अर्जुन प्रधान/ अमेरिका । साहित्यकार तथा चलचित्र निर्देशक प्रकाश आङ्देम्बेलाई साहित्य परिषद भुटानले ‘परिषद युवा साहित्य प्रोत्साहन पुरस्कार’ प्रदान गर्ने भएको छ । परिषदले विज्ञप्ति जारी गर्दै नेरु ५० हजार १ रूपैयाँ राशीको सो पुरस्कार आङ्देम्बेलाई प्रदान गर्ने निर्णय भएको सचिव खेम रिजालले जानकारी दिएका छन्।
साहित्य परिषद भुटानले आङ्देम्बेलाई पुरस्कार प्रदान गर्ने निर्णय सहितको विज्ञप्तिमा उनका योगदानलाई पनि उल्लेख गरिएको छ ।
“जुनबोला शरणार्थीहरुलाई स्थानीयहरुले अनेक बहानामा लाञ्छना लगाउने अनि अपमानपूर्ण र तिरस्कृत दृष्टिले हेरेको समयमा सिर्जनाका माध्यमबाट भुटानी समाजलाई नेपाली समाजसँग जोडन कृयाशिल हुनुहुन्थ्यो । तपाई कै लेखन तथा निर्देशनमा भुटानीहरुसंग सम्बन्धीत चलचित्र ‘देश खोज्दै जाँदा’ समेत बनेको छ । एउटा कहालीलाग्दो समयमा रुमल्लिरहेका भुटानी नवप्रवेशी लेखकहरुका आसा, भरोषाका केन्द्र तथा साहित्य साधकको रुपमा चित्रण गर्दै परिषदले साहित्यकार आङ्देम्बेलाई ‘परिषद युवा साहित्य प्रोत्साहन पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको’ भनी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

परिषद अध्यक्ष गंगा लामिटारे र सचिव खेम रिजालद्वारा  जारी विज्ञप्तिमा लेखिएको छ, ‘प्रकाश आङ्देम्बे, त्यो व्यक्ति हो जसले शरणार्थी शिविरको एउटा घोर निराशाजन्य अवस्थामा थुप्रै युवायुवतीहरुलाई साहित्यको, सिर्जनाको नयाँ संसारतिर डोर्याउन अभिप्रेरित गरयो ।´

आङ्देम्बेले पुरस्कार दिने निर्णयप्रती आफ्नो फेसबुक मार्फत ‘पुरस्कार’ नभई ‘प्रेम’ सम्झेर ग्रहण गर्ने जनाएका छन् ।

परिषदले भदौ २३ गतेका दिन नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने सम्मान तथा कृति समीक्षा कार्यक्रममा पुरस्कार प्रदान गर्ने विज्ञप्ति मै जानकारी दिएको छ ।

भुटानी शरणार्थी युवा पुस्तामाझ साहित्य, कलाको योगदानमा अनवरत लागिरहेका आङ्देम्बे भुटानी स्रष्टा र नेपाली स्रष्टाबीच सम्बन्ध स्थापित गर्ने मध्येका प्रमुख पात्र मानिन्छन। उनका हिजोआज गजल संग्रह, ग्यास च्याम्बरमा बुद्ध रुबाइ संग्रह, वेश्यासँग बिताएको साँझ कथा संग्रह, सृष्टि प्रलयको संघारमा नाटक, प्रकाश आङ्देम्बेका रूबाइयात, म एउटा बिहान हिँडिरहेछु कविता संग्रह प्रकाशित छन् । त्यस्तै उनी भुटानी शरणार्थीबारे निर्माण गरिएको चलचित्र देश खोज्दै जाँदाको लेखक तथा निर्देशक पनि हुन् ।

तपाईको प्रतिक्रिया