शेखर राई, न्यूह्याम्सायर। अमेरिका।

यूनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाको न्यू ईङ्गल्याण्ड च्याप्टरले साकेला थान निर्माण परियोजनाको निम्ति आर्थिक संकलन र नेपाली मौलिक संस्कृतिलाई जीवन्त राख्ने उदेश्यका साथ यस वर्षको बलिहाङ्ग, दिपावली तथा तिहारको उपलक्ष्यमा आयोजना गरेको देउसी-भैलो कार्यक्रम भव्यरुपमा सम्पन्न गरेको छ। गत ११ नोभेम्वर २०२३, शनिवारका दिन न्यूह्याम्सायर राज्यको रोचेष्टर सहर स्थित न्यू ईङ्गल्याण्ड च्याप्टरका महासचिव राकेश कुमार राईको ६३ इबोनी ड्राइभ (63 Ebony Drive) निवासमा विविध साँस्कृतिक प्रस्तुतिका साथ देउसी-भैलो खेलिएको थियो।

च्याप्टर अध्यक्ष कर्ण बहादुर राईको अध्यक्षतामा सम्पन्न उक्त देउसी भैलो कार्यक्रमका प्रमुख अतिथी युक्रा (UKROA) का केन्द्रिय अध्यक्ष जय कुमार थुलुङ्ग राई हुनुहुन्थ्यो भने विशेष अतिथी न्यूह्याम्पसायर नेपाली समाजका अध्यक्ष लाक्पा शेर्पा हुनुहुन्थ्यो। कार्यक्रमका अतिथिहरुमा साकेला थान निर्माण परियोजनाका संयोजक विष्णु कुमार राई, केन्द्रिय महासचिव तथा परियोजनाका सदस्य सचिव मुक्ति नारायण राई, कोषाध्यक्ष राजन कुथुमी राई, कानुनी सल्लाहकार सुरेश चाम्लिङ्ग, एनएचएनसी (NHNC) का संस्थापक अध्यक्ष मीन गौतम, अग्रज व्यक्तित्व खडिमान राई र केपकोड नेपाली समाजका अध्यक्ष केबी राईको उपस्थिती रहेको थियो।

सुप्तुलुङ्ग र प्रकृति पुजक किरात राईहरुको पवित्र अध्यात्मिक आस्था र साँस्कृतिक पहिचानको रुपमा रहेको साकेला थानलाई संयुक्त अधिराज्य अमेरिकाको भूमीमा स्थापना गर्ने युक्रा (UKROA) को महान अभियानलाई मुर्तरुप दिन सन् २०२० बाट विजक रकम राखी सन् २०२५ भित्र सम्पन्न गर्ने दृढ संकल्पका साथ अगाडी बढाईएको यस परियोजनाका निम्ती आर्थिक संकलन गर्ने उद्देश्यका साथ आयोजित उक्त देउसी भैलोमा युक्रा (UKROA) का कार्य समितिका पदाधिकारीहरू, आजीवन सदस्यहरू तथा साधारण सदस्यहरू र शुभेक्षुकहरूबाट  जम्मा $ २५०००.०० (पच्चिस हजार अमेरिकी डलर ) दान-दक्षिणाको रुपमा साकेला थान परियोजनाको लागि प्राप्त भएको जानकारी केन्द्रिय महासचिव तथा परियोजनाका सदस्य सचिव मुक्ति नारायण राईले दिनुहुदै दाताहरुको नाम साकेलाथान परिसरमा निर्माण गरिने वावु (चिण्डो) आकारको मोनुमेन्टमा समेत उल्लेख गरिने व्यहोरा बताउनु भएको थियो।

युक्रा (UKROA) का पूर्व अध्यक्ष तथा साकेला थान निर्माण परियोजनाका संयोजक विष्णु राईले पितृ र प्रकृति पूजक किरात राईहरुले आफ्नो मृत्यु पर्यन्तको गन्तव्यको रुपमा विश्वास गरेको सुप्तुलुङ्गको आध्यात्मिक महत्व र जीवन छदैं प्रकृतिसंगको सामिप्यतालाई आध्यात्मिक रुपमा जोड्ने साकेला थानको उत्पति, यसको अर्थ र यसले किरात राईहरुको व्यवहारिक जीवनमा पारेको मनोवैज्ञानिक र आध्यात्मिक विश्वासको बारेमा खुलेर चर्चा गर्नु हुदै अमेरिकावासी किरात राईहरुले आफ्नो अस्तित्व रक्षा र मौलिक किरात राई सँस्कृतिको जर्गेनाको निम्ति युक्रा (UKROA) को यो परियोजनालाई सफल बनाउनै पर्ने तर्क पेश गर्नु भयो ।  आ–आफ्नो गच्छे र क्षमतानुसार दान-दक्षिणा दिई यस पुण्य कर्मलाई सफल तुल्याउन  सम्पूर्ण अमेरिकावासी किरात राई बन्धुहरुलाई उहाँले आव्हान गर्नु भएको थियो।

उक्त देउसी भैलो कार्यक्रममा म्यासेचुसेटको वोस्टन र केपकोड, कनेक्टीकेटको हार्डफोर्ड र न्यूह्याम्पसायरका विभिन्न शहरहरुबाट सहभागी हुन आउनु भएका किरात राई बन्धुहरु तथा अतिथीहरुलाई मिडिया कोअर्डिनेटर तथा न्यू ईङ्गल्याण्ड च्याप्टर उपाध्यक्ष शेखर राईले स्वागत गर्नु भएको थियो। प्रमुख अतिथि केन्द्रिय अध्यक्ष जय कुमार थुलुङ्ग राईले युक्रा (UKROA) का सम्पूर्ण च्याप्टरका किरात बन्धुहरु र नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा सु स्वास्थ र संबृद्धिको कामना सहित संस्थाको ”ड्रिम प्रोजेक्टको” रुपमा रहेको साकेला थान निर्माण अभियानमा जोडिन सम्पूर्ण सदस्यहरुमा अपिल गर्नुभएको थियो। अतिथीहरु एनएचसी (NHNC) अध्यक्ष लाक्पा शेर्पा, मिन गौतम, कानुनी सल्लाहकार सुरेश चाम्लिङ्ग र केपकोड नेपाली समाजका अध्यक्ष केबी राईले बलिहाङ्ग र तिहारको साँस्कृतिक महत्वको चर्चा गर्दै शुभकामना मन्तब्य दिएका थिए।

देउसी भैलो कार्यक्रमको औपचारिक सत्रलाई समापन गर्नुहुदै न्यू ईङ्गल्याण्ड च्याप्टरका अध्यक्ष कर्ण बहादुर राईले मिठा-मिठा परिकारहरु तयार पार्नुहुने आमा, भाउजुहरू र दिदीबहिनीहरु साथै स्वयंसेवक युवाहरू र कलाकार भाई-बहिनीहरुलाई च्याप्टरको तर्फबाट धन्यावाद ज्ञापन गर्नु हुदैं शुभ दिपावली तथा तिहारको शुभकामना दिनुभएको थियो। कार्यक्रमको संचालन न्यू ईङ्गल्याण्ड च्याप्टरका महासचिव राकेश राईले गर्नु भएको थियो। मौलिक देउसुरे भाकामा देउसीको नेतृत्व केन्द्रिय अध्यक्ष जय कुमार थुलुङ्ग राई र केपकोट निवासी युक्रा (UKROA) का सदस्य खगेन्द्र राईले गर्नुभको थियो भने च्याप्टर उपाध्यक्ष हरि राई र च्याप्टर कोषाध्यक्ष चन्द्र राईले चर्चित गीतहरु गाउँदै सम्पुर्ण सहभागीगरुलाई भरपुर मनोरन्जन दिई नचाएका थिए।

तपाईको प्रतिक्रिया