सन्तोष राई, न्युयोर्क।


यूनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाको न्युयोर्क  च्याप्टरले उधौली साकेला,यलम्बर साँझ तथा  नयाँ बर्षको शुभकामाना आदान प्रदान कार्यक्रम भब्य मनाएको छ।

उक्त कार्यक्रम न्युयोर्क स्थित ज्याक्सन हाइटमा रहेको घ्याल्सुम्दो सेवा  समाजको भवनमा जनवरी ६ तारीख शुक्रबार सम्पन्न भएको हो। सबैमा एकता,भाईचारा, सद्भाव कायम गर्दै किरातीको मौलिक संस्कार बचाइ राख्ने उद्देश्यले कार्यक्रम सम्पन्न भएको थियो ।

युक्रा न्युयोर्क च्याप्टरकी अध्यक्ष ममता खालिङ राईको अध्यक्षता रहेको उक्त कार्यक्रमका मुख्य अतिथि राष्ट्रिय कलाकार तथा बरिष्ठ नृत्य निर्देशक गोबिन्द राई  रहेका थिए । उपाध्यक्ष कृष्ण प्रसाद राइको संयोजकत्वमा सम्पन्न कार्यक्रमको उदघाटन नक्छो (नछुङ) पदम बहादुर राई  र प्रमूख अतिथी गोविन्द राई द्वयले पानसमा बत्ति बालेर गरेका थिए। 

उधौंली र नयाँ बर्षको शुभकामाना दिने क्रममा न्युयोर्क राज्यका पर्यटन (सद्भावना) दूत केशवराम राईले जहाँ रहेपनि हामीले हाम्रो संस्कार संस्कृति भुल्नु नहुने र तिनै  मौलिक संस्कार, संस्कृति जोगाउनका निम्ती यूनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले अमेरिकामा साकेला थान निर्माण गर्न लागेको र त्यसको लागि सबैले सकेको सहयोग गर्न आव्हान गरे।

उधौंली र नयाँ सालको शुभकामना मन्तब्य दिने क्रममा प्रमूख अतिथी गोविन्द राईले नेपालमा बिभिन्न जातजातिको आ-आफ्नै पराम्परा र संस्कार  रहेकोले नेपाली जहाँ -जहाँ जान्छन आफ्नो संस्कार पनि उतै लाने र मनाउने गरेको भनाई ब्यक्त गरे।

युक्राका पुर्व केन्द्रिय सभापति तथा युक्रा न्युयोर्क च्याप्टरका सल्लाहकार प्रभाकर राईले नोक्छो,नोछुङ, माङ्पा वा धामी भनेको किराती संस्कारमा नभई नहुने अती महत्वपूर्ण बिषय हो यस्ता बिषयमा पुस्तक प्रकाशन गरेर पाठशाला मै पढाई गर्नुपर्ने बिचार  ब्यक्त गरे।

कार्यक्रममा पत्रकार शान्तीराज राई, बिकी पुलामी मगर र सम्राट कार्की तथा डाक्टर सरोज यादवलाई अतिथीका रुपमा आमन्त्रण गरिएको थियो । सम्पूर्ण अतिथिहरुलाई चिन्डो सहितको खादा लगाएर सम्मान गरिएको थियो।      

उक्त कार्यक्रममा खालिङ राई उत्थान संघ अमेरिका शाखाका अध्यक्ष मकर खालिङ राईले राईहरु भित्र पनि अनेक भाषा र संस्कार रहेकोले सबै थरका राईले आफ्नो भाषा र संस्कार  जोगाउन पर्ने र आफु खालिङ राईको उत्थानमा लागि परेको जानकारी गरे। यसो गर्दा कुनै पनि राई संस्थासँग प्रतिस्पर्धा गर्न नखोजेको र त्यसरी नबुझिदिन पनि स्पष्ट आग्रह गरे । 

अतिथी टिबी भण्डारीले आफ्नो कला संस्कृति बचाउनु  राम्रो पक्ष हो। राष्ट्रियताको सवालमा हामी सबै एक हुनुपर्दछ   यस्ता कार्यक्रम राईको मात्रा नभएर सिङ्गो  नेपालीको हो यसमा गर्व गर्नुपर्दछ भने।

मन्तब्यकै क्रममा युक्रा केन्द्रिय सदस्य गरचा किराँतीले प्रत्येक राईले आफ्नो थर र पाछा अनुसार आफ्नो चुला बनाउनु पर्नेमा जोड दिए । किराँती संस्कार अनुसार आफ्नो छोरी चेली कुटुम्बलाई दिदाँ आफ्नो चुलोबाट निकालेर कुटुम्बको चुलोमा लगाउनु पर्ने हुँदा सामुहिक चुलोबाट कसरी निकाल्ने र कुन चुलोमा लगाउने भन्ने प्रश्न गरे । कतिपय राइहरुले सामूहिक चुलो बनाउनु पर्ने धारणा राखी रहेको अवस्थामा उनले यस्तो बिचार ब्यक्त गरेका हुन। 

कार्यक्रममा युक्रा न्युयोर्क च्याप्टरका बरिष्ठ उपाध्यक्ष बसन्ती राईले स्वागत मन्तब्य दिएकी थीइन् भने संयोजक तथा उपाध्यक्ष कृष्ण प्रसाद राईले साकेला थान किरातीहरुको धरोहर भएका कारण साकेला थान निर्माणको निम्ती खुलेर सहयोग गर्नु पर्ने बताउदै स्वयंसेवक र स्पोन्सरहरुलाई धन्यवाद  दिएका थिए। 

मन्तब्यकै क्रममा इन्टरनेशनल मार्शल आर्ट एशोसियसनका प्रोप्राइटर तथा इन्टरनेशनल रेफ्री पर्खि खालिङ राईले खेल्कुद र व्यायाम स्वास्थ्यको लागि अती आबश्यक हो । व्यायामले ६० प्रतिशत रोग ठिक हुनेभएकोले दैनिक एकघन्टा व्यायामको लागि समय छुट्याउनु  पर्ने भनाई व्यक्त गरे । उनले साकेला थान सम्पूर्ण किराँतीको आवश्यकता भएकोले साकेला थान निर्माण अभियानको प्रसंसा गरे।   

कार्यक्रमको अन्तमा सभाध्यक्ष तथा संस्थाकी अध्यक्ष ममता खालिङ राईले किराँतीहरुको मौलिक पहिचान बोकेको सकेला थान निर्माणको निम्ति तिब्र रुपमा आर्थिक सहयोग संकलन भैरहेको र आफ्नो पहिचान र अस्तित्व जोगाउनको निम्ति यथाशक्य सबैले सबै किसिमको सहयोग गर्न आवश्यक भएको बताइन।

यस विषयमा थप स्पष्ट बुझ्न साकेला थान संयोजक बिष्णु राई सित प्रत्यक्ष बुझ्न सकीने कुरा उनले उल्लेख गरिन् । सहयोग दाताहरुको नाम शिलालेखमा सदाको लागी राखीने र आफुले तोकेको रकम  किस्तामा पनि बुझाउन  सकिने कुरा पनि  प्रष्ट्याइन् ।
यो साझा पहिचानको विषय भएकोले  सहयोग गर्न कञ्जुस्याई नगर्न पनि सबैमा अपिल गरिन।

कार्यक्रममा संकृतिक संयोजक रोशन राई, लगायत  कलाकारहरु मालती राई, यशोदा खालिङ राईले नृत्य प्रस्तुत गरेका थिए भने कलाकार संघकी बरिष्ठ उपाध्यक्ष बसन्ती राई, यशोदा खालिङ राई, बिपन राई, सुखराज राई, सुबर्ण शाक्य, मिङ्मा मगर, बुद्धि  गुरुङले गीत प्रस्तुत गरेर दर्शकलाई भरपूर मनोरन्जन  प्रदान गरेका थिए। 

संचारकर्मीडटकमका प्रकाशक बीके राईद्वारा संचालित सो कार्यक्रममा हालै नेपालबाट आएर युक्रा न्युयोर्क च्याप्टरमा आवद्ध भएका आगन्तुकहरुलाई खादा र फूलका गुच्छाले स्वागत गरिएको थियो।

तपाईको प्रतिक्रिया