शेखर राई/ राकेश राई

न्यूह्याम्सायर। अमेरिका ।
युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (UKROA) ले किरात राईहरुको महान चाड उभौली साकेला यस वर्ष ६ मेई २०२३ शनिबारका दिन टेक्सस राज्यको युलेस स्थित भिलेजेस अफ वियर क्रिक पार्कमा नोक्छु/ नोक्छोड: पदम ब. राई  र संस्थाका अध्यक्ष जय थुलुङ्ग राईले सिमेभूमे र पितृको पूजा गरी प्रारम्भ गरेका थिए। संस्थाको पाँच वटै च्याप्टरहरुको सहभागितामा केन्द्रले आयोजनामा गरेको उक्त उभौली ग्राण्ड साकेला लगत्तै बिभिन्न राज्यहरुमा क्रियासिल लोकल च्याप्टरहरुले पनि आ-आफ्नो क्षेत्रमा उभौली मनाउने कार्यतालिका रहेको केन्द्रिय महासचिव मुक्ति नारायण राईले जानकारी गराउनु भयो।


क्यालिफोर्निया र न्यु ईङ्गल्याण्ड च्याप्टरले जुन ३ शनिवारका दिन क्रमशः Kennedy Grove Regional Recreation Area El Sobrante, California र Arsenal Park, Watertown Boston Massachusetts मा उभौली मनाउने छन्। त्यस्तैगरी डिएमभिपी च्याप्टरले ४ जुन,२०२३ मा Maryland राज्य स्थित Elliot City को  Patapsco Valley State park पार्कमा मनाउनेछ। र अन्त्यमा न्युयोर्क च्याप्टरले १७ जुन २०२३ मा विश्वको राजधानी न्यूयोर्क राज्यको Vernon Blvd Long Island सहर स्थित Queens Bridge Park मा अन्तिम उभौली साकेला मनाउदै यस वर्षको साकेला पूजा समापन गर्ने तालिका रहेको जानकारी महासचिव राईले दिनु भयो। 

केन्द्रीय अध्यक्ष जय थुलुङ्ग राईको अध्यक्षता र किरात राई यायोख्खा बेलायतका अध्यक्ष रिटार्यड मेजर योगेश कोयी राईको प्रमुख आतिथ्यमा सम्पन्न उक्त उभौली साकेला भूमीपूजाका अवसरमा संस्थाका पूर्व केन्द्रिय अध्यक्षहरु र आमन्त्रित पाहुनाहरुले शुभकामना मन्तव्य दिएका थिए। संस्थाका पूर्व केन्द्रीय अध्यक्ष तथा साकेलाथान परियोजनाका संयोजक तथा साल्पा सिलिचुङ्ग संरक्षण अन्तराष्ट्रिय समितिका महासचिव विष्णु कुमार राईले उभौली किरात राईहरुको मात्र चाड नभएर सिङ्गो राष्ट्रको नै राष्ट्रिय चाड भएको हुँदा राज्यले यसको संरक्षण र सम्बर्द्धन गर्न ठोस सहयोग गर्नुपर्ने धारणा राख्नु हुदै मुन्धुममा उल्लेख गरिएका पवित्र धाम साल्पा पोखरीको पुनरुत्थान र संरक्षण गर्दै किरात धर्म /संस्कृति र सम्पदालाई विश्वभरी नै परिचित गराउन साल्पा सिलुचुङ्ग संरक्षण तथा अन्तराष्ट्रिय समिति लागि परिरहेको जानकारी गराउनु भएको थियो।

शुभकामना मन्तव्य कै क्रममा अर्का पूर्व अध्यक्ष प्रभाकर राईले किरात राईहरुको आध्यात्मिक र साँस्कृतिक कर्मकाण्डहरुलाई मुन्धुमी विधीबाट सम्पन्न गर्ने,आत्मिक शक्तियुक्त नक्छुङ्गहरुको संरक्षण र प्रबर्द्धनमा ठोस योजना बनाई काम गर्नुपर्ने आवश्यकता रहेको विचार व्यक्त गर्नुभएको थियो। त्यस्तै गरी पूर्व अध्यक्ष मिलन राईले उभौलीलाई नेपाल सरकारले राष्ट्रिय चाडको रुपमा स्वीकार गरेकोमा खुसी व्यक्त गर्दै, विश्वका विभिन्न शक्तिशाली र सभ्रान्त देशहरुले पनि पहिचानलाई अंगिकार गरेको दृष्टान्त प्रस्तुत गर्दै, नेपाल सरकारले पनि यो तथ्यलाई आत्मसात गरी पहिचान प्राप्तिको निम्ती हुन सक्ने संम्भावित द्वन्द र हिँसाको बेलैमा समाधान गर्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो। 

संस्थाका कानुनी सल्लाहकार सुरेश चाम्लिङ्गले १,२५० वर्ष भन्दा बढी शासन गरेको किरातहरूको  ईतिहास, सभ्यता र संस्कृतिलाई पंचायती व्यवस्थाले समेत अप्रत्यक्ष रुपमा माझ किरात र पल्लो किरात (लिम्बुवान) भनी प्रशासनिक ईकाईको रुपमा यसको पहिचानलाई स्वीकार गरेको तर संघियतालाई नै मूल मर्म मान्ने गणतान्त्रिक व्यवस्थाले नै पहिचानलाई लत्याएको प्रति आक्रोश व्यक्त गर्नु भएको थियो। विश्व कै शक्तिशाली र सम्पन्न देश अमेरिकाले पनि ईतिहास, भूगोल र संस्कृतिलाई आधार मान्दै यसमा रेहका अन्तरनिहित पहिचानलाई स्थापित हुने गरी राज्यहरुको नामाकरण र सिमाङ्कन गरेको उदाहरण प्रस्तुत गर्दै, वर्तमान पूर्वी नेपालको संघिय प्रदेशमा बसोवास गर्ने जनताक़ो  जनभावनाको प्रतिनिधित्व कोशी नामले गर्न नसक्ने तर्क गर्नु हुदै, ईतिहास, भूगोल, संस्कृति र सभ्यताको आधारमा किरात नाम नै उपयुक्त हुने भएकोले अविलम्व कोशी नाम खारेज गरि किरात नाम घोषणा गरिनु पर्ने जोडदार माग राख्नु भएको थियो। उक्त समारोहका अतिथी सफल व्यवसायी तथा समाजसेवी भुवन आचार्यले किरात संस्कृति र सभ्यता समग्र नेपाल र नेपालीहरुको प्राचीन मौलिक पहिचान भएको र कोशी नामले यसलाई समेट्न नसक्ने हँदा किरात नाम नै उपयुक्त हुने तर्क गर्नु हुदै, पूर्व धरानमा जन्मी हुर्केको हुदाँ आफुलाई किराती वाहुन भन्न रुचाउने भनाई समेत व्यक्त गर्नु भएको थियो।

 नेप्लिज एशोसिएसन अफ जर्नालिजमका अध्यक्ष विकास राज न्यौपानेले उभौली प्रकृति, जीवन र विज्ञान सम्मत रहेको तर्क गर्नु हुदै सबै किरात तथा गैरकिरात नेपालीहरुमा शुभकामना व्यक्त गर्नु भएको थियो। तामाङ्ग सोसाईटी अफ टेक्ससका प्रतिनिधी सुर्य मोक्तानले भूमीपुजा भन्नु नै प्रकृतिको पूजा गर्नु हो, भन्नुहुदै हामी तामाङ्गहरु बौद्ध मार्गी भएता पनि उभौलीको यो समयमा बालिनाली सप्रियोस भनि सिमेभुमेको पूजा गर्ने गरेको बताउनु भएको थियो। साथै पहिचानको विषयमा उठेको जनचासो र चिन्तालाई न्यायोचित रुपमा राज्यले शान्तिपूर्ण वहस र छलफल मार्फत सम्बोधन गर्नुपर्ने धारणा समेत व्यक्त गर्नु भएको थियो। नेपाली समाज टेक्सास (NST) का अध्यक्ष राजेन्द्र वाग्लेले चार जात छत्तीस वर्णको साझा फुलवारीको रुपमा रहेको हामी नेपालीहरुको संस्कृति, सभ्यता र पहिचान संसार भरी फैलिरहेको प्रति खुसी व्यक्त गर्दै, सबैमा उभौलीको शुभकामना दिनुभएको थियो। उक्त उभौली साकेलाका विशेष अतिथी सिटी अफ काउन्सील युलेसका सदस्य टिका पौडेलेले कार्यक्रम अत्यन्तै राम्रो भएको टिप्पणी गर्दै यसरी नै हामी नेपालीहरुको बहुसाँस्कृतिक पहिचानलाई बचाउदै र संगठित बन्दै अगाडी बढ्नु पर्ने धारणा राख्नु भएको थियो। उभौली किरात राईहरुको मात्र चाड नभएर अब सबै नेपालीको राष्ट्रिय चाड रहेको भन्दै उभौलीको शुभकामना दिनु भएको थियो। 

किरात राई यायोख्या बेलायतका अध्यक्ष तथा उक्त समारोहका प्रमुख अतिथी रिटायर्ड मेजर योगेश कोयी राईले समग्र किरात संस्कृति, ईतिहास र परम्पराको चर्चा गर्नु हुदै, अबका दिनमा लिईनु पर्ने सुझबुझ पूर्ण कदमहरुको बारेमा विश्लेषण गर्नु भएको थियो। अमेरिकावासी किरात राईहरुले साकेलाथान तथा मांगखिम निर्माण अभियान चलाईरहेको प्रति खुसी व्यक्त गर्नु भयो।  बेलायतमा आफुहरुले निर्माण गर्दाताका भोगेको अनुभव बाड्नु हुदै, सफलताको निम्ती शुभकामना समेत दिनु भएको थियो।

औपचारिक समारोहलाई समेत अध्यक्षता गरिरहनु भएका UKROA का केन्द्रिय अध्यक्ष जय थुलुङ्ग राईले प्रमुख अतिथी किराया बेलायतका अध्यक्षलाई UKROA को लोगो मायाको चिनोको रुपमा लगाई दिनु भएको थियो। त्यस्तै गरी UKROA को हरेक साँस्कृतिक कार्यक्रमहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएका चर्चित गायिका तथा नृत्याङ्गाना, न्युयोर्क च्याप्टरका वरिष्ठ उपाध्यक्ष बसन्ती राईलाई प्रशंसा पत्र सहित सम्मान पनि गर्नु भएको थियो। अमेरिकामा विगत वर्ष देखि साकेला भूमी पूजाको बेला विधीवत रुपमा पूजा गर्दै आईरहनु भएका नक्छुङ पदम ब. राईलाई वर्तमान केन्द्रिय अध्यक्ष सहित उपस्थित सबै पूर्व केन्द्रीय अध्यक्षहरुले सामुहिक रुपमा प्रशंसा पत्र सहित फेटा गुथी सायराम्मा गरेका थिए। 

अन्त्यमा औपचारिक शुभकामनाको कार्यक्रमलाई समापन गर्दै अध्यक्ष जय थुलुङ्ग राईले सम्पूर्ण अतिथीहरु,केन्द्र तथा च्याप्टर कार्य समितीका पदाधिकारीहरू, कलाकारहरू, स्वयं सेवक तथा उपस्थित सम्पूर्ण किरात राई बन्धुहरुमा उभौलीको शुभकामना दिनु हुदै कार्यक्रमलाई सफल बनाउन अहोरात्र खट्नु हुने आयोजक TAF च्याप्टर परिवारलाई विशेष धन्यवाद ज्ञापन गर्नु भएको थियो। ग्राण्ड साकेला पूजा सम्पन्न गर्न आर्थिक सहयोग गर्नुहुने सहयोगी शुभेक्ष्छुक तथा सफल व्यवसायी अनुप राई, भुवन आचार्य, टेक्सास राई कम्युनिटी, लाल पाठक, अनु तामाङ्ग, सुजना श्रेष्ठ, नेपा ईन्सुरेन्स्, सोफिन थापा, भानु खरेल, कृष्ण भण्डारी, सुमन राई, डा. प्रेम अधिकारी, हरिबोल भण्डारी, राजेन्द्र वाग्ले, विजय भूसाल र गोकर्ण दाहाललाई प्रशंसा पत्र प्रदान गर्नुभएको थियो।

औपचारिक समारोह समाप्त हुने बित्तिकै नक्छुड: पदम ब. राईले साकेलाथानको रुपमा प्रतिस्थापित थानमा सिमेभुमेको पूजा प्रारम्भ गरी उभौली भूमी पूजाको थालनी गर्नु भएको थियो, भने गोलाकार घेरामा TAF  च्याप्टरबाट बुद्धमाया राई, सुष्मा राई, सविना राई, New York  च्याप्टरबाट बसन्ती राई, रोशन राई, मालती राई, बविता राई, अर्पण राई, तेसु राई, सन्तोष राई र बेन्जु राई । त्यस्तै गरी New England च्याप्टरबाट शोभा राई, प्रमिला राई, शुभना राई, सुनैना राई, भुमिका राई, आरुषी राई, सुमिता राई, दुर्गा राई, नन्दा राई , निङ्गमा राई, सुरेश चाम्लिङ्ग, राकेश राई, कर्ण राई र चम्पा राईले गोलाकार घेरा बनाई ढोल झ्याम्टाको तालमा साकेला सिली नाचेका थिए।

 भूमिपूजा सम्पन्न भए पश्चात हरेक च्याप्टरका कलाकारहरूले एकल तथा सामुहिक नृत्य सहितको विविध साँस्कृतिक प्रस्तुतिबाट कार्यक्रमको माहोल तताएका थिए। वेवी बसन्ती राई, अन्जना घले, सन्तोष राई, रोशन राई र उर्पण राईको प्रस्तुती वेजोडको थियो। UKROA केन्द्रको संयोजनमा TAF च्याप्टरद्वारा आयोजित उक्त उभौली ग्राण्ड साकेलामा उपस्थित सम्पूर्ण अतिथीहरु र किरात राई बन्धुहरलाई TAF च्याप्टरका अध्यक्ष तथा उक्त ग्राण्ड साकेला समारोहका संयोजक दमकाजी राईले स्वागत गर्नुभएको थियो। औपचारिक समारोहका संचालन मिडिया कोअर्डिनेटर शेखर राई र साँस्कृतिक कार्यक्रमको संचालन केन्द्रिय महासचिव मुक्ति नारायण राईले गर्नु भएको थियो। भब्य र सभ्य रुपमा सम्पन्न भएको उक्त उभौली ग्राण्ड साकेला समारोहमा विभिन्न खानाका परिकारहरु सहित BBQ पनि सर्ब गरिएको थियो । 

UKROA को वार्षिक साधरण सभा

उभौली ग्राण्ड साकेलाको अघिल्लो दिन ५ मेई, २०२३ शुक्रबार, टेक्सास राज्यको अर्भिड: सहर स्थित Curry Leaf Restaurant को वैठक हलमा युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाले आफ्नो वार्षिक साधारण वैठक सम्पन्न गरेको छ। केन्द्रिय अध्यक्ष जय थुलुङ्ग राईको अध्यक्षता र किरात राई यायोख्खा बेलायतका अध्यक्ष रिटायर्ड मेजर योगेश कोयी राईको प्रमुख आतिथ्यमा सम्पन्न उक्त वार्षिक साधारण वैठकमा संस्थाको गतिविधी, आयव्यय र प्रगति विवरणमाथि छलफल र वहस गर्दै, संस्थाको आगामी योजनाहरुको सम्बन्धमा नितीगत निर्णयहरु समेत गरिएको थियो। UKROA स्थापना भएको सोह्रौ वर्ष पुरा भएको शुभ अवसरमा १५ महिनाकी सानी छोरी क्लारिशा राईको हातबाट केक काटेर संस्थाको १६औं वार्षिकोत्सव मनाईएको थियो। 

केन्द्रिय कोषाध्यक्ष राजन कुथुमी राईले संस्थाको वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। साकेलाथान निर्माणको निम्ति संस्थाले चलाईरहेको अभियानलाई अझ प्रभावकारी बनाउन भावी योजना प्रस्तुत गर्दै, साकेलाथान निर्माण परियोजनाका संयोजनक विष्णु कुमार राईले आर्थिक योगदान गर्ने दाताहरूलाई खदा लगाई सम्मान गर्नु भएको थियो।

 साकेलाथान निर्माण अभियानमा जोडिन आउनुहुने नयाँ दाताहरुमा UKROA न्यूयोर्क च्याप्टरका वरिष्ठ उपाध्यक्ष तथा प्रख्यात कलाकार वेवी बसन्ती राईले $ १५,०००.०० डलर, कोषाध्यक्ष तेशु राईले $ २,१०१.०० डलर, टेक्सास राज्यका सफल व्यवसायी अनुप राईले  $५,०००.०० डलर र TAF च्याप्टर अध्यक्ष दमकाजी राईले $२,०००.०० डलर आर्थिक सहयोग गर्ने ईच्छा व्यक्त गरी उक्त रकमको केही अंश रकम हस्तान्तरण गर्नु भएकोले नव दाताहरूलाई साकेलाथान संयोजक विष्णु कुमार राईले खदा ओढाई अभिनन्दन गर्नुभएको थियो। 

प्रमुख अतिथि किरात राई यायोख्खा बेलायतका अध्यक्ष रिटायर्ड मेजर योगेश कोयी राईले हामी राईहरुको आ–आफ्नो बंश अनुसार चुला (सुप्तुलुङ) फरक हुने भएता पनि समय सापेक्ष सामुहिक चुलाको विषयमा विमर्श गर्नुपर्ने बेला आएको तर्क गर्नु हुदै अमेरिका ठुलो देश भएकोले एकरुपताको निम्ति यहॉ वसोवास गर्ने राईहरुलाई अझ आबश्यक रहेको विचार व्यक्त गर्नुभएको थियो।

अन्यमा वार्षिक साधारण सभाका अध्यक्ष जय थुलुङ्ग राईले संस्थाको “ड्रिम प्रोजेक्ट” साकेला थान निर्माण अभियानलाई सफल बनाउन सबै किरात बन्धुहरु लागी पर्नुपर्ने भन्दै अमेरिकावासी सम्पुर्ण किरात राई बन्धुहरुमा आआफनो ठाँउबाट गच्छेअनुसार यस ऐतिहासिक अभियानमा जोडिनुहुन अपिल समेत गर्नु भएको थियो। साथै वार्षिक साधारण सभा सफल बनाउन अहोरात्र खट्नु हुने केन्द्र र च्याप्टरहरुका प्रतिनिधीहरु, युवा स्वमसेवकहरु तथा उपस्थित किरात बन्धुहरुमा धन्यवाद ज्ञापन गर्नु भएको थियो। वार्षिक साधारण सभा प्रारम्भ हुनु अगाडी Texas राज्य भन्दा बाहिरका सहभागि हुने सदस्यहरूलाई च्याप्टर अध्यक्षबाट खदा ओढाई स्वागत गर्नु भएको थियो भने केन्द्रिय उपाध्यक्ष तथा न्यूयोर्क राज्यको लागि नेपालका पर्यटनदुत केशवराम  राईले विभिन्न राज्यहरूबाट सहभागी किरात वन्धुहरूलाई सभामा स्वागत गर्नु भएको थियो। वार्षिक साधारण सभाको संचालन महासचिव मुक्ति नारायण राईले गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया