क्रान्ति सुब्बा । हङकङ ।

हङकङका धेरै मानिसहरूले सोमबार बिहान भुकम्पको कम्पन महसुस गरे। हङकङवासी नेपालीहरुले पनि यस्तो अनुभव गरेको कुरा आफ्नो फेसबुक वालमा लगाएको पाइयो।  चीनको ग्वाङडोङ प्रदेशको हुइडोङ काउन्टीमा पर्ने हुइजोउ शहरको तट नजिकैको सागरमा ४.१  म्याग्निच्युडको भूकम्प गएपछि त्यसको कम्पन  हङकङ सम्म आइपुगेको थियो ।

जोर्डन निवासी चन्दा सुब्बा इजमले मोबाइलमा युट्युव हेरिरहेको बेला अचानक उनको मोबाइल हल्लिएको बताइन। तर्सिएर दुइटा मोबाइल हातमा बोकेर सिटिङ रुमको भुइँमा बसिरहेकी छोरी नेहालाई आफ्नो अनुभव सुनाइन। तर छोरीले पत्याइनन । हङकङमा पहिलो चोटि यति स्पष्ट ढंगले भुकम्प महसुस गरेको उनले बताइन।

चन्दा सुब्बा इजम


अर्कि जोर्डन रोड निवासी वनेम सुब्बा कामेका पनि सो समयमा भर्खर बिस्तारामा पल्टिएकी थिइन । बाटोमा बस कुदेकोले थर्किएको जस्तो उनलाइ लागेको थियो । तर चकमन्न रातमा बस या कुनै त्यस्तो सवारी साधन चलेको थिएन । उनलाई भुकम्प हो कि जस्तो चाहिँ लागेको थियो । तर हङकङमा भुकम्प आउदैन भन्ने सुनेकोले वास्ता नगरेको अनुभव सुनाइन।

वनेम सुब्बा कामेका

मङकोक निवासी साइसा सुब्बाको अनुभव अलिक परक छ। ” म त निद्रा नलागेर मोबाइल चलाइरहेको थिएँ बत्ती मारेर। अचानक घटकटक गरेको आवाज आयो” उनले भनिन। भुकम्प हो भनेर उनको दस मनमा एक मनले पनि सोचेन। उनलाई त पहिला आफू बसेको फ्लाटमा कोहि मरेको थियो र उनीहरुको आत्माले चाल दिएको हो कि भन्ने लाग्यो।

” अनि जुरुक्क उठेर बत्ती बालेँ। त्यतिन्जेलमा हराइगयो । जेहोस पाँच सेकेन्ड सम्म हल्लियो होला।” उनले थपिन।

हङकङ आएपछि पहिलो चोटि भुकम्प भोगेकी हुन सुब्बाले । बिहान साउथ चाइना मर्निङ पोस्टमा पढेपछि मात्र उनलाई भुकम्पको असर रहेछ भन्ने थाहा भयो। पानीजहाजमा यात्रा गरिरहेको बेला छालले हान्दा जहाजको अवस्था कस्तो हुन्छ हो त्यस्तै भएको थियो उनको बेडको अवस्था ।

साइसा सुब्बा

भुकम्पको केन्द्र विन्दु हङकङ भन्दा ९२ किलोमिटर टाढा उत्तरपुर्वमा रहेको थियो र केन्द्र विन्दुको गहिराइ २.५ किलोमीटर रहेको थियो अथवा २.५ किलोमीटर मुनि भुकम्प घटेको थियो । कम्पन समग्र हङकङ भरी महसुस गरिएको थियो ।

चीनको दक्षिणपुर्वी समुद्र किनारमा गएको यो भुकम्पलाई चाइना भूकम्प नेटवर्क सेन्टरले बिहान २.२८ बजे रेकर्ड गरेको थियो । र यसको म्याग्निच्युड ४.१ रहेको उल्लेख गरेको गरेको थियो ।

मार्च १४ तारीख विहान हङकङ समय २.२९ बजे हङकङको बेधशाला (अब्जर्भेटरी) ले रेकर्ड गरेको यो कम्पनको सम्बन्धमा करिब ८,००० वटा रिपोर्ट भूकम्पको धक्का प्रत्यक्ष महसुस गर्ने स्थानीय बासिन्दाबाट  प्राप्त गरेको थियो ।

केही सेकेन्ड सम्म रहेको यस्तो  कम्पन हङकङमा सन १९७९ देखि यता ८५ चोटि महसुस गरिएको छ।

भुकम्पले उत्पादन गरेको कम्पन मापन गर्ने विधि मर्काली स्केल ( मोडिफाइड मर्काली इन्टेन्सिटी स्केल)का अनुसार हङकङमा महसुस गरिएको कम्पनको स्तर लेभल ४ हो। यो स्तरको कम्पनले घरको झ्याल ढोकाबाट आवाज आउने ,झुन्डिएका सामानहरु हल्लिने गर्दछ।

हङकङमा जनधनको क्षति हुने स्तरको भुकम्प जाने संभावना नगण्य छ। त्यो स्तरको भुकम्प ५०० देखि ६०० वर्षको अन्तरमा आउने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया