क्रान्ति सुब्बा

जनवरी  ६ तारीख २०२२


संक्रमित क्याथे प्यासिफिक उडान परिचारिकाकी आमाले कजवे बे रेस्टुरेन्टमा खाना खान गएका व्यक्ति  सहित अन्य चार व्यक्तिलाई संक्रमित गरएकी थिइन।

सेन्टर फर हेल्थ प्रोटेक्शनले जनवरी ६ तारीख बिहीबार ३३ वटा कोभिड-१९  पुष्टि  र ३० भन्दा बढी प्रारम्भिक पोजिटिभ केसहरू रिपोर्ट गरेका थिए ।

जसमध्ये चार वटा प्रारम्भिक पोजिटिभ  केसहरू २८ वर्षीया उडान परिचारिकाकि  ६२ वर्षीया आमासँग संबंधित थिए ।

डिसेम्बर ३०, २०२१ का दिन  विन्डसर हाउसमा भएको इस्ट ओसन लाफेएट भन्ने रेस्टुरेन्टमा एक ६३ वर्षीय पुरुषले  बिहानको खाजा खान बसेका थिए । उनको नजिकैको टेबलमा उडान परिचारिकाकि माता पनि खाजा खान बसेकी थिइन । केही दिन पछि अर्थात जनवरी ४ तारीख मंगलबार ती  ६३ वर्षीय पुरुषमा प्रारम्भिक पोजिटिभ देखा परयो।

सरुवा रोग शाखा प्रमुख  चुआंग शुक-क्वानले डिसेम्बर ३०, २०२१ का दिन  बिहान ९.३० देखि १०.३० बजेसम्म इस्ट ओसन लाफायेटमा गएका जनतालाई कोभिड परीक्षण गराउन र सकेसम्म चाँडो स्वास्थ्य अधिकारीहरूलाई सम्पर्क गर्न आह्वान गरेका थिए ।

ती ६३ वर्षीय पुरुष प्रायः हरेक  बिहान हङकङ सेन्ट्रल लाइब्रेरी  नजिकैको खेल मैदानमा व्यायाम गर्दथे।  उनले जनवरी २ तारीख  आइतबार बिहान ७ बजेदेखि ८ बजेसम्म मनोरञ्जन तथा सांस्कृतिक सेवा विभागले आयोजना गरेको ताइजी( थाइची/ताइची )  कक्षामा सहभागी भएका थिए  । उनी सिसिसि वान्चाई चर्च केई तो प्राइमरी स्कूल र याउ मा तेई स्थित  ग्युउगोकु स्टोन ग्रिल स्टीक पनि गएका थिए।

उनलाई जनवरी ३ तारीख  सोमबार घाँटी दुखेको थियो र भोलिपल्ट युनिभर्सिटी अफ हङकङ मेडिकल सेन्टरमा गएर स्वास्थ्य जाँच गरेका थिए । उक्त क्लिनिकमा गरिएको उनको  नमूना परिक्षण नतिजामा प्रारम्भिक पोजेटिभ  देखिएका थिए ।

अर्का एक ७३ वर्षीया  सेवानिवृत्त महिला जो ब्लक ३, सिटी गार्डेन, नर्थ प्वाइन्टमा बस्छिन्,  डिसेम्बर ३१, २०२१ का दिन उनी फ्लाइट एटेन्डेन्टकी आमासँग एक पटक   कजवे बे सामुदायिक केन्द्रमा व्यायाम नृत्य गरेकी थिइन।

उक्त  सेवानिवृत्त महिलालाई जनवरी ४ तारिख मंगलबार क्वारेन्टाइन सेन्टरमा पठाइएको थियो र त्यसैको भोलिपल्ट  उनको प्रारम्भिक परीक्षण पोजेटिभ आएको थियो। जनवरी ६ तारिख  बिहीबार टाउको दुख्ने समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

उनी डिसेम्बर ३१, २०२१ का दिन थाई कुजिन  र नयाँ वर्षको दिन फोर्ट्रेस हिलको इलेक्ट्रिक रोडमा रहेको फेयरवुड रेस्टुरेन्टमा गएकी थिइन। उनी डुलेका अन्य स्थानहरू हुन-  पास्ता एन्ड ओइस्टर हाउस नर्थ पोइन्ट ,डिसिप्लिन्ड सर्भिसेस स्पोर्टस एन्ड रिक्रीएसन क्लब र चाइनिज रेस्टुरेन्ट फोर सिजन फ्लावर कजवे बे।

तेस्रो सम्बन्धित केस ह्याप्पी भ्यालीको फङ फाई टेरेसमा बस्ने ६७ वर्षीया गृहिणी हुन। उनले नयाँ वर्षको दिन कोजवे बे स्थित  वेल्दी  गार्डेन रेस्टुरेन्टको दुईवटा टेबलमा  १४ जना नृत्य गर्ने साथीहरूसँग बसेर खाना खाएकी थिइन।

उनी वोङ नाइ चुङ मार्केट, वोङ नाइ चुङ स्पोर्ट्स सेन्टर, कजवे बे मार्केट र हङकङ बाल अस्पताल गएकी थिइन।

चौथो केस ताइ पो स्थित  मेई सन बिल्डिङमा बस्ने एक इन्डोनेसियाली घरेलु कामदार हुन ।  जनवरी २ मा उनको संपर्क मोङ कोक स्थित चर्चमा विमान परिचारिकाकि आमाको साथीकोमा काम गर्ने संक्रमित घरेलु कामदारसँग भएको थियो।

उनी ताई पोको ताई युन एस्टेट मार्केट  र ताई वो स्पोर्ट्स सेन्टरको टेस्टिङ सेन्टर  गएकी थिइन।

लक डाउन

संक्रमित क्याथे प्यासिफिक उडान परिचारिकाकी आमासँग जोडिएका प्रारम्भिक पोजिटिभ केसहरूलाई लिएर ६ तारीख बिहीबार राती पाँचवटा भवनहरूमा लक डाउन  जारी गरिएको थियो ।

  ती पाँच वटा  भवनहरू निम्न छ्न:

– ब्लक ३,  सिटी गार्डनको  फेज १, नर्थ पोइन्ट

– पिक अन हाउस ब्लक सी, यून अन कोर्ट, आप लेइ चाउ

–  फंग फाई टेरेस, ह्यापी भ्याली

– मेइ सन बिल्डिङ, काउ हुई चिक स्ट्रीट, ताइ पो काउ

– काम फङ कोर्ट , साई शा रोड, मा ओन शान

नर्थ प्वाइन्ट, आप लेई चाउ, ह्याप्पी भ्याली र ताइ पोमा रहेको लकडाउन शुक्रबार बिहान ७ बजे र मा अन सानमा बिहान ८ बजे हटने अपेक्षा गरिएको थियो ।

यस  लक डाउनमा खोप लगाएका बासिन्दाहरूले पनि परीक्षण गर्नु परेको थियो । ४ जनवरी  मङ्गलबार  देखि   ६ जनवरी बिहीबार बीचको अवधिमा परिक्षण नतिजा  नेगेटिभ आएको छ भने मात्रै पुनः परिक्षण गर्नु पर्दैनथ्यो।

  डिसेम्बर ३०, २०२१ देखि डिसेम्बर ६ तारीख बिहीबार   बीचमा नर्थ प्वाइन्ट, आप लेई चाउ र ताइ पोका तीनवटा भवनहरूमा  साथै ह्याप्पी भ्याली ब्लकमा  डिसेम्बर २८ देखि  डिसेम्बर ६ तारीखको बीचमा दुई घण्टाभन्दा बढी समयसम्म बिताएका जोकोही  नागरिकहरूले अनिवार्य परिक्षण गराउनु पर्थ्यो।

डिसेम्बर २९, २०२१  र जनवरी ६ तारीखको बीचमा मा अन शान ब्लकमा गएकाहरूले पनि कोभिड परीक्षण गर्नुपरेको थियो ।
तिनीहरू सबैले शनिबार (जनवरी ८) सम्ममा अनिवार्य परीक्षण गर्नुपर्ने सूचना जारी गरिएको थियो ।

नर्थ प्वाइन्टमा रहेको आवासीय भवनमा ७३ वर्षीया सेवानिवृत्त महिलाको परीक्षण पोजेटिभ देखिएपछि लक डाउन गरिएको थियो । उनले डिसेम्बर ३१,२०२१का दिन एक पटक कजवे बे कम्युनिटी सेन्टरमा क्याथे फ्लाइट परिचारिकाकि  आमासँग नाचेका थिइन।

उनलाई मंगलबार क्वारेन्टाइन सेन्टरमा पठाइएको थियो र बुधबार उनको प्रारम्भिक परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । उनमा  लक्षण देखा परेपछी   बिहीबार अस्पतालमा भर्ना गरिएको थियो।

नयाँ वर्षको दिन कजवे बेको वेल्दी  गार्डेनमा दुई वटा टेबुल ओगटेर  १४ जना संगै नृत्य गरेका  साथीहरूसँग खाना खाएकी ६७ वर्षीया महिलाको कारणले ह्यापी भ्यालीको लक डाउन भएको थियो।

इन्डोनेसियाली घरेलु कामदारको रिपोर्ट  प्रारम्भिक पोजिटिभ आएपछि   ताई पो आवासीय ब्लकमा लक डाउन गरिएको थियो। यी घरेलु कामदारले उडान परिचारिकाकि आमाको साथीकोमा काम गर्ने अर्कि  संक्रमित घरेलु कामदारलाई जनवरी २ तारिख मंक कोकको एक चर्चमा भेटेकी थिइन।

लक डाउनमा कोहि पोजिटिभ भेटिएन

हङकङभरी एकैरात पाँच स्थानमा लक डाउन ६ तारीख बिहीबार गरिएको थियो । ती पाँच स्थान हुन-आप लेइ चाउ, ताई पो, नर्थ प्वाइन्ट, ह्याप्पी भ्याली र मा अन शान । करिब ३,३३० जना माथि परिक्षण भएको थियो तर एक जना पनि पोजेटिभ भेटिएको थिएन । शुक्रबार बिहान लकडाउन हटाइएको थियो ।

स्वास्थ्य अधिकारीले दिएको जानकारी अनुसार  पिक अन हाउसको ब्लक सी, आप लेई चाउको यू अन कोर्ट रोडमा रहेको यू अन कोर्टका ७२० जना बासिन्दा  र ताई पोको काउ हुई चिक स्ट्रीटमा रहेको मेई सन बिल्डिंगमा ४९०जना बासिन्दाहरूको परीक्षण गरिएको थियो ।

नर्थ प्वाइन्टमा, इलेक्ट्रिक रोडमा रहेको सिटी गार्डनको फेज १, ब्लक ३ का करिब ५९० बासिन्दालाई परिक्षण  गरिएको थियो।  ह्याप्पी भ्यालीको फङ फाई टेरेसमा रहेको भवनका १५ जना बासिन्दालाई मात्र परीक्षण गरियो।

मा अन शान , साई शा रोडको काम ह्युन हाउस (ब्लक एफ), काम फङ कोर्टमा करिब १,५२० व्यक्तिको परीक्षण गरिएको थियो।

माथि जनित प्रत्येक भवनमा बस्ने व्यक्तिहरू कोरोनाभाइरसको म्युटेन्ट स्ट्रेनद्वारा  प्रारम्भिक पोजिटिभ भएपछि लक डाउन गरिएको  थियो।

७ जनवरी २०२२

हङकङमा जनवरी ७ तारीख शुक्रबार  ३३ वटा कोभिड संक्रमित केस देखा परेका थिए । जसमा ७ वटा केसहरु आयातित केससंग संबंधित थिए भने बाँकी २६ वटा केसहरु आयातित थिए ।

हङकङमा शुक्रबार ३० वटा प्रारम्भिक पोजेटिभ केस रिपोर्ट भएका थिए जसमा हङकङका विभिन्न सुपरमार्केटमा काम गर्ने एक ५८ वर्षीया महिला परेकी थिइन। तर यी महिलालाई कुन स्रोतबाट कोभिड संक्रमण भएको हो पत्ता लाग्न सकेको थिएन ।

उनी वान चाइको ली शुन बिल्डिङमा बस्छिन र शहरको विभिन्न स्थानमा रहेका  म्यानिङस, पार्कनशप, वेलकम र यू सेलेक्टका विभिन्न आउटलेटहरूमा काम गरिसकेकी छिन।

उनी वान चाइ मार्केट, वान चाइको विशफुल रेस्टुरेन्ट र हङकङको ब्रान्ड एण्ड प्रोडक्ट एक्सपोमा पनि गएकी थिइन।

चुनन मुनमा बस्ने सर्वेक्षककी चार वर्षीया छोरीमा पनि प्रारम्भिक पोजेटिभ देखिएको थियो।  उनी पछिल्लो पटक मंगलबार शुन ताक फ्रेटरनल एसोसिएसन चुन मुन ल्यङ ली साउ यु किन्डरगार्टन गएकी थिइन।

उनको कक्षाका केही शिक्षक र ३५ जना विद्यार्थीलाई क्वारेन्टाइन सेन्टरमा पठाइएको थियो भने विद्यालयका अन्य विद्यार्थी र शिक्षकहरूलाई  अनिवार्य परीक्षण गराउने आदेश दिइएको थियो ।

अर्को एक केसमा ३२ वर्षीया महिला परेकी थिइन।  उनमा विटम्यान हग वाइ-म्यानको जन्मदिनको पार्टीमा गएकी ३७ वर्षीया कोभिड पुष्ठि  महिलाबाट शंकास्पद तरिकाले   भाइरस सरेको थियो । ती ३२ वर्षीया महिला चाइ वानमा बस्छिन  र वाइ एलिटस एसोसिएसनमा (Y.Elites Association) मा काम गर्छिन।

एक ३७ वर्षीया पुष्टि भएकी महिलाको हकमा  उनी सेन्ट्रलको विङ युन टी हाउसमा काम गर्छिन र तिन हाउको सेरेन कोर्टमा बस्छिन। उनकी आमालाई यस अघि पनि कोभिड-१९ पोजेटिभ भएको थियो।

अन्य पुष्टि भएका केसहरूमा बिहिवार  रिपोर्ट गरिएका पाँच वटा प्रारम्भिक पोजिटिभ  केसहरू समावेश थिए। ति पाचै जना संक्रमित क्याथे प्यासिफिक उडान परिचारिकाकि आमासँग संग जोडिएका थियो।

उनीहरु आप लेई चाउमा बस्ने  ६३ वर्षीय पुरुष, ह्याप्पी भ्यालीमा बस्ने ६७ वर्षीया महिला, नर्थ पोइन्टमा बस्ने ७३ वर्षीया महिला र ताइ पोमा बस्ने इन्डोनेसियाली घरेलु कामदार थिए।

मा ओन शानमा बस्ने ४९ वर्षीया महिला पनि पुष्टि भएका केसहरू मध्ये एक थिइन।  फेस्टिभल वाकको मुन प्यालेसमा खाना खाएका एक रिनोभेसन वर्कर  डिसेम्बर २९, २०२१ मा उनको घरमा प्रवेश गरेका थिए । तिनै मिस्त्रीबाट उनलाई कोरोना भाइरस लागेको विश्वास गरिएको छ।

उनीहरु बसेका पाँच जिल्लाका घरहरूमा  बिहिवार  राति लक डाउन गरिएको थियो र कुनै पनि नागरिकमा पोजेटिभ देखिएको थिएन ।

यसैबीच, आयातित केसहरूमा जर्मनीबाट एक फ्लाइट क्रुमेन , अमेरिकाबाट पाँच जना, फिलिपिन्सबाट सात र  फ्रान्स, फिनल्याण्ड र बेलायतबाट आठ जना थिए।

७ तारीख शुक्रबारसम्ममा जम्म्म १४० ओमिक्रोन केस संख्या पुगेको छ भने कुल कोभिड केस संख्या १२,८६५ पुगेको छ।

जनवरी ८ शनिबार

३७ कोभिड केस र एक केसको स्रोत अपुष्ट

स्वास्थ्य अधिकारीहरूले शनिबार ३७ वटा नयाँ कोभिड पुष्टि केसहरु  रिपोर्ट गरेका थिए । जस अन्तर्गत  शहरका विभिन्न सुपरमार्केटका आउटलेटहरूमा काम गर्ने एक स्थानीय अज्ञात स्रोतवाला ५८ वर्षीया महिलाको  केस पनि समावेश छ।

यो अज्ञात स्रोतबाट संक्रमित केस बाहेक ३० वटा आयातित केसहरू थिए भने ६ वटा आयातित केससंग  सम्बन्धित केसहरू थिए । आज ३० जनामा प्रारम्भिक पोजिटिभ देखिएको थियो जसमा हिन्स च्यङ किंग-हिनको कन्सर्टमा गएकी एक महिला पनि परेकी थिइन।

वान चाइको लोकहार्ट रोडमा रहेको ली शुन बिल्डिङमा बस्ने ५८ वर्षीया खोप नलगाएकी महिलाले ह्याप्पी भ्याली, हो म्यान तिन, कजवे बे र चिम शा चुइका विभिन्न  सुपरमार्केटहरूमा गएकी थिइन।  उनी पछिल्लो पटक बिहीबार काममा गएकी थिइन ।  सोही दिन लक्षण देखिएपछि रतोन्जी अस्पतालमा उपचारका लागि गएकी थिइन।

उनको नमूना संकलनमा सिटि भ्यालु १७ देखाएको थियो  जुन  उच्च भाइरल लोडको संकेत हो। उनमा  N501Y र T478K नामक कोभिड भाइरसको उत्परिवर्तीत स्ट्रेन पनि देखिएको थियो जुन सम्भावित ओमिक्रोन संक्रमणको संकेत हो। उनी हङकङको ब्रान्ड एन्ड प्रोडक्ट एक्स्पो, तिन लोक लेनमा रहेको डाइन इन, वान चाइ रोडमा रहेको जोयस रेस्टुरेन्ट, लकहार्ट रोड मार्केट र वान चाइ मार्केटमा पनि गएकी थिइन।

आयातित केससंग सम्बन्धित केसहरूको सम्बन्धमा एउटा केस  मुन प्यालेस क्लस्टरसँग सम्बन्धित थियो जुन क्लस्टर  क्याथे प्यासिफिकका एक जना  पुरुष एयरक्रू सदस्यबाट उत्पन्न भएको थियो। आजको  केस अन्तर्गत एयर क्रु मेम्बरका  परिवारको सदस्य संलग्न थिए जसले मुन प्यालेसमा पनि  खाना खाएका थिए र फेस्टिभल वाक स्थित  एप्पल स्टोरको भ्रमण गरेका थिए।

ती एयर क्रु मेम्बरको परिवारको सदस्यलाई डिसेम्बर२९, २०२१  मा क्वारेन्टाइन सेन्टरमा पठाइएको थियो र नयाँ वर्षको दिनमा उनमा लक्षणहरू विकसित भएको थियोे।

अर्को आयातित केससंग सम्बन्धित केसमा चुन मुनमा बस्ने सर्वेयरकी चार वर्षीया छोरी समावेश छन।  उनलाई मंगलबार क्वारेन्टाइन सेन्टरमा पठाइएको थियो र भोलिपल्ट अस्पताल भर्ना भएपछी परीक्षण गर्दा उनमा  पोजेटिभ देखिएको थियो ।

सिटिक (CITIC) सेक्युरिटीजका एक कर्मचारी पनि आयातित केससंग  सम्बन्धीत केसमा परेका थिए ।   उनको सहकर्मीकी श्रीमतीले एक पटक तिन हाउको सिक्स गार्डेन रेस्टुरेन्टमा संक्रमित क्याथे फ्लाइट परिचारिकाकि  आमासँग बसेर  खाजा खाएकी थिइन।

अर्का आयातित केससंग संबंधित केसमा संलग्न थिए वाइ एलिटस  एसोसिएसन लिमिटेडका 32 वर्षीय कर्मचारी ।  ब्रान्ड एन्ड प्रोडक्ट एक्सपोमा उनको सम्पर्क एक जना ३७ वर्षीया महिलासँग भएको थियो जुन ३७ वर्षकी महिला विटम्यान हुङ वाइ-म्यानको जन्मदिनको पार्टीमा गएकी थिइन।

आज देखापरेका २ जना प्रारम्भिक पोजिटिभ केसको सम्बन्ध संक्रमित इन्डोनेसियाली घरेलु कामदारसँग जोडिएको थियो । ती दुई जनामा एक जना घरेलु कामदारकि मालिक्नी थिइन भने अर्का तिनै मालिक्नीका छोरा  थिए जो ताइ पोको मेई सन भवनमा बस्छन।

ती मालिक्नी महिला यसअघि सोमबार राति हङकङको हङकङ कोलिजियममा आयोजित  हिन्स च्यङको कन्सर्टमा आफ्ना श्रीमानसँग गएकी थिइन । उनको बसाइ ४६ पार्श्व सिट पङक्ति २० मा अवस्थित थियो। उनको कारणले  कन्सर्टमा गएका अन्य नागरिकहरूले पनि परीक्षण गर्नुपर्ने भएकोछ।

उनको १३ वर्षीय छोरा ताई पोको सलेम-इम्मानुएल लुथरन कलेजमा जान्छन र उनी अन्तिम पटक मंगलबार विद्यालय गएका थिए। उनका सहपाठी र शिक्षकहरूलाई पनि क्वारेन्टाइन सेन्टर मा पठाइने भएको छ।

जनवरी ८ तारीख सम्मको रेकर्ड अनुसार हङकङमा २२३ वटा ओमिक्रोन केसहरू रिपोर्ट गरिएको छ भने कोभिड केसको कुल  संख्या १२,९०२ पुगेको छ।

तपाईको प्रतिक्रिया