शेखर राई / राकेश राई
न्यूह्याम्सायर, अमेरिका

यूनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाको न्यू ईङ्गल्याण्ड च्याप्टरको संयोजकत्वमा विगत वर्षमा झैं यस वर्षको बलिहाङ पूजा तथा शुभ-दिपावली २०७९ को अवसरमा युक्रा (UKROA ) केन्द्रले “हाम्रो अभियान अमेरिकामा साकेला थान” भन्ने मूल मन्त्रकासाथ आफ्ना अन्य चारवटै च्याप्टरहरु क्रमशः ट्याफ, डिएमभिपी, क्यालिफोर्निया र न्यूयोर्कलाई भर्चुअली जूम मार्फत  जोड्दै गत अक्टुवर २२ शनिवारका दिन न्यूह्याम्पसायर राज्यको व्यारिङ्गटन सहर स्थित केन्द्रिय कोषाध्यक्ष राजन कुथुमी राईको घर-दलानमा देउसी-भैलो कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको थियो ।

न्यू ईङ्गल्याण्ड च्याप्टरका अध्यक्ष कर्ण राईको अध्यक्षतामा सम्पन्न उक्त देउसी भैंलो कार्यक्रमका प्रमुख अतिथी युक्रा (UKROA) का केन्द्रिय अध्यक्ष जय कुमार राई हुनुहुन्थ्यो, भने बिशेष अतिथि अमेरिकाको न्यूह्याम्पसायर राज्यकालागि नेपाल सरकारका पर्यटन सदभावना  दुत शिव कुमार राई हुनुहुन्थ्यो। त्यस्तै गरी अतिथिहरुमा साकेला थान संयोजक विष्णु कुमार राई, न्यूह्याम्पसायर नेपाली समाजका संस्थापक अध्यक्ष मीन गौतम, वर्तमान कार्यसमितीका उपाध्यक्ष लाक्पा शेर्पा, किरात सांस्कृतिक संयोजक द्वय गुल्शन राई र लक्ष्मी कुमार राई, कानूनी सल्लाहकार शुरेस कुमार चाम्लिङ  साथै अग्रज व्यक्तित्वहरू मनी कुमार राई र ठाकुर सिंह लिङ्गथेपको कार्यक्रममा उपस्थिति रहेको थियो।

सुप्तुलुङ्ग र प्रकृति पुजक किरात राईहरुको पवित्र अध्यात्मिक आस्था र साँस्कृतिक पहिचानको रुपमा रहेको साकेला थानलाई  संयुक्त राज्य अमेरिकाको भुमिमा स्थापना गर्ने दृढ संकल्पकासाथ संस्थाको विधान २००७ को धारा ९ आर्टिकल VIII (i) मा कार्यक्रम तथा सेवासुविधा अन्तर्गत साकेला थान निर्माणको लागि विशेष व्यवस्था गरिएको छ। संस्थाको स्थापनाकाल देखि नै यसलाई प्रमुख उदेश्यको रूपमा समस्त किरांत राईहरू बीचमा भएका छलफल र वहसबाट गत २०२० मा भिजन २०२० (“Vision 2020 “) घोषणा गरिएको थियो  र साकेलाथानको लागि भनेर छुट्टै बिज द्रव्य (Seed money) जम्मा गरिएको थियो। यस  परियोजनालाई यथाशिघ्र सम्पन्न गर्न यस वर्ष पनि साकेला थान कोष संकलनको लागि केन्द्र तथा पांचैवटा च्याप्टरहरूको सहकार्य र सहभागितामा देउसी-भैलोको कार्यक्रम २०७९ को आयोजना गरिएको थियो।

युक्रा (UKROA) का पूर्व अध्यक्ष तथा साकेला थान निर्माण परियोजनाका संयोजक विष्णु कुमार राईले पितृ र प्रकृति पूजक किरात राईहरुले आफ्नो मृत्यु पर्यन्तको गन्तव्यको रुपमा विश्वास गरेको सुप्तुलुङ्गको आध्यात्मिक महत्व र जीवन छदैं प्रकृतिसंगको सामिप्यतालाई आध्यात्मिक रुपमा जोड्ने साकेला थानको उत्पति, यसको अर्थ र यसले किरात राईहरुको व्यवहारिक जीवनमा पारेको मनोवैज्ञानिक र आध्यात्मिक विश्वासको बारेमा खुलेर चर्चा गर्नु हुदैं अमेरिकावासी किरात राईहरुले आफ्नो अस्तित्व रक्षा र किरात राईहरूको मौलिक सँस्कृतिको जर्गेनाको निम्ती यो पवित्र परियोजनालाई सफल बनाउने प्रतिबद्धता सहित यो वर्षको तिहारमा पनि आ–आफ्नो गच्छे अनुसार देउसी-भैलीलाई स्वेच्छिक दान-दक्षिणा दिन प्रत्यक्ष रूपमा सहभागी हुनु भएका र न्यू-ईङल्याण्ड भन्दा बाहिरका राज्यबाट जुम मार्फत सहभागी हुनु भएका सम्पूर्ण अमेरिकावासी किरात राई बन्धुहरुलाई विशेष अनुरोध गर्नु भएको थियो।

केन्द्रिय महासचिव मुक्ति नारायण राईले साकेला थान निर्माणको लागि देउसी-भैलो कार्यक्रममा प्रत्यक्ष सहभागी भएर साथै न्यू-ईङल्याण्ड च्याप्टर भन्दा बाहिरका राज्यहरूबाट जुम मार्फत सहभागी भई दान गर्नु हुने ५३ जना दानविरहरूको नामावली पढेर सुनाउनु भयो। सबै दाताहरूको नाम साकेला थान परिसरमा निर्माण गरिने वावु ( चिण्डो) आकारको ऐतिहासिक स्मारकमा अभिलेखको रूपमा राखिने र साकेला थान परियोजनाका निम्ति दाताहरूले हरेक पटक गर्नु भएको जति पनि दान र सहयोग रकमहरू क्रमशः सम्वन्धित दाताको नाममा जोडिदै जाने र सो को एकमुष्ट अभिलेख पारदर्शीताको लागि हरेक दाताहरूलाई त्रैमासिक, अर्धवार्षिक र वार्षिक रूपमा जानकारी गराउदै जाने कुरा पनि बताउनु भयो।

साकेलाथान संयोजक विष्णु कुमार राईले कार्यक्रममा प्रतक्ष्य सहभागी देउसी-भैलोका दानविर दाताहरूलाई स–सम्मान खदा लगाई संस्थाको तर्फबाट धन्यावाद ज्ञापन गर्नु भएको थियो। उक्त देउसी/भैलो कार्यक्रममा म्यासेचुसेटको वोस्टन एरिया, कनेक्टीकेटको हार्डफोड र न्यूह्याम्सायर आसपासका शहरहरुबाट सहभागी हुन आउनु भएका किरात राई बन्धुहरु तथा अतिथिहरुलाई मिडिया कोअर्डिनेटर तथा न्यू-ईङ्गल्याण्ड च्याप्टर उपाध्यक्ष शेखर राईले देउसी-भैलो कार्यक्रममा स्वागत गर्नु भएको थियो। कार्यक्रमका विशेष अतिथि पर्यटन सदभावना दुत शिव कुमार राई तथा अतिथिहरु मिन गौतम, मनी कुमार राई र कानुनी सल्लाहकार सुरेश चाम्लिङ्गले दिपावली तथा तिहारको शुभकामना मन्तब्य दिदै देश बिदेशमा रहनुहुने नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा सुस्वास्थ्य र समृद्धिको कामना गर्नुभएको थियो। प्रमुख अतिथि युक्रा (UKROA) का केन्द्रिय अध्यक्ष जय राईले तिहारको शुभकामना दिने क्रममा निकट भविष्यमै हाम्रो ऐतिहासिक ड्रीम प्रोजेक्ट (“Dream Project”) साकेला थानलाई पूरा गरी छाड्ने दृढता व्यक्त गर्नु हुदै यो पुण्य कर्ममा अमेरिकामा वसोवास गर्नु हुने समस्त किरात राई बन्धूहरूलाई गोलबन्द हुन आव्हान गर्नु भयो।

देउसी भैंलो कार्यक्रमको औपचारिक सत्रलाई समापन गर्नुहुदै न्यू ईङ्गल्याण्ड च्याप्टरका अध्यक्ष कर्ण ब. राईले मिठा-मिठा परिकारहरु तयार पार्नुहुने आमा-भाउजुहरू र दिदी-बहिनीहरु साथै स्वयंसेवक युवाहरू र कलाकार भाई-बहिनीहरुलाई च्याप्टरको तर्फबाट धन्यावाद ज्ञापन गर्नु हुदैं, शुभ दिपावली तथा तिहारको शुभकामना समेत दिनु भएको थियो । कार्यक्रमको संचालन न्यू ईङ्गल्याण्ड च्याप्टरका महासचिव राकेश राईले गर्नु भएको थियो।मौलिक वाजाहरु मादल, वाँसुरी लगायत अन्य आधुनिक वाजाहरु किवोर्ड, पियानो, गीतार, भायोलिनका साथमा केन्द्रिय अध्यक्ष जय कुमार राई,  च्याप्टर अध्यक्ष कर्ण राई र च्याप्टर कोषाध्यक्ष चन्द्र कुमार राईले किराती संस्कृति र परम्परा झल्किने प्यारोडी शैलीको देउसी गीतहरु प्रस्तुत गरी भरपुर मनोरञ्जन प्रदान गरेका थिए।संस्कृति संयोजक द्वय गुल्सन राई, लक्ष्मी राई र बोर्ड सदस्य युबराज राईले किरांत परम्परागत देउसी गीत  भट्याउदै ठेट नेपाली संस्कृतिको पुनर्ताजगी गराउनु भएको थियो भने युवा तथा विद्यार्थी  संयोजक जेनिथ राईले युवाहरूको लागि संदेशमूलक देउसी गीत  भट्याउनु भएको थियो। उक्त देउसी-भैंलो कार्यक्रमको सम्पूर्ण प्राविधिक व्यवस्थापन बोर्ड सदस्य तेजेन्द्र खत्री र च्याप्टर कोषाध्यक्ष चन्द्र कुमार राईले गर्नुभएक़ो थियो, भने कलाकार भाईबहिनीहरु ज्योज्योलुङ्ग राई, जेनिथ राई र बाल कलाकारहरु भूमिका राई र लिली होस्फिल्डले क्रमसः गितार, पियानो, किबोर्ड, र भायोलिनमा साथ दिएर देउसी-भैलोलाई रोमान्चक बनाएका थिए।

तपाईको प्रतिक्रिया