारी

  प्रधानमन्त्री स्वयमले राजिनामा माग्दा पनि राजिनामा नदिए पछि चार जना पदाधिकारी विरुद्ध ६ जना सिनेट सदस्यहरुले गत हप्ता कुलपति  तथा प्रधानमन्त्री समक्ष निवेदन दिएका थिए । सो निवेदनको आधारमा प्रधानमन्त्रीले अब एक कार्वाहि समिति बनाउने छ । सो समितिले सिनेटको वेैठक बोलाउन लगाई सोहि वैठकबाट  महाअभियोग लगाई उनीहरुलाई निकाल्ने तयारी भईरहेको कुरा प्रधानमन्त्री कार्यालयको सुत्रले जानकारी गराएको छ।  तर नैतिकताको आधारमा रजिष्टारले राजिनामा दिए पनि अन्य पदाधिकारीहरुको राजिनामा नआउनुमा चाहि  करोडौको सिटि स्क्यान र एमआरपी मेशिन खरीद प्रकृया पाईपलाईनमा भएकोले हो भन्ने कुरा विभिन्न  पत्रपत्रिकाहरुले विश्लेषण गरेर लेखेका छन ।  

नयाँ पदाधिकारी ल्याउने काँग्रेसको तयारी  

वामपन्थी रुझान भएका यी चार जना पदाधिकारीलाई निकालेपछि आफनो मान्छेहरु फिट गर्न पनि स्थानीय  राजनीतिक दलहरुमा चलखेल शुरु भएको छ । प्रतिष्ठानका कर्मचारीहरुले दिएको जानकारी अनुसार नेपाली काँग्रेसले प्रतिष्ठानकै अर्थोपेडिक डाक्टर पशुपति  चौधरीलाई उपकुलपति  र श्याम लम्साललाई रजिष्टार बनाउने कसरतमा लागेका छन । तर एमाले र एक थरी मानिसहरु  प्राडा सन्जीव शर्मालाई उपकुलपति  र नागरीक समाजका संयोजक डा राजेन्द्र शर्मालाई रजिष्टारको नाम प्रस्ताव गरेको बताईन्छ ।  

तपाईको प्रतिक्रिया