क्रान्ति सुब्बा

इजरायली डिफेन्स फोर्सेजले अक्टोबर ७ अर्थात हमास विरुद्ध युद्ध सुरु भएयताको हवाई सुरक्षा सम्बन्धि  गतिविधिको डाटालाई अक्टोबर ९ तारीख सार्वजनिक गरेको छ ।

रिपोर्टले हाल इजरायलमा “अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई प्रतिरक्षा ब्याट्री” तैनाथ गरिएको पनि बताएको छ।

आईडीएफका अनुसार युद्धसुरु भएयता करिब ९,५०० रकेट र मोर्टारका साथै दर्जनौं ड्रोन इजरायलमा प्रहार गरिएको छ र यो प्रहार ज्यादातर गाजाबाट भएको छ।

लगभग ९०० वटा रकेट नागरिकहरु जमघट हुने स्थान जस्तै मस्जिद, विद्यालय, अस्पताल र सांस्कृतिक केन्द्र भित्रबाट प्रक्षेपण गरिएको थियो। आईडीएफको तथ्याङ्कअनुसार करिब १२ प्रतिशत रकेट भने गाजा भित्र नै खसेको थियो ।

हमासद्वारा प्रहार करिब २,००० क्षेप्यास्त्रहरु  आईडीएफ (इजरायली डिफेन्स फोर्स ) को वायु रक्षा प्रणालीद्वारा निष्क्रिय बनाइएको थियो । आइडीएफले मिसाइललाइ आकाश मै निष्क्रिय पार्न  छोटो दूरीको आयरन डोम, मध्यम दूरीको डेभिडस स्लिंग एन्ड प्याट्रियट र लामो दूरीको एरो प्रयोग गरेको थियो ।

गाजाबाट इजरायल तिर हानिएको रकेटलाइ आइरन डोम मिसाइल सिस्टमले आकाश मै झरिदिएको इजरायलको आस्केलोन शहरबाट देखिएको दृश्य

धेरै रकेटहरू खुला क्षेत्रमा खसेका थिए भने केही रकेट नागरिक बस्तीहरूमा खसेका थिए जसले गर्दा मानव क्षति भएको थियो । आईडीएफले कतिवटा रकेटलाइ आकाश मै निष्क्रिय पार्ने गर्दछ भन्ने तथ्यलाई गोप्य नै राख्ने गर्दछ।  तर आइरन डोमको रकेट झार्ने क्षमताबारे भने अक्टोबर ७ भन्दा अगाडिको एक रिपोर्ट अनुसार आबादी भएको क्षेत्रमा हानिएको रकेटहरु मध्ये ९५ प्रतिशतलाइ खसाल्न सफल भएको थियो ।

गत अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणको पहिलो चार घण्टामा गाजाबाट इजरायलमा करिब तीन हजार रकेट प्रहार गरिएको आईडीएफको तथ्याङ्कले देखाएको छ । जबकि सन् २०१४ मा ५० दिनसम्म चलेको गाजा युद्धको दौरानमा  कुल मिलाएर करिब ४,००० रकेट हमासद्वारा प्रहार गरिएको थियो ।

आईडीएफको भनाइ अनुसार जब इजरायलले स्थल युद्ध शुरु गर्‍यो तब देखि गाजा पट्टीबाट हुने रकेट फायरमा “उल्लेखनीय कमी” आएको छ।

आइरन डोमबाट रकेट झार्ने मिसाइल निस्किदै

पहिलो पटक इजरायलको हवाई प्रतिरक्षाका सम्पुर्ण सामरिक उपकरणलाई यसपालि एक साथ सक्रिय गराएको पनि रिपोर्टमा उल्लेख छ।

एयर डिफेन्स शृङ्खलालाई अहिलेसम्मकै सबैभन्दा व्यापक तरिकाले तैनाथ गरिएको छ र यसले उत्तरमा माउन्ट डोभदेखि दक्षिणमा लाल सागरसम्म इन्टरसेप्सन गर्न सक्ने हैसियत राख्दछ।” आईडीएफले भनेको छ।

आईडीएफले यस सफलताको श्रेय इजरायलको रक्षा उद्योग र साथै संयुक्त राज्य अमेरिकाको “गहिरो सहयोग” लाई दिएको छ। अमेरिकाको सहयोग भने  यस युद्धमा बल वृद्धि गर्न सहायक भएको बताइएको छ।

तपाईको प्रतिक्रिया