क्रान्ति सुब्बा


ओमिक्रोनले हङकङमा ल्याएको पाँचौ लहरबाट करिब ४० लाख हङकङ नागरिक संक्रमित भएको हुनसक्ने कुरा स्वास्थ्य अधिकारीहरु स्वीकार्छन, यति हो सबैजसो नागरिक  संक्रमित भए पनि घरमै गुपचुप बसेका छ्न। सरकारलाई पोजिटिभ रिपोर्ट नगरी बसेका छ्न। शहरको व्यापार व्यवसायहरु एकपछि अर्को टाट पल्टिने क्रम जारी छ। महामारीको प्रतिकुल असर नागरिकको मानसिक स्वास्थ्यमा पर्न थालेको छ विशेष गरि न्यून आय भएको परिवारमा। महामारी नियन्त्रणका नियमहरु विना विकल्प कडाइ मात्र तुल्याउदै लगिएकोमा लाम प्रशासन चौतर्फी  अलोकपृय बन्दै गइरहेको अवस्थामा केहि गर्नै पर्ने दवाव आए पछि   हङकङकि कार्यकारी प्रमुख  क्यारी लामले मार्च  २१ तारिख मुलरुपमा सामाजिक दूरी र महामारी रोकथामका मापदण्डहरू बारे नयाँ कदम  चाल्न  दैनिक हुने  महामारी विरोधी पत्रकार सम्मेलनमा उपस्थित भएकी थिइन । पाँचौं लहरका कारण परिस्थिति गम्भीर हुदै गएपछि गत फेब्रुअरी २० मा महामारी रोकथामका कडा उपायहरु श्रृङखलाबद्व ढंगले ल्याइएता पनि हालमा कोभिड–१९ सङक्रमण पुष्टि हुनेको सङख्या क्रमशः स्थिर हुँदै आएको  लामले बताइन।

क्यारी लामले प्रकोप अझै गम्भीर रहेको र महामारी  विरुद्धको लडाइँ निरन्तर जारी राख्नुपर्नेमा जोड दिइन । केस संख्या नबढने गरि घटेर गएको सुनिश्चित भएपछि मात्र कोभिड नियम खुकुलो बनाउदै जानुपर्छ । अनिवार्य मास परीक्षण (compulsory universal testing ) योजना  पनि तत्कालको लागि  निलम्बन गरिएको छ। मास टेस्टिङको लागि अधिकांश पुर्व  तयारी भइसकेको भएता पनि मुल भूमि चीनबाट आएका र स्थानीय दुबै विज्ञहरूले यस्तो परिक्षण प्रकोपको प्रारम्भिक चरणमा गर्नु उपयुक्त हुन्थ्यो । अहिलेको यो स्थितिमा हङकङसंग भएको सीमित स्रोतहरू मास टेस्टिङमा लगानी गर्न उपयुक्त हुन्न। सरकारले उपयुक्त समय आएपछि फेरि अनिवार्य मास टेस्टिङ ( CUT ) लागू गर्नेबारे विचार गर्नेछ उनले भनिन।

उनले हङकङ सरकारले महामारी विरोधी क्षमतामा उल्लेख्य  सुधार ल्याएको पनि जानकारी दिइन ।  परीक्षण सञ्चालनमा मुल भूमि चीनको यथेष्ट समर्थन रहेको उल्लेख गर्दै रयापिड एन्टिजेन परीक्षण किटको मूल्य पनि पुरै घटेको बताइन। अर्को हप्तादेखि यो महिनाको अन्त्यसम्ममा हङकङका सबै घरपरिवारमा र्‍यापिड एन्टिजेन टेस्ट किट सहित एन्टि-एपिडेमिक सेवा किटहरू वितरण गरिनेछ।  होम क्वारेन्टाइनमा बसेकाहरुको लागि सरकारले प्रदान गर्ने सहयोगमा सुधार आएको र विगत तीन दिनमा स्वास्थ्य विभागले पुष्टी भएकाहरुलाई रिसोर्स किटहरु पूर्ण रुपमा वितरण गरिएको उनले बताइन।

सर्किट ब्रेकर मेकानिजम अन्तर्गत  हङकङ आवतजावत गर्ने नौ देशको उडानमा हङकङले प्रतिबन्ध लगाएको थियो जुन प्रतिबन्ध औचित्यहिन साबित   भइसकेकोले सरकारले यही अप्रिल १ तारीखदेखि प्रतिबन्ध हटाउने निर्णय गरेको लामले बताइन। संबंधित देशको कोभिड परिस्थिति हङकङको भन्दा खराब नभएकोले पनि यो निष्कर्षमा पुगिएको उनको तर्क थियो । लगातारको प्रतिबन्धले हङकङ फर्कन चाहने हङकङका बासिन्दाहरूलाई चिन्तामा पार्नेछ। यसका अलावा  हङकङले हालमा जारी गरेको महामारी रोकथाम सम्बन्धि नियमहरू विदेशबाट आउनेहरूका लागि स्थानीय पुष्टि भएका केसहरू भन्दा कडा छन जसले हङकङको व्यापारिक वातावरणलाई असर गर्नेछ। महामारीविरुद्ध लडने विषयमा सिंगो समाजको विश्वासलाई कायम राख्न सक्ने उनले आशा गरेकी छिन फलस्वरूप जनताले सरकारले अपनाउने भावी दिशालाई बुझ्न सक्नेछ्न।

विदेशबाट आउने सबैलाई अब ए,बी,सी जोनमा विभाजन गरिने छैन। हङकङका बासिन्दाहरू खोपको कोर्स  पूरा भएपछि विमानमा चढन सक्छन।  प्रस्थान गर्नु अघि ४८-घण्टा अवधि अघिको न्यूक्लिक एसिड टेस्ट नेगेटिभ भएको कागजात पेस गर्नुपर्छ।  हङकङ आइपुगेपछि उक्त यात्रुले १४ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ र सरकारले एयरपोर्टमा एन्टि–एपिडेमिक किटहरू पठाइदिने छ। एयरपोर्टमा गरिएको परिक्षण नेगेटिभ आएमा उनीहरुलाई क्वारेन्टाइन होटेलमा लगिनेछ। क्वारेन्टाइन बसेको बेला बिदेशबाट आएका सबैले दैनिक रयापिड एन्टिजेन टेस्ट गर्नु पर्छ। पोलिमरेस चेन रिएक्सन ( पिसिआर) टेस्ट हङकङ आएको पाचौं र १२ औं दिनमा गर्नुपर्दछ। सबै आरएटी र क्वारेन्टाइन बसेको  छैटौं र सातौं दिनको परिक्षण नतिजा  नेगेटिभ आउने बित्तिकै  उनीहरूले तोकिएको क्वारेन्टाइन होटल छोडन सक्छन।  त्यसपछि उनीहरुले थप ७ दिनसम्म घरमै स्व-निगरानीमा बस्नुपर्ने छ। घरमा एकान्तवास बसेको अवधिमा उनीहरुले आफ्ना  सामान्य दैनिक गतिविधि जारी राख्न  सक्छन अर्थात घर बाहिर पनि जान सक्छ्न। र हङकङ छिरेको  १२ औं दिनमा कम्युनिटी टेस्टिङ सेन्टरमा गएर परीक्षण गर्नुपर्ने छ।

महामारीको अवस्था अझै गम्भीर रहेकोले २० फेब्रुअरीमा ल्याइएका धेरैजसो महामारी विरोधी नियमहरू अप्रिल २० तारीखसम्म कायम रहनेछ उनले भनिन। आगामी ३० दिनको अवधिमा गम्भीर अवस्थामा भएका रोगीलाई र हल्का लक्षण भएकालाई विशेष उपचार गरेर सामान्य बनाउने र मृत्युदरलाई कसरी हुन्छ कम गर्ने कुरामा  ध्यान केन्द्रित गरिनेछ।  सरकारको ध्यान  विशेषगरी वृद्धवृद्धाको  खोप दर बढाउने कुरामा  पनि केन्द्रित हुनेछ।

स्मरण रहोस सरकारले यो भन्दा अगाडि अष्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत,नेपाल , पाकिस्तान, फिलिपिन्स, युनाइटेड किंगडम र संयुक्त राज्य अमेरिकाबाट चल्ने उडान माथी उडान  निलम्बन संयन्त्र अन्तर्गत अप्रिल २० तारीख सम्मको लागि प्रतिबन्ध लगाएको थियो ।

सामाजिक दूरी संबंधी नियमहरू बारेमा उनले भनिन कि  पुष्टि भएका केसहरूको संख्या घटेको भए पनि अझै केस संख्या  उच्च छ र आज नै सामाजिक दूरी सम्बन्धि नियमहरुलाइ खुकुलो पार्न  गाह्रो छ । यदि संक्रमित संख्या दिनानुदिन घटदै गएमा महामारी सम्बन्धि मापदण्डलाई तीन चरणमा तीन महिना लगाएर खुकुलो पारिने छ र  अप्रिल २१ तारीखबाट त्यो योजना  सुरु हुनेछ। तर भ्याक्सिन  पास र लिभहोमसेफ (LeavehomeSafe) एपको प्रयोग यथावत रहनेछ ।

पहिलो चरण, अप्रील २१:


पहिलो चरणमा रेस्टुरेन्टहरुलाई सांझ ६ बजेको सट्टा   रातको १० बजे सम्म खोल्न अनुमति दिइनेछ र एउटा टेबुलमा चार जना सम्मले बसेर खाना खान पाउनेछन। अहिले एउटा टेबुलमा २ जना मात्र बसेर खान पाइन्छ ।

बन्द हुने अनुसूचीमा परेका स्थानहरु जस्तै जिम, सिनेमा ,मसाज पार्लर र ब्युटी सेन्टरलाई पुन: खोल्न अनुमति दिइनेछ। लेजर एन्ड कल्चरल डिपार्टमेन्ट अन्तर्गत संचालित स्पोर्टस  फेसिलिटी पनि पुन संचालनमा आउन दिइनेछ ।सामाजिक जमघट माथी लागेको प्रतिबन्धलाई फुकाएर ४ जना सम्म भेला हुन दिइनेछ । अहिले दुई जना मात्र भेला हुन पाइने व्यवस्था छ।

दोस्रो चरण:


दोस्रो चरणमा सबै निर्धारित परिसरहरूलाई  फेरि खोल्न पाउने अनुमति दिइनेछ। क्याटरिङ प्रीमाइसेस अर्थात रेस्टुरेन्टमा प्रति टेबल ८ जना सम्मलाई बस्न दिइनेछ र रातको १२ बजेसम्म खोल्न दिइनेछ । बारहरू, पबहरू, समुद्र तटहरू र सरकारी  स्विमिंग पूलहरूलाई पनि  खोल्ने अनुमति दिइनेछ। बार र पब महिनौं देखि बन्द रहेको अवस्था छ । स्मरणीय छ विगत दुई वर्षमा करिब २०० देखि ३०० वटा बार सदाका लागि बन्द भैसकेको छ।बाहिरी खेलकुदका लागि मास्क लगाउन आवश्यक पर्ने छैन अथवा आउटडोर ब्यायाम गर्दा मास्क नलाए पनि हुन्छ। कन्ट्री पार्क तिर टहलिदा मास्क नलाए पनि हुनेछ।
सामाजिक जमघटमा ८ जना सम्म भेला हुन पाइन्छ।

तेस्रो चरण:


तेस्रो चरणमा सबै किसिमका सामाजिक दूरी सम्बन्धि नियमहरू हटाइनेछ र केवल मास्क लाउने आदेश र खोप पासलाई मात्र  कायम गरिनेछ।

विद्यालयहरूको सन्दर्भमा उनले प्राथमिक र अन्तर्राष्ट्रिय विद्यालयहरू अप्रील १९  बाट आमनेसामने कक्षाहरू सुचारु गर्ने बताइन, माध्यमिक विद्यालयहरू भने  डिप्लोमा परीक्षा(DSE exam) सकिएपछि  मात्र सुचारु हुनेछ।

२३ मार्च

स्कुल शुरु गर्नको लागि प्रत्येक पाठशालाले खोप दरलाइ ७० प्रतिशत पुर्याउनु पर्दछ। सेकेन्डरी स्कुलका विद्यार्थीको खोप दर व्यक्तिगत स्तरमा ९० प्रतिशत पुगेको हुनु पर्दछ।

सरकारका सल्लाहकार तथा चाइनिज युनिभर्सिटी हङकङ स्वासप्रस्वास मेडिसिन बिभागका अध्यक्ष डेभिड हुइले २३ मार्च बिहान रेडियोमा बोल्ने क्रममा ३ देखि ११ वर्षको उमेर समुहको पहिलो खोपको खोप दर ३८ प्रतिशत र दोस्रो खोपको खोप दर ११प्रतिशत पुगेको बताए।

१२ देखि १९ वर्षको उमेर समुहको खोप दर भने ७३ प्रतिशत पुगेको उनले बताए ।

स्कुल इस्टर विदापछि ब्याच सिस्टममा शुरु गर्ने योजना भएको कार्यकारी प्रमुख लामले मार्च २३ तारिख बताइन। विद्यार्थीको कक्षा संचालन हुन थालेपछि स्कुलका स्टाफ र भिजिटरलाइ भ्याक्सिन पास लागू हुने र दुई मात्रा खोप लगाएको हुनुपर्ने बताइन।

हालमा हाइ स्कुल पढने ९५% विद्यार्थीहरु १२ देखि १९ वर्ष बीचका छ्न र खोप दर संतोषजनक नै छ। ६६% विद्यार्थीले खोपको दुई मात्रा ग्रहण गरिसकेका छ्न।

पहिलो चरणमा खोल्न नदिएकोमा बारका मालिकहरु असन्तुष्ट

लान क्वाइ फङ एसोसिएसनकि निर्देशक एथना चेङले बारलाइ पहिलो चरणमा नै खोल्न नदिएकोमा घोर असंतुष्टि जनाइन। यो वर्ष बार केवल ६ दिन मात्रै खोलिएको थियो । यो महामारी बिरोधि अभियानमा सबैभन्दा ओझेमा बारलाइ पारिएको छ उनले भनिन।

उनले थपिन- दोस्रो चरणमा भए पनि बारलाई खोल्न अनुमति दिएर कम्तीमा हामीले स्पष्ट रोडम्याप पाएका छौँ । महामारीको अहिलेको लहरका कारण लान क्वाइ फङको ३० प्रतिशत बन्द भएको छ।

तपाईको प्रतिक्रिया