१९ फेब्रुअरी शनिबार हङकङ । क्रान्ति सुब्बा ।

हङकङमा फेब्रुअरी १९ तारीख  शनिबार जम्मा ६,०६३ वटा केस देखा परेको छ। अस्पतालमा भर्ना हुन आएका कोभिड बिरामीहरुलाई अहिले बाहिर पट्टी बेडमा राख्नु पर्ने अवस्था छैन । शनिबार बिहान सम्पूर्ण प्राय विरामीलाई अस्पताल भित्र सारिएको थियो । अस्पताल भित्र पनि कतिपयले अहिले करिडोर र बाथ रुममा बस्नुपर्ने अवस्था छ। अस्पताल बाहिर रहेका टेन्टहरुलाइ भने संकटमा विरामीलाई राख्ने जग्गा रूपमा प्रयोग गरिने भएको छ।

भर्ना हुन आउने सबैलाई यसरी इनडोर सुविधाहरूमा राखेकोमा स्वास्थ्य अधिकारीहरुले  अग्रपंक्ति चिकित्सकहरूप्रति कृतज्ञता पनि व्यक्त गरे।

सेन्टर फर हेल्थ प्रोटेक्शनका चुआङ शुक-क्वानले दिएको जानकारीअनुसार अनुसार ६,०५९ जना स्थानीय संक्रमण अन्तर्गत परेका थिए  । आजको आयातित केस संख्या ४ थियो भने प्रारम्भिक पोजिटिभ केस संख्या ७,४०० थिए ।

चुआङले आज थप ३० वटा वृद्ध आश्रमहरुमा संक्रमण सल्किएको जनाइन । हालसम्म १९० वटा संक्रमित वृद्ध गृहहरुबाट १२० जना कामदार र ४५० जना बासिन्दाहरू संक्रमित भइसकेका छ्न।
एल्डरली होमबाट गत वर्ष डिसेम्बर ३१ देखि यता जम्मा ४६ जनाको  मृत्यु भएको छ। ती मृत्यु हुनेमा  केवल ६ जनाले मात्र खोप ग्रहण गरेका थिए । जसमा तीन जनाले सिनोभ्याक भ्याक्सिनको दुई डोज लगाएका थिए  भने दुई जनाले पहिलो डोज मात्र ग्रहण गर्न भ्याएका थिए। एक जनाले  बायोएनटेक भ्याक्सिनको दुई डोज लगाएका थिए ।

सारा हो युन-हा

हालसम्म होम आइसोलेसनमा रहेका बिरामीको संख्या ९,६८५ पुगेको छ र १४ दिनको आइसोलेसनपछि उनीहरुको रिजल्ट नेगेटिभ आएमा उनीहरु आफ्नो वतन  छाडन स्वतन्त्र हुनेछ्न चुआङले भनिन।

अस्पताल प्राधिकरण, बिरामी सुरक्षा तथा जोखिम व्यवस्थापन प्रमुख प्रबन्धक सारा हो युन-हाले गत २४ घण्टामा १५ जनाको मृत्यु भएको बताइन। हङकङमा कोभिडबाट मृत्युवरण गर्नेको संख्या २८० पुगेको छ भने कुल संक्रमित संख्या ४६,७६३ पुगेको छ। अस्पतालका १६० भन्दा बढी कर्मचारीहरूमा प्रारम्भिक पोजिटिभ देखिएको  थियो। अस्पतालमा भर्ना भएपछि  करिब ३० जना बिरामीहरू संक्रमित भएका थिए र अस्पतालका ६० भन्दा बढी गैर-कोविड बिरामीहरू  नजिकको सम्पर्क  सूचीमा परेका थिए ।
उनले अगाडि भनिन अहिलेसम्म पब्लिक अस्पताल र  उपचार सुविधाहरूले जम्मा ३,११२  पुष्टि केसहरु जिम्मा लिएका छ्न। जस मध्ये २,४०० बिरामीहरू हाल पेन्नि बे कम्युनिटी आइसोलेशन सुविधामा छ्न ।  होका अनुसार चुन वान आइसोलेशन सुविधामा करिब ११० जना बिरामी राखिएको छ।

अस्पतालहरूले २६४ जना  निको भएका बिरामीहरूलाई डिस्चार्ज गरिसकेका छ होले उल्लेख गर्दै भनिन। र सार्वजनिक अस्पतालहरूको आइसोलेसन बेड ९०  प्रतिशत ओगटिसकिएको बताइन।

कारिटास मेडिकल सेन्टर अगाडिको टेण्टमा पालो कुरेर बसेका बिरामी

“चिकित्सकहरूले हिजो राती देखि निकै  कडा परिश्रम गरिरहेका छ्न र विगत केही दिनदेखि अस्पताल बाहिर टेन्टमा पर्खिरहेका सबै बिरामीहरूलाई अहिले  भित्र सारिसकिएकोछ। र अहिले बाहिर पर्खिरहेकाहरू पनि व्यवस्थापनका लागि हुन या त परीक्षणको लागि पालो कुरेर बसेकाहरु हुन” होले भनिन।

“वास्तवमा विरामीहरूलाई अस्पतालको इन्डोर हाताभित्र सार्ने प्रक्रिया कठिन छ र म सहकर्मीद्वारा भएको यस प्रयासको लागि र बिरामीहरूले पनि अवस्थालाई बुझिदिएकोमा धन्यवाद दिन्छु,” होले थपिन।

उनले बाहिर ज-जसले बाहिर पर्खनु परेको थियो ती  बिरामीहरूसँग पनि माफी मागिन  र यो संकट समाधान हुन बाँकी नै भएको कारणले त्यस्तो भएको थियो भनेर बुझ्ने आशा व्यक्त गरिन।

“हङकङको संकट अझै टरिसकेको छैन। दिनहुँ फेरि हजारौं बिरामी ओइरिए भने हाम्रा आइसोलेसन फेसिलिटीहरु फेरि भरिनेछ्न र अस्पतालको एक्सिडेन्ट र इमर्जेन्सी बिभाग पनि फेरि बिरामीहरुले भरिनेछ्न।” होले चिन्ता व्यक्त गरिन।
शुक्रबार करिब २७,००० कोभिड बिरामीहरु खुला आकाश मुनि आफ्नो भर्नाको पालो कुरेर अस्पताल बाहिर बस्नु परेको थियो ।

तपाईको प्रतिक्रिया