न्युयोर्क । घ्याल्सुम्दो सेवा संस्था अमेरिकाको आयोजनामा गत मार्च ११, २०२३ शनिबार न्युयोर्कमा यस वर्षको ग्याल्पो ल्होसार भब्यताका साथ सम्पन्न भएको छ ।

सन १९९९ देखि संस्थागत रुपमा कृयाशिल  घ्याल्सुम्दो सेवा संस्था नेपालको मनांग जिल्लाको तल्लो भेगमा बसोबास गर्ने समुदायद्वारा गठित सामाजिक संस्था हो । विशेष दुई गाँउपालिका “चामे” र “नासो” क्षेत्रमा बसोबास गर्ने मानिस घ्याल्सुम्दोबासी भित्र पर्दछ्न।

स्थानीय भाषामा “घ्यालम्” भनेको ठुलो बाटो र “सुम्दो” भनेको तीन तिरबाट जोडिएको र समग्रमा तीन तिरबाट जोडिएको ठुलो बाटो भनेर बुझिन्छ । त्यस क्षेत्रका अधिकांश बासिन्दा बौद्ध धर्मावलम्बी भएकाले यो समुदायले ल्होसार पर्वलाई  विशेष महत्वका साथ लिने गर्दछ्न।


हरेक वर्ष हर्षोल्लासका साथ मनाईने ल्होसार गत वर्षको बाघ वर्षलाई विदा र खरायो वर्षलाई स्वागत गर्दै मनाइएको थियो । संस्थाका अध्यक्ष श्री निमा छिरिंग घलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली महाबाणिज्यदुताबासको कार्यालय, न्युयोर्कका बाणिज्यदुत गणेश प्रसाद अधिकारी रहनुभएको थियो । कार्यक्रमका अन्य अतिथिहरुमा क्रमशः  न्यूयोर्क राज्यका सांसद स्टिभन रागा, काउन्सिल मेम्बर जुली वनका प्रतिनिधि, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष राजकुमार विष्ट, गैर आवासीय नेपाली संघ अमेरिका,न्यूयोर्क च्याप्टरका अध्यक्ष आंग छिरिङ शेर्पा,कलेजप्वाईन्ट सिभिक एण्ड ट्याक्स्पेयर एसोसियसनका अध्यक्ष नवराज केसी, एनिमल भिलेज हस्पीटलका प्रमुख डा. डेनिस सेराभोलो, धर्मगुरु लामा तेन्जीङ रहेका थिए ।

दुई चरणमा सम्पन्न उक्त कार्यक्रममा सामाजिक अभियन्ता, संचारकर्मीहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन संस्थाका महासचिब राजु लामाले गरेका थिए । लामो समय देखि विभिन्न क्षेत्रमा कार्यरत विभिन्न व्यक्तित्व जसले संस्थामा पुरयाएको अमुल्य योगदानलाई उच्च मुल्यांकन गर्दै संस्थाका संयोजक छिरिंग लामा, राजु गुरुङ र चित्र कुमारी गुरुङलाई क्रमशः  “सेभ द कल्चर”, “खेलकुद” र “महिला तथा आमा समुह” लाई संयोजन गरेकोमा विशेष सम्मान गरिएको थियो ।


कार्यक्रमको दोस्रो चरणमा साँस्कृतिक कार्यक्रम रहेको थियो जसमा वरिष्ठ चलचित्र नृत्य निर्देशक गोविन्द राई र नृत्य कोरियोग्राफर गौरी लामाले तयार पारेका नृत्यहरु प्रस्तुत गरिएको थियो ।

तपाईको प्रतिक्रिया